दिने कुराले सम्बन्धमा दरार
माओवादीका अयोग्य लडाकुलाई जनही दुई लाख रूपैयाँ नगद दिने त एउटा बहाना हो, यसैले राष्ट्रिय राजनीतिलाई– विशेषतः माओवादी–कांग्रेस सम्बन्धमा दरार ल्याउने संकेत देखिएको छ ।
अयोग्य लडाकुलाई रकम दिने त्यही काम, जुन डा.बाबुराम भट्टराईले आफू प्रधानमन्त्री हुँदा गर्न खोज्नुभयो, सक्नु भएन । अहिले एमाले नेता विष्णु पौडेल अर्थमन्त्री हुँदा भएको निर्णय प्रचण्डले कार्यान्वयन गर्न खोज्नुभयो । फेरि पनि झमेला आइलागेको हो । उक्त निर्णय कार्यान्वयन गर्दा मुलुकको संकटग्रस्त अर्थतन्त्रले धान्न नसक्ने भएपछि प्रचण्ड पनि पछाडि हट्नुपर्ने भएको छ । त्यसमाथि कांग्रेस बाउँठिदा झन् आपत पर्ने देखिन्छ ।
डा.बाबुरामले यही निर्णय मन्त्रिपरिषद्बाट पारित गर्दा भन्नुभएको थियो, ‘एकमुष्ट हैन, किस्ता–किस्तामा दिऔं, जसकारण राज्यकोषलाई त्यति ठूलो भार पर्दैन ।’ पुस १० पछि गठित एमालेसहितको प्रचण्ड सरकारका अर्थमन्त्री विष्णु पौडेलले उक्त रकम दिने निर्णय गरेपछि सर्वोच्च अदालतमा मुद्दा गयो । त्यसउपर अन्तरिम आदेश जारी भयो । काम रोकियो । अहिले मुद्दा खारेज भयो । र, सरकारले कार्यविधि बनायो ।
एकातिर एमाले अध्यक्ष केपी ओली सशस्त्र द्वन्द्वकालीन अवस्थामा माओवादीलाई साथ दिएका लडाकु, घाइते र अपांगका कुरालाई लिएर प्रचण्डमाथि घोचपेच गर्नुहुन्छ, उहाँकै अर्थमन्त्रीले तिनलाई राहत दिनका लागि रकम वितरण गर्ने निर्णय गर्छन् र फेरि पनि सबैभन्दा चर्को स्वरमा ओलीबाटै विरोध हुन्छ । यहाँ ‘इन्ट्रेस्ट अफ कन्फिक्ट’ कहाँ देखिन्छ भने, अहिलेका अर्थमन्त्री डा. प्रकाशशरण महतले नियमावली संशोधनमा अर्थ मन्त्रालयको कुनै सरोकार छैन भनेर यो मामिलामा आफूमार्फत कांग्रेसलाई अलग राख्न खोजेका छन् । तर, शेरबहादुर देउवा व्यक्तिगत रूपमा त्यसमा संलग्न हुनुहुन्छ । त्यसैले दिनुपर्ने दबाब छ । यो इस्युले कांग्रेस र माओवादीबीच खाडल बनाउने देखिन्छ । प्रचण्डले दुईचोटि प्रधानमन्त्री हुँदा नगरेको जनयुद्ध दिवसको बिदा र शहीदको नाम राजपत्रमा प्रकाशन गर्ने काम गर्नुभएको छ । शायद यो अन्तिम कार्यकाल हो भनेर उहाँले त्यसो गरेको हुनुपर्छ ।
अयोग्य लडाकुलाई रकम वितरण गर्ने कुरामा डा.बाबुरामको पालाको तुलनामा अहिले संख्या धेरै थपिएको छ । अर्थतन्त्रको हालत पहिलाको भन्दा कमजोर छ । धेरै प्रकारका सरकारी कर्मचारीले मासिक रूपमा तलब पाएका छैनन् । तराईमा शिक्षकहरूले नै तीन महिना ढिलो तलब पाइरहेका छन् । प्रचण्डको सोच छ, अहिले यो इस्युलाई धेरै अतिरञ्जित हुन नदिने । एकचोटि भारत गएर आउने अनि अरु काम गर्ने उहाँको मनस्थिति छ । कांग्रेससँगको सम्बन्ध धरमराएको कुरालाई दृष्टिगत गर्दै शेरबहादुरलाई भारतबाट दबाब दिलाउने मनसाय छ । भारत पनि प्रचण्डको भ्रमणबारे तयार छ । अहिले कर्नाटकमा भारतीय प्रधानमन्त्रीको चुनावी अभियान चल्दै छ । दुई–तीन दिनमा चुनावी यात्रा सकिन्छ । त्यसैले यताबाट प्रचण्ड जानुभन्दा दुई–चार दिनअघि मिति निश्चित हुने देखिन्छ ।
टिप्पणीहरू