एउटा मान्छे जब दुईपल्ट जन्मिन्छ
यो धर्तीमा एउटा मान्छे जम्मा एकपटक जन्मिन्छ । तर, नेपाल बिमा प्राधिकरणका अध्यक्ष तथा पूर्वगृहसचिव सूर्यप्रसाद सिलवाल दुईपटक जन्मिएका रहेछन् । जुन कुरा उनी आफैँद्वारा पेश गरिएको कागजातले बताउँछ ।
उनको नागरिकता र पासपोर्टमा उल्लिखित जन्ममितिमा दुई वर्षको अन्तर भेटिएपछि यस्तो कुरा उठेको हो । बिमा प्राधिकरणजस्तो नियामक निकायमा बस्ने उच्चपदस्थ व्यक्तिकै उमेरमा गोलमाल देखिएपछि कानुनी र नैतिक दुबै हिसाबले समस्या देखिएको छ । नागरिकता र पासपोर्टमा सिलवालको दुई वर्षको फरक जन्ममिति प्रष्ट देख्न सकिन्छ । बिमा प्राधिकरणका अध्यक्ष सिलवाल पूर्व गृहसचिवसमेत हुन् । सिलवालले गृह मन्त्रालयमा सचिव भएको बेला शैक्षिक योग्यताको प्रमाणपत्रसँग मेल नखाएपछि आफ्नो नागरिकता संशोधन गरे कि भन्ने आशंका उब्जेको छ । पर्सा जिल्लाको अलौमा जन्मिएका सिलवालको चल्तीमा रहेको नागरिकता नं २६०–९९७३ रहेको देखिन्छ । यो रेकर्डअनुसार सिलवालको जन्ममिति ०१६ साल कात्तिक २२ गते देखिन्छ । यही नागरिकताकै आधारमा निर्वाचन आयोगमा पेश गरेको कागजातअनुरूप मतदाता नामावली दर्ता हेर्दा पनि जन्ममिति २०१६ साल कात्तिक २२ नै जनिएको छ ।
तर, राहदानी विभागबाट लिएको राहदानी नं. ०९०४००७६ मा उनको जन्म स्थान पर्सा र जन्ममिति नोभेम्बर ९, १९६१ उल्लेख छ । यसअनुसार उनको जन्ममिति २०१८ साल कात्तिक २४ गते हुन आउँछ । यही राहदानी प्रयोग गरेर सिलवाल विदेश यात्रासमेत गरेका छन् । सिलवालका नाममा सन् २०१५ को ३१ जुलाईमा जारी राहदानी हेर्दा २०१८ साल कात्तिक २४ गते जन्ममिति जनिएको नागरिकता बहाल रहेको खुल्छ । जे होस् सिलवालको नागरिकता र राहदानीमा जन्ममिति दुई वर्ष दुई दिन फरक परेको छ ।
राहदानी र नागरिकतामा जन्ममिति फरक हुँदा सचिवबाट अवकाश लिएपछि सार्वजनिक पद धारण गर्ने मनसायले फेरबदल भयो कि भन्ने आशंकासमेत छ । गृहसचिव हुँदै नागरिकता संशोधन गर्नुले कानुनी प्रश्नसमेत उठेको छ । केही समयपहिले डिआईजीमा बढुवा हुन लागेका अशोक सिंहले नागरिकतामा जन्ममिति सच्याएकै कारण नैतिक रूपले पदबाट राजीनामा दिनुपरेको थियो ।
सिलवालको दोहोरो जन्ममितिबाट बिमा ऐनको मर्म र भावना पनि मिचिएको छ । बिमा ऐनको दफा ८ को उपदफा (ख) मा उच्च नैतिक चरित्र भएको व्यक्ति मात्रै बिमा प्राधिकरणको अध्यक्ष हुन योग्य रहने व्यवस्था छ ।
टिप्पणीहरू