डलर अर्बपतिको निर्देशनमा कर्मचारीका सुविधा खोसियो, श्रम दिवसमा नबिल कर्मचारी संघ रिसले आगो
नबिल बैंकले अन्तर्राष्ट्रिय श्रम दिवसको अवसर पारेर दशकौंदेखि कर्मचारीले उपभोग गर्दै आएको सामान्य सुविधा पनि खोसेको छ । त्यहाँको कर्मचारी संघले सम्पूर्ण कर्मचारीलाई आन्तरिक सूचना तथा सन्देश प्रयोजनका निमित्त तीन दशकभन्दा बढी समयदेखि प्राप्त ग्रुप इमेल सुविधा व्यवस्थापनले कटौती गरेकोमा रोष प्रकट गरेको छ ।
‘सबैलाई सुसूचित गर्ने इमेल सुविधा नबिल व्यवस्थापनले बन्द गरिदिएको छ,’ संघले लेखेको छ, ‘अबदेखि नबिलका कर्मचारीले मात्रै थाहा पाउनुपर्ने आन्तरिक सूचना विश्वले थाहा पाउने गरी फेसबुकबाट सम्प्रेषण गर्न हामी बाध्य भएका छौं ।’ अन्तर्राष्ट्रिय श्रम दिवसको दिन कर्मचारी तथा मजदूरलाई थप सुविधा प्रदान गर्नुपर्नेमा डलर अर्बपति विनोद चौधरी र उनका परिवारको लगानी रहेको बैंकले आजदेखि सामूहिक इमेल सुविधा खारेज गरेको हो ।
आजभन्दा ३३ वर्षअघि शम्भुमोहन भण्डारीको अध्यक्षतामा गठित संघको तदर्थ समिति र पछि नबिल कर्मचारी संघले लामो संघर्षपछि उक्त सुविधा उपलब्ध गराएको थियो । संस्था र कर्मचारीलाई प्रविधिमैत्री बनाउने क्रममा नबिल बैंकलाई आर्थिक व्ययभार नपर्ने उक्त सुविधा कटौती गर्नुलाई कर्मचारीले अचम्म मानेका छन् । कर्मचारीको तलब, भत्ता, सुविधा र प्रशासन हेर्ने जिम्मा चौधरीका जेठा छोरा तथा सञ्चालक निर्वाण चौधरीले लिएका छन् । भलै दैनिक कार्य सञ्चालन गर्न एचआर डिपार्टमेण्ट र कर्मचारीको व्यवस्था गरिएको छ ।
चौधरीका बाबुछोराको निर्देशनमा बैंकका अध्यक्ष, सञ्चालक, सिईओ, डिसिओलगायतले गरेको पछिल्लो निर्णयपछि आफ्ना सामु अनेकौं चुनौती सल्बलाइरहेको संघको निश्कर्ष छ । उसले भनेको छ, ‘हाम्रा अधिकारहरु खोसिने डर अनि हाम्रो भविष्य झन् अन्धकारतिर धकेल्ने प्रयत्नहरु भैरहेका छन् । हाम्रा हरेक पाइलामा विकृति र बिसङ्तिले बाँध्ने प्रयत्नहरु दिन प्रतिदिन बढी रहेका छन् ।’
संघले चौधरीको निर्देशनमा भएका पछिल्ला निर्णयविरुद्ध एकजुट हुन कर्मचारीहरुलाई आह्वान गरेको छ । एक्लै वा झुण्डमा रमाउन थालिए आपूmहरुलाई व्यवस्थापनले सजिलै ढाल्ने प्रयास गर्ने संघले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘यदि हामी एकजुट भएर अगाडि बढ्यौं भने आज देखापरेका र भोलि देखापर्ने कालो बादललाई पन्छाउन सक्नेछौं,’ संघले श्रम दिवसका दिन प्रतिबद्धता जनाएको छ ।
संघले श्रम अधिकारको प्रयोग गरेर प्रचलनमा ल्याएका विविध सुविधा भोगिरहेका तर आफूलाई मालिकवर्गको आवरणले छोपेका केही उच्चपदस्थ कथित सुकिला मुकिलाहरुबाट हुनसक्ने फुटाउ र राज गरको नीतिबाट सचेत हुन पनि सजग गराएको छ । नबिल बैंकले अन्य बैंक तथा वित्तीय संस्थाले भन्दा धेरै मुनाफा गर्दै आए पनि संस्थाभित्र कर्मचारीहरुको असन्तोष क्रमशः बढेको छ । केही महिनाअघि नयाँ नियुक्ति लिने क्रममा कर्मचारीहरुले न्यून तलब भत्ता उल्लेख गरिएको नियुक्तिपत्र थमाएपछि व्यवस्थापनकै सामुन्ने च्यातेर फालिदिएका थिए ।
बैंकमा चौधरी र उनका परिवारका नाममा नेपालीहरुको तर्फबाट सबैभन्दा धेरै सेयर लगानी छ ।
टिप्पणीहरू