कारण दिएको भए हुने नि महासचिवज्यु

कारण दिएको भए हुने नि महासचिवज्यु

हिङ त छैन नै, त्यसको टालोले दिने सुगन्धको म्याद पनि सकिइसकेको छ । तर, अझै पनि ‘हिङ बाँधेको टालो’ फिँजाउन छाडिएन ।

नेकपा स्थापना दिवसको अवसर पारेर एमाले मुख्यालय च्यासलमा महासचिव शंकर पोखरेलको भाषण चल्दा कार्यकर्ता ताली बजाउन भन्दा हाँसोमा मग्न भए । ‘हामीले आफ्नो गाउँ आफैँ बनाऔँ जस्तो कार्यक्रम ल्याएका हौँ, वृद्धभत्ता शुरु ग¥यौं...!’ पछिल्तिर बसेका कार्यकर्ता चर्चा गर्दै थिए, ‘त्यो कार्यक्रम ल्याउने नेता बितेकै ३० वर्ष भयो, भर्खरका ठिटाठिटीले घण्टी बजाएको भरमा भोट आउने जमानामा ३० वर्ष पुरानो भत्ताको रटान किन लाइरा’होला !’ शंकरचाहिँ बोल्दै गए । भने, ‘हामीले गरेको संसद विघटन ठीक थियो, त्यसलाई अस्वीकार गर्ने अदालत नै गलत हो ! के अदालतले यस्तो गर्न पाउँछ ?’ फेरि कार्यकर्ता धक फुकाएर हाँसे । भन्दै थिए, ‘त्यही कारण पार्टी फुट्यो, राष्ट्रिय राजनीतिबाट एमाले एक्लियो, भएका नेता पनि खुशीले बसेका छैनन्, महासचिवचाहिँ त्यही कुरा ठीक हो भन्दै बालाई खुशी पार्दैछन् ।’ कार्यकर्ताको टिप्पणी थियो, ‘देश र पार्टीको संगठन ओली, प्रचण्ड, देउवाका कुराले बन्ने जमाना गए । आजका युवा के चाहन्छन् ? किन चुनावमा सदस्य र परिवारले नै मत दिएनन् ? शंकर स्वयंले किन हारेको ? दाङमा सबैलाई मिलाउन सकेको भए शान्ता चौधरीले पनि जित्ने स्थिति थियो । स्थानीय चुनाव जितेको ठाउँमा आफैँले हारेर फर्किंदा र आफ्नो पार्टीबाट अर्को पार्टीको अध्यक्षलाई सांसद बनाउँदासम्म यिनको चेत किन खुल्दैन ?’

त्यसमाथि पार्टीभित्र गुटबन्दी कतिसम्म भने, त्यस्ता कार्यक्रम उपमहासचिव तथा प्रचार विभाग प्रमुखको हैसियतमा पृथ्वीसुब्बा गुरुङले चलाउनुपर्ने हो । तर, उनी परे लागेको कुरा फ्याट्टै बोलिदिने । ओलीलाई बिझाउने कुरा बोलिदेलान् भनेर कार्यक्रमको सञ्चालन प्रदीप ज्ञवालीलाई गर्न लगाइयो । राष्ट्रिय राजनीतिमा विकसित घटनाक्रम, निर्वाचनमा कार्यकर्ता परिचालनजस्ता अनेकन विषयमा पार्टीले निर्णय गर्नुपर्ने हो । तर, सचिवालयको बैठक बसेको छैन । महाधिवेशनमा उपाध्यक्ष दावी गरेपछि निकाल्न ठिक्क पारिएका भीम रावललाई अहिले पार्टीमै राख्नका लागि उपाध्यक्ष नै लगाएर वार्ता गरिँदै छ । ‘निकाल्ने’ भनेको मान्छेलाई फर्काउनका लागि विधान सच्याउने र उपाध्यक्षसम्म थप्ने सल्लाह छ । झापाकालीन संघर्षका अगुवा नेता, जेलब्रेकको इतिहास बोकेका नरेश खरेलहरूले पार्टी छोडेपछि झापामा एक किसिमको शून्यता छाएको छ । ‘मिशन ग्रासरुट’ मा कर्णाली र सुदूरपश्चिमका सबैजसो ठाउँका कार्यकर्ताले भीम रावललाई खोजे, तर भेटेनन् । अछाममा त उपाध्यक्ष विष्णु पौडेललाई नै अपमान गरियो । सुर्खेत, अछाम, दार्चुला, कञ्चनपुरमा सार्वजनिक रुपमै उनीबारे कुरा उठ्यो । यसपछि विष्णु पौडेलहरूको ठहर रह्यो, भीमलाई ठाउँमा राखेको भए सुदूरपश्चिममा पार्टीले पाँच सीट चुनाव जित्थ्यो । घनश्याम भुसाललाई पनि टिकट दिएको भए पहिलो पार्टी हुन्थ्यो । तर, पार्टी नै कस्तो बनेको छ भने, त्यहाँ आलोचना गर्न पाइँदैन । 

उक्त कार्यक्रममा सञ्चारकर्मी भूषण दाहालले बनाएको एउटा वृत्तचित्र प्रस्तुत गरियो – विगतका आन्दोलन, पुराना उपलब्धिका विषय समेटेर तयार पारिएको ।

 

टिप्पणीहरू