सकम्बरीमाथि किन यस्तो सास्ती ?

सकम्बरीमाथि किन यस्तो सास्ती ?

– जीवन श्रेष्ठ

हो नि नेपाली महिला श्रम गरेर खान जान्दैनन् । एक चोक्टा मासु बेचेर बाँच्छन् । स्वाभिमान र आत्मसम्मानको हुर्मत लिएर शरीर बन्धकी राखी एकै रातमा ६ हजार कमाउँछन् । चाहे त्यो पूर्व लडाकू किन नहोस्, चाहे त्यो मोडलिङको महान् सपना बोकेर राजधानी छिरेकी कुनै अनाम गाउँकी अनाम यौवना नै किन नहोस् ? 

आमाहरू आफ्ना बालबच्चालाई पढाउन, हुर्काउन यौवनको थाङ्नामा पल्टिन्छन् । छोरा बेरोजगार भएपछि एक चिम्टी सिन्दूर लगाउन पनि बुहारीहरू यौवनको बर्दलीमा बसेर ग्राहकसँग आँखा जुधाउँछन् । डाक्टर बनिटोपलेका महिलालाई जीवन धान्न तनखाले अपर्याप्त भएपछि सम्मानित विकल्पलाई बंक हानेर यौन धन्दाको क्लिनिक चलाउँछन् । विद्यालय, महाविद्यालय, विश्वविद्यालयमा अध्ययनरत चेलीहरू बाउआमाले खर्च धान्न नसकेपछि यौनको विद्यालयमा शरीर बेचबिखनको पाठ पढाउन विवश हुन्छन् । देख्नेले यस्तै–यस्तै मात्र देखेपछि, लेख्नेले यी र यस्तै मात्र लेखेपछि कसको के लाग्छ ? भनिन्छ नि जस्तो आफू, उस्तै च्यापु । भनिन्छ नि जसको दिमाग जति छ, उसले गर्ने त्यति नै हो । चाहे त्यो नेता होस्, चाहे अभिनेता । चाहे त्यो गायक वा साहित्यकार, जोसुकै होस् । 

यसै हुलका गायक हुन् प्रकाश सपुत पनि ! साँच्ची उनले देख्दैनन् संघर्षका ठेला उठाएर बगरमा गिट्टी कुट्ने नेपाली महिला । देख्दैनन् बाँझो बञ्जरमा पसिना चुहाएर घरमा खुशी उमार्ने नेपाली महिला । अहँ, उनले देख्न नै सक्दैनन् अगाडि बच्चा च्यापेर पछाडि भारी बोकी श्रमको शीतल छहारीमा सुस्ताउँदै गरेकी नेपाली महिला । देख्छन् त नेपाली महिलाका मासुका हिमाल र खोंच मात्र । अरे यार, सकम्बरीमाथि यत्रो किन विवाद ? त्यो त उनले जति सोच्न सक्थे त्यति नै मात्र आएको हो नि ! त्योभन्दा पर आत्मस्वाभिमानमा बाँचेका महिला पनि छन् भन्ने कुरा उनको दिमागले कहाँ सोच्न सक्छ र ? कहाँ साँच्न सक्छ र संघर्षको मैदानमा किञ्चित विचलित नभई जीवनका सुन्दर बिगुल फुक्ने महिला पनि छन् भनेर । फेरि उनले जे सोचे त्यो पनि त मिथ्या होइन नि ! सकम्बरीजस्ता पात्र पनि छन् नेपाली समाजमा । छन् त फेरि जानाजानी सकम्बारीलाई किन विवादको बियाँलो बनाउनु ?

एकैछिन सकम्बरी गीतलाई भिजुअलबाट अलग गरेर सुनौं । त्यसो गर्दा नढाँटी भनौं त्यो गीत आमगीतभन्दा केही हुनेवाला छैन । यो त सपुतको सीप हो नि भिजुअललाई कथात्मक बनाउन सक्नु । यद्यपि सकम्बरीमा त शव्द र भिडियोको कथाको सिक्वेन्स पनि छ परन्तु ‘पिर पर्‍यो’ गीतबाट भिजुअललाई झिकेर अडियो मात्र श्रवण गर्ने हो भने तातो न भुत्लोको गीत बन्थ्यो क्यारे ! खैर फेरि पनि एउटा सर्जकको संरचना सकारात्मक हुन सक्छ, नकारात्मक पनि हुन सक्छ । यो उनको सोचाइमा भर पर्ने कुरा हो । तर धेरैको अपेक्षा कवि, कलाकार, गायकलगायतबाट सकारात्मक कुरा नै आओस् भन्ने हुँदो रहेछ । जब त्यो चाहनाविपरीत ध्रुवमा गएर ठोकिन्छ अनि विवादास्पद त बन्ने नै भयो ! सायद सपुत विवादास्पद बन्न रुचाउने गायक बन्न चाहन्छन् कि ?

यो गीतमा पारिजातको प्रख्यात उपन्यास शिरीषको फूलका दुई पात्रलाई ल्याएर किन जोडियो त्यो चैं मैले भेउ पाउन सकिन । भलै सुयोगवीरको आशक्ति सकम्बरीप्रति थियो । एउटा अतृप्त यौन कुण्ठा बोकेर हिँडेका सुयोगवीरलाई जोड्न खोज्नु केही हदसम्म सान्दर्भिक हुन सक्ला । तर, उपन्यासकी सकम्बरीलाई किन त्यो चरित्रमा उभ्याउनु खोज्नु ? उनले नजानेर वा संयोगवश यी दुई पात्रलाई उभ्याएका हैनन् । तर, उपन्यासकी सकम्बरीको चरित्र कस्तो थियो भन्नेबारे भने सपुत सर्लक्कै सुतेको देखिन्छ । हुन त विवाद रुचाउने मान्छेलाई अर्को कोणबाट पनि विवाद आओस् भन्ने चाहना हुनु अस्वाभाविक नहुन सक्छ । भाइरलको जो जमाना छ । 

खैर फेरि पनि एउटा सिर्जनामाथि यत्तिको विवादचाहिँ अस्वाभाविक नै हो भन्छु । र, मैले माथि उल्लेख गरेजस्तै आमाहरू आफ्ना बालबच्चालाई पढाउन, हुर्काउन यौवनको थाङ्नामा पल्टेकी, छोरा बेरोजगार भएपछि एक चिम्टी सिन्दुर लगाउन पनि बुहारीहरू यौवनको बार्दलीमा बसेर ग्राहकसँग आँखा जुधाउनेजस्ता हर्कत कथात्मक गीत भएर सपुतबाट आयो भने पनि अचम्म नमान्दा हुन्छ, उनको गीति क्रमबद्धतालाई नियाल्ने हो भने आउन पनि सक्छ ।
 

टिप्पणीहरू