विदेश पठाउने नाममा दिनहुँ ठगी, थाइल्याण्ड र पोर्चुगलको रोजगारी प्रचार गर्ने दुई जना समातिए
वैदेशिक रोजगारीमा थाइल्याण्ड र पोर्चुगल पठाइदिने नाममा ठगी गर्दै आएका दुई युवक प्रहरी फन्दामा परेका छन् । आकर्षक तलबको प्रलोभनमा सर्वसाधारणलाई ठग्दै आएका नन्दलाल महतो र सुरज राई समातिएका हुन् ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ ।
चितवन घर भई हाल काठमाडौंको टोखा बस्दै आएका ३१ वर्षीय नन्दलालले वैदेशिक रोजगारीमा थाइल्याण्डको प्रतिष्ठित कम्पनीमा काम लगाइदिने प्रलोभनमा सर्वसाधारणलाई फसाएका थिए ।
थाइल्याण्डको निम्ति प्रतिव्यक्ति साढे ३ लाख लाग्ने र मासिक एक लाखभन्दा बढीको तलब हुने प्रलोभन देखाउँदै पीडितबाट पटक पटक गरेर साढे तीन लाख रुपैयाँ उठाएपछि उनी सम्पर्कविहीन भएका थिए ।
यता खोटाङ घर भई हाल काठमाडौंको कोटेश्वर बस्दै आएका २२ वर्षीय सुरजले पनि वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिने प्रलोभनमा ठगेको खुल्न आएको छ ।
पोर्चुगलको निम्ति प्रतिव्यक्ति नौ लाख रुपैयाँ लाग्ने र मासिक एक लाखभन्दा बढीको तलब हुने भन्दै पीडितबाट तीन लाख ४२ हजार उठाएपछि उनी पनि फरार भएका हुन् ।
पीडितहरुले वैदेशिक रोजगार विभाग गुहारेपछि प्रहरीले खोजतलास अघि बढाएको हो । सोही क्रममा हिजो पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको निम्ति विभाग पठाइएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू