यातायातका उपसचिवविरुद्ध सवा करोडको भ्रष्टाचार मुद्दा
यातायात व्यवस्था कार्यालय, सुकेधाराका उपसचिव सुन्दर भट्टराईमाथि गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईमाथि गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको बताइएको छ ।
यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा काठमाडौंका तत्कालीन उपसचिव भट्टराई २०३८ साल साउन १ गते निजामती सेवामा प्रवेश गरेका थिए ।
उनीमाथि उजुरी परेपछि अख्तियारले २०७५ मंसिर मसान्तसम्मको सम्पत्ति जाँचबुझ गर्ने क्रममा एक करोड १५ लाख २९ हजार १९३ रुपैयाँ सम्पत्ति स्रोत नखुलेको भेटिएको अख्तियारले जनाएको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार भट्टराईले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति उनकी पत्नी मुना अधिकारी, छोरा उत्सुक भट्टराई र छोरी प्रेरिका भट्टराईको नाममा राखिएको पाइएको छ ।
त्यस्तै, आमा इन्दिरा भट्टराईको नाममा पनि सम्पत्ति राखिएको देखिएकाले अख्तियारले उक्त रकम जफत गर्न मागदाबी गरेको हो ।
टिप्पणीहरू