फोहोर भो ? देउताको मूर्ति राखिदिनोस्

फोहोर भो ? देउताको मूर्ति राखिदिनोस्

‘आज पनि कसले फोहोरको डंगुर लगाएछ त सानु । छिमेकीसँग पनि नसकिने भो । कसले कतिखेर ल्याएर थुपार्छ ? उता सरकारचाहिँ ‘स्वच्छ भारत मिशन’ अन्तर्गत फोहोर मुक्त भारत भनेर चिच्याइरहन्छ । यता हाम्रो टोलमा भने ह्वास्स दुर्गन्ध गन्हाइरहन्छ । उफ नसकिने भो,’ मैले भनेँ । ‘म पनि वाक्कदिक्क भएँ । हाम्रा गाउँकालाई कति भने पनि लागेन । सरकारले स्वच्छताको नारा मात्रै दिने हो नि ! समाधान त हामी नागरिकले पो खोज्नुपर्ने हो । नागरिकको सहयोगबिना कसरी ‘सबका साथ, सबका विकास’ सम्भव हुन्छ ? हजुर हेर्दै जानु, म केही गरेर एउटा जिम्मेवार नागरिकको परिचय दिन्छु,’ मेरी उनीले भनिन् । हप्ता दिनपछि बिहान सबेरै सधैँ पश्चिमपट्टिको झ्यालबाट आइरहने दुर्गन्धको ठाउँमा एकाएक सुगन्धित वासना आयो । झ्याल खोलेर चिहाएँ । म त हेरेको हे¥यै भएँ ।

त्यो ठाउँमा चमचम चम्किने संगमरमरको शिवको मूर्ति स्थापित भइसकेको थियो । गाउँलेहरू मूर्ति स्थापना भएको वरिपरि सरसफाइ गरिरहेका थिए । कोही शंख र घण्टी बजाएर आरती गरिरहेका थिए । पूजाअर्चनाका मंगलधुन बजिरहेका थिए ।

‘देख्नुभयो, मेरो आइडियाको इण्डिया । लु तातो चिया पिउँदै मंगलधुन सुन्नुस्’, टेबलमा चिया राखिदिँदै मेरी उनीले भनिन् ।

– मुक्ति गौतम, कालापाहाड (मणिपुर)
 

टिप्पणीहरू