हाकिम फिर्ता, ट्रक ह्वार्रै
माल एउटा, देखाइन्छ अर्कै र बटुलिन्छ कुस्त कोशेली । देशको भन्सार राजस्वमा आइरहेको गिरावटको यो कारणलाई निमिट्यान्न पार्ने उपाय सशस्त्र प्रहरीले निकाल्यो । तर, सरकारले सहयोग नगर्दा देशको ढुकुटीमा जाने राजश्व अन्यत्रै गइरहेको छ ।
गाडीभित्र के–के सामान छन् हेर्नका निम्ति सीमा तथा भन्सार सुरक्षाको जिम्मेवारी पाएको सशस्त्रले भेहिकल स्क्यानर मागेको छ । तर, सरकारले दिँदैन । यस्तो मेशिन जडान गरियो भने भन्सार एजेण्ट र हाकिमहरूले बदमासी गर्दै एउटा विवरण पेश गरेर थुप्रै सामान भित्र्याउन पाउँदैनन् । सशस्त्रलाई सीमा सुरक्षाको जिम्मा छ त भनियो, तर ऊसँग के सामान आयो, को मान्छे आयो भनेर जाँच गर्ने प्रविधि नै छैन । अध्यागमनको डाटामा पहुँच त टाढाको कुरा उसलाई कुन कानुनअनुसार भन्सारको जिम्मा दिइयो ? त्यहाँ सशस्त्र परिचालन हुन थालेको १८ वर्ष बितिसक्दा पनि जवाफ राज्यसँग छैन ।
अहिलेसम्म न भन्सार ऐन, न त नियमावली, कसैले सशस्त्रलाई चिन्दैन । त्यसमाथि सीमाबाट मान्छे समाइदिनुपर्यो भनिन्छ । तर, कानुनमा यसको व्यवस्था छैन । सशस्त्र स्थापना भएको २३ वर्ष भयो, जसलाई दौडिन पठाइन्छ, तर खुट्टा बाँधेर । उसले सीमामा बसेर लागु औषध नियन्त्रण गर्नुपरेको छ । धादिङमा चरेश बरामद गर्न तस्करसँग सम्पर्क गर्दा नेपाल प्रहरीले फसाइदिएको छ । प्रश्न उठेको छ– अपराध ठूलो कि प्रक्रिया ?
अनि, सीमा सुरक्षा गर भनिन्छ, तर अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मेवारी दिइँदैन । सशस्त्रले अरु सीमा जिम्मा लिनुपर्ने, तर मालदार अड्डामा बस्न नहुने ! सीमा सुरक्षामा खटिने फौज अन्तर्राष्ट्रिय सुरक्षा सञ्जाल इन्टरपोलमा सहभागी हुन नपाउने नीति पनि नेपालमै छ । उता, सीमा सुरक्षा हेर्ने एआइजी वंशीराज दाहाल चार दिनसम्म नाका–नाका घुम्दै हिँडे, फर्किएको पाँचौं दिन उनका कर्मचारीको बदमासी छताछुल्ल । उनले रुपन्देही, कपिलवस्तुसहित पश्चिम नवलपरासीका नाकाहरूको गतहप्ता अनुगमन गरे ।
हाकिम फर्किएलगत्तै सशस्त्रको टोलीले पश्चिम नवलपरासीबाट छोडेको ट्रक नेपाल प्रहरीले वैशाख १० गते पूर्वी नवलपरासीमा समातिदियो । एसपी रुपकुमार क्षेत्री पश्चिम नवलपरासीमा हुँदा यस्तै काण्डमा तानिएका थिए । अहिले त्यहाँ धीरेन्द्रराज न्यौपाने छन् । यसमा शंकाभित्र परेका छन्, रुपन्देहीका एसपी दीपक थापा पनि ।
टिप्पणीहरू