प्रहरी विचराले कसरी पाल्लान् पेट

प्रहरी विचराले कसरी पाल्लान् पेट

बर्दीधारीमाथि राज्यको व्यवहार कस्तो भइदियो भने, नेपाल प्रहरीका कर्मचारीलाई खुवाउनुपर्ने तलब सकियो, दिने बाटो खोजिँदैछ । नेतादेखि जनतासम्मको सुरक्षामा दिनरात खटिने यी २४ घण्टे कर्मचारी र ‘१०–५’ वाला कर्मचारीलाई एउटै नजरले हेर्दै सरकारी खर्चमा २० प्रतिशत कटौती गर्दा प्रहरीलाई परेको मार पीडादायी छ । अरु सरकारी अड्डाले रातभर गाडी नचलाए पनि हुन्छ ।उनीहरुले तोकिएका काम, जिम्मेवारी बहन गर्नलाई निश्चित समय छ । तर, ‘२४ घण्टे’ जिम्मेवारी दिइएको निकायमा पुसदेखि बजेट कटौती भएको छ ।

गत वर्ष दिइएको सिलिङअनुसार त्यही तलब बढ्यो । तर, पुसमा काटियो । काटिँदा पनि त्यसले चैतसम्म त धान्यो तर वैशाखदेखि असारसम्म कहाँबाट खुवाउने ? यसैकारण नक्साल मुख्यालय तनावमा छ । पहिला महंगीभत्ता र राशनमा १५ प्रतिशत बढ्यो तर रकम विनियोजन भएको थिएन । त्यसकारण चैतसम्म तलबलाई समस्या भएन । अब वैशाखदेखि असारसम्मका लागि अर्थले अलग्गै बजेट दिने त भनेको छ तर दिइसकेको छैन । प्रहरीको राशनमा वार्षिक पाँच अर्ब ६३ करोड खर्च हुन्छ । तर, अहिले विनियोजन भएको छ, ४ अर्ब ५० करोड । करिव एक अर्ब नपुग्ने भयो । कूल बजेट हो, ४७ अर्ब ९९ करोड । त्यसमध्ये करिव ४० अर्ब तलब, भत्ता र राशनमा जान्छ । पुसमा २० प्रतिशत खर्च कटौती हुँदा इन्धनको पैसा सकियो ।

मर्मतको पैसा बाँकी छ । इन्धन उधारोमा छ । प्रहरीका कार्यालय र आवाससम्मका बिजुली, पानीमा जरिवाना तिराइने भएको छ । तालिमतर्फ ४२ करोड बजेट थियो, त्यसमा चार करोड घटेर ३९ करोड आयो । यसले गर्दा नियमित खरिदकार्यमा असर गरेको छ । कतिपय अत्यावश्यक खरिदका निम्ति टेण्डर हुन बाँकी छन्, पैसा छैन । टेण्डर गरेर स्वीकृत हुनासाथ सम्बन्धित फर्मलाई दिन पैसा छैन । अर्थका हाकिमहरुले ‘मिलाएर खोलिदिउँला’ सम्म भनेका छन् ।

अहिले नयाँ आर्थिक वर्षका लागि बजेट बन्दैछ । यसरी बजेट ठूलो बनाउने र बीचमा गएर कटौती गर्दा सबै कार्यक्रम, आयोजना र गतिविधि ठप्प छन् । कि त शुरुमै सिलिङ माग गर्दा सिमितता तोक्नुपथ्र्यो । प्रहरीको मात्रै हैन, सेना र सशस्त्रमा पनि यही हालत छ । गत वर्ष तलब–भत्तामा १५ प्रतिशत, महंगी भत्ता दुई हजार, राशन १५ प्रतिशतले बढ्यो । तर, बढेको पैसा सम्बन्धित निकायको खातामा हालिएन । त्यसो गर्दा एक वर्षको तलब ९ महिनामै सकियो । 

अर्कातर्फ प्रहरीभित्र बढुवाको रोइलो छ । चैत २९ मा १३ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरिएपछि केही एसएसपी ३० वर्षको जागिर पूरा नगरी घर जाने भएका छन् । बढुवामा नपरेपछि चक्रबहादुर सिंहले ५५ वर्षे उमेरहदका कारण वैशाख १५ गते अवकास हुनुपर्ने भयो । उता पर्सि वैशाख ७ गते ५५ वर्ष उमेरका कारण घर जाने विकासराज खनाल सर्लक्कै डिआइजी हुने भए । उमेरकै कारण उमाशंकर पञ्जियार १ गतेदेखि घर गए । अब साउन ३ गते अनुरागकुमार द्विवेदी यसरी नै बिदा हुन्छन् ।

विकाससहित कतिपय एसएसपी डिआइजी भएका कारण घर जानबाट रोकिएका छन् । जस्तो कि, अहिले डिआइजी नभएका भए सुरेन्द्र मैनाली जेठ १० मा, अर्जुन चन्द पुस १ मा, केदार ढकाल मंसिर २२ मा, भरत बोहोरा पुस १४ मा, राजेश बाँस्तोला कात्तिक २७ मा घर जान्थे । अब १६ जना एसएसपी, १९ एसपी, र दुई दर्जनभन्दा बढी डिएसपी बढुवाको तयारी चलिरहेको प्रहरी मुख्यालय स्रोतले बताएको छ । त्यस्तै, निर्मला पन्त हत्याकाण्ड अनुसन्धान गर्न सिआइबीको डिएसपीस्तरीय कमाण्ड परिचालित भएको छ ।

 

टिप्पणीहरू