बेलायत आएका नेपाली विद्यार्थीको बिचल्ली
विद्यार्थी भिसामा अहिले बेलायत आउन जति सजिलो छ, आइसकेपछि भने समस्या अथाह छ । अध्ययनका लागि बेलायत आएका विद्यार्थी काम र कोठा नपाएपछि बिचल्ली हुने क्रम बढेको छ । अन्तर्राष्ट्रिय विद्यार्थी र वर्क परमिटमा कामदारका डिपेन्डेन्ट एकैपटक आउँदा जागिर र कोठा समस्या भएको हो । ऋण जोरजाम गरेर आइपुगेका विद्यार्थीलाई काम नभएपछि यहाँको महँगी र विश्वविद्यालय फी ले थप प्रताडित बनाएको छ ।
ब्रेक्जिटपछि बेलायत सरकारको उदार अध्यागमन नीतिका कारण अहिले नेपालीसहित अन्तर्राष्ट्रिय विद्यार्थीको ओइरो छ । अध्ययनका लागि कति नेपाली बेलायत आए त्यसको यकिन तथ्यांक छैन तर उल्लेख्य मात्रामा आएको विभिन्न निकायले जनाएका छन् । ‘बेलायतमा नेपाली घर भाडामा तथा रोजगारका अवसर फेसबुक पेज’ मा एक विद्यार्थीले पीडा पोख्दै सोधेका छन्, ‘युके आएको दुई महिना भइसक्यो । अहिलेसम्म काम नपाउने म मात्र हो कि अरु पनि हुनुहुन्छ ?’
अध्ययनका लागि दुई महिनाअघि आएका उनीे बर्मिङ्हम बस्छन् । उक्त पोष्टमा जवाफ दिँदै एक जनाले सान्त्वना दिएकी छन्, ‘मैले पनि चार महिना काम नपाई बसेको थिएँ । शुरु शुरुमा राम्रो काम खोज्ने होइन क्लिनिङ र भाँडा टल्काउनेतिर पाए पनि जानुपर्छ । कमसेकम खाना र कोठाभाडा दिने पैसा त हुन्छ । अनि विस्तारै अरु काम खोज्दा नि हुन्छ ।’ उक्त पोष्टमा कतिले अढाइ महिनादेखि काम नपाएको बताएका छन् भने कतिपयको कम्तीमा तीन महिना कुर्नु पर्ने जवाफ छ ।
सन् २०२०, ०२१ मा करिब १० हजार नेपाली विद्यार्थी बेलायत आएको अनुमान छ । बेलायतको फितलो भिजा प्रक्रियाका कारण सेप्टेम्बर इन्टेकमा झण्डै १५ हजारसम्म विद्यार्थी आउने दाबी कन्सल्टेन्सीको छ । ती विद्यार्थीले विश्वविद्यालयलाई वार्षिक झण्डै १५ देखि २० लाख रूपैयाँ फि तिर्छन् । लण्डनस्थित नेपाली दूतावासकी उपप्रमुख रोशन खनाल सरकारसँग तथ्यांक राख्ने मेकानिज्म नभएकाले विद्यार्थी आगमन संख्या ठ्याक्कै भन्न नसकिने बताउँछिन् । विद्यार्थीले पनि आफ्ना समस्याबारे दूतावासमा सम्पर्क नगरेको उनले बताइन् ।
सन् २०२१, २२ मा ६ लाख ७९ हजार ९७० जना अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनका लागि बेलायत आएको तथ्यांक छ । तीमध्ये ५ लाख ५९ हजार ८२५ जना ईयू बाहिरका र एक लाख २० हजार १४० विद्यार्थी ईयू देशका थिए । सन् २०२२ मा ४ लाख ८५ हजार ७ सय ५८ मुख्य आवेदकको भिसा स्वीकृत भएको होम अफिसको तथ्यांकमा छ । यो कोभिड अगाडि भन्दा झण्डै ८१ प्रतिशत माथि हो ।
गृह मन्त्रालयको तथ्यांकले तीन वर्षमा विदेशी विद्यार्थीका डिपेन्डेन्ट आउने क्रम झण्डै पाँच गुणाले बढेको देखाएको छ । सन् २०१९ मा १३ हजार ६ सय ६४ डिपेन्डेन्ट यूके आएकामा सन् २०२२ को जुनसम्म यो संख्या बढेर ८१ हजार ८९ पुगेको छ । अण्डर ग्रयाजुएट विद्यार्थीले डिपेन्डेन्ट ल्याउन पाउँंदैनन् तर मास्टर्स र डक्टरेट गर्नेलाई ल्याउन पाउने सुविधा छ । अन्तर्राष्ट्रिय विद्यार्थीले बेलायती अर्थतन्त्रमा ठूलो योगदान गरेका छन् । दि हाइअर एजुकेशन स्टाटिसटिक्स एजेन्सीका अनुसार सन् २०२० ०२१ मा अन्तर्राष्ट्रिय विद्यार्थीले ९ दशमलव ९५ बिलियन पाउण्ड ट्युसन फि मात्र तिरेका छन् ।
नेपालबाट आएका विद्यार्थी नेपाली समुदायमै निर्भर हुँदा पनि कोठा समस्या बढी देखिएको छ । लेटिङ एजेन्ट्समार्फत जाँदा विद्यार्थीले हाइ डिपोजिट, पे स्लिप, रिफरेन्स आदि व्यवस्था गर्नुपर्ने भएकाले विद्यार्थी नेपाली वा एसियन समुदायभित्रै सीमित हुन खोज्छन् जसले समस्या भएको हो । युनिभर्सिटीको अकोमोडेसन महँगो भएकाले विद्यार्थी त्यता जान खोज्दैनन् । सस्तो खोज्दा पनि समस्या भएको छ । त्यसो त यतिखेर कोठा भाडा बढेर अचाक्ली छ । सामान्यतया ५ देखि ६ सय पाउण्डसम्म पाइने डबल रुमको भाडा अहिले कम्तीमा ८ सय पाउण्ड प्लस र तीन सयमा पाइने बक्स रुमको भाडा ५ सय हाराहारी पुगेको छ । बैंक ब्याजदर वृद्धिसँगै मोर्गेज एवं ऊर्जा शुल्कवृद्धिका कारण पनि घरबेटीले भाडा बढाएका छन् ।
कतिपय विद्यार्थीले नेपाली घर मालिकले जाडोमा समेत हिटर नबालिदिने, अरु मानिस कोही घरमा ल्याउन नदिने र फ्रिजमा सामान राख्नसमेत ठाउँ नदिने गरेको गुनासो पनि गरेका छन् । आप्रवासी संख्या ह्वात्तै बढेपछि बेलायत सरकारले कठोर कानुन बनाउने तयारी गरेको जनाइएको छ । विशेष गरी, न्यून गुणस्तरका डिग्री अध्ययन गर्न आउने विद्यार्थी र तिनका डिपेन्डेन्ट रोक्ने सरकारको प्रस्ताव छ । बेलायती प्रधानमन्त्री ऋषि सुनकले युरोपबाट गैरकानुनी रूपमा आफ्नो सिमाना पार गरेर आएका आप्रवासीलाई शरणार्थी भिसा नदिने समेत बताइसकेका छन् । गृह मन्त्रालय (होम अफिस) लाई सुझाव सल्लाह दिने समिति माइग्रेसन एड्भाइजरी कमिटीले भने अन्तर्राष्ट्रिय विद्यार्थीले बेलायती अर्थतन्त्रमा ठूलो योगदान दिइरहेकाले उनीहरूलाई नियन्त्रण गर्न नहुने सुझाव दिएको छ ।
टिप्पणीहरू