कृष्णनगरमा तस्करी, भन्सार छलछाममा कर्मचारी र व्यापारी
एकातिर लक्ष्यअनुसार राजस्व संकलन नभएपछि अर्थ मन्त्रालयका अधिकारीहरु टाउको दुखाउने, अर्कोतिर राजस्व चुहावट नियन्त्रण तथा अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटा कराइ रहने अवस्था उत्पन्न भएको छ । त्यसैगरी भन्सारमा कडाई गर्न नाकाहरुमा बसेका हाकिमहरुले राजस्वमा आफ्नो रजाईं रोक्न नसकेको वास्तविकता पनि छर्लङ्ग भएको छ । अहिले मुलुकभरका भन्सार नाकाहरूको विडम्बना र यथार्थ नै यहि हो ।
यसको पछिल्लो उदाहरण बनेको छ, कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालय । भन्सार अधिकृत र व्यापारीबीचको सेटिङमा न्यून राजस्व बुझेर भारतबाट पैठारी हुने मालबस्तुको जाँचपास गराउने क्रम यहाँ रोकिनुको सट्टा झन् बढेको छ । सोही कारण अन्य ठूला नाकाबाट पैठारी हुने सामानसमेत पछिल्लो समय यहाँबाट भित्रन थालेको हो । नेपालगञ्ज, भैरहवा, वीरगञ्जजस्ता ठूला नाकाबाट मालसामान आयात गर्दै आएका व्यापारीहरुको रोजाइमा कृष्णनगर पर्नुले पनि त्यो अवस्था बाहिर आएको बताइन्छ ।
भारतबाट खसी, बोका, राँगा, जुत्ता, चप्पल, लत्ता कपडा आयात गर्ने व्यापारीलाई प्राथमिकताको लाइन दिने गरिएको छ । यसबाट खुलारुपले तस्करी बढेको छ, तर जिम्मेवार सरकारी अधिकारीहरु कानमा तेल हालेर बसेको अवस्थामा भेटिन्छन् । भन्सार अधिकृत विकास उपाध्याय पनि त्यस्तै मध्येका एक भएको स्रोतको दाबी छ ।
उक्त भन्सारमा कतिसम्म बदमासीका घटना फेला परेको छ भने, सन् २०२२ को सेप्टेम्बर २९ मा गौरीशंकर सिमेन्ट प्रालिले (एक्जिम कोड नम्बर ६०९९९१५००१०९ एनपी) भारतबाट पैठारी गरेको मेसिनको पार्ट्स सेटिङ मिलाएर कम भन्सार महसुल तिराई जाँचपास गरिएको प्रमाण जनआस्थाले फेला पारेको छ ।
अर्का भन्सार अधिकृत ठाकुर गौतमले रेल–वे लिक (प्रज्ञापन पत्र नम्बर एम–१२३६१) लाई १ प्रतिशत भन्सार महसुल लगाई जाँचपास गरेको भेटिएको छ । बिजक तथा प्याकिङ लिष्टमा रेल पिÞmक्सिङ फाउन्डेसन स्पस्ट रुपमा उल्लेख हुँदाहुँदै प्रज्ञापन पत्रमा क्लिन्कर इन्टरग्रेटेड प्लान्ट घोषणा गराई जाँचपास गराएर ठूलो आर्थिक चलखेल गरेको स्पष्ट भएको छ ।
ठूला व्यापारीलाई खुलमखुला न्यून भन्सार तोकेर निजी लाभ लिने गरेका उनै अधिकृत गौतम साना व्यापारीका भने पसलमै पुगेर महिनावारी असुल्ने गरेको भुक्तभोगीहरुको गुनासो छ । उनले प्रमुख भन्सार अधिकृत गगनबहादुर बिकको नाम उल्लेख गर्दै हाकाहाकी नगदनारायणको कुरो उठाउने गरेका हुन् । महिनावारीमा चासो नदिने व्यवसायीका पसलमा छापा मार्ने धम्की पाइने गरेको उनीहरु बताउँछन् ।
भन्सार अधिकृत उपाध्याय स्थानीय भएका कारण आफू अनुकूलका व्यवसायीसँगको उठबसमा एक किसिमको मालबस्तुलाई अर्कै उल्लेख गरेर र सोहीबमोजिम मूल्याङ्कन गराई पार्टपुर्जालाई मेसिनको दरबन्दी र कोड हालेर जाँचपास गराएको धेरैको आरोप छ ।
लुगाफाटो, खाद्यान्नजस्ता दैनिक भन्सार भइरहने सामानमा अत्यन्त न्यून राजस्व लगाउने गरिएको बताइन्छ । त्यस वापतको हिसाब मिलान अन्यन्त्रै हुने गरेको स्रोतको दाबी छ । टिसर्ट प्रतिथान १२५, कम्मरपेटी ३०, मोजा ४, पैसा हाल्ने पर्समा १८ रुपैयाँ सन्दर्भ मूल्य निर्धारण गरेको पाइएको छ । जुन अत्यन्त न्यून हो । त्यस्तै, सावा चामललाई रोस्टेड चामल उल्लेख गरेर राजश्व निर्धारण गर्ने गरेको बताइन्छ ।
सोही भन्सारमा कार्यरत नायव सुब्बा शोभाकर भण्डारी प्रमुख भन्सार अधिकृतका दाहिने हात भएर बसेका छन् । उनी सँधैजसो कृष्णनगर भन्सार कार्यालयमा बसेपछि स्वयम् कर्मचारीले नै ‘बिना कृष्णनगर भन्सार बाँच्ने नसक्ने कारण के होला ?’ भनेर खिसिटियुुरी गरेको पनि सुनिन्छ ।
नेपालगञ्ज कार्यालयमा सरुवा भएको वर्षदिन बित्न नपाउँदै उनलाई प्रमुख भन्सार अधिकृत गगनबहादुर विकले पुनः कृष्णनगर तानेका हुन् । नेपालगञ्ज भन्सारमा छँदा विवादित बनेका उनी यसअघि भन्सार विभाग, त्रिपुरेश्वरमा पनि तानिएका थिए । अहिले उनी कृष्णनगरमा भन्सार प्रमुखका लागि ‘लहिनु गाई’ बनेका छन् ।
प्रमुख भन्सार अधिकृत विक कार्यालयमा हाजिर गरेपछि ‘अनुगमन’ मा निस्कने गरेपछि कार्यालयको सम्पूर्ण जिम्मा भण्डारीसहित तीन जनालाई सुम्पने गरेको पाइएको छ । दुई हप्ताअघि विभागले आयोजना गरेको राजस्व मूल्यांकन गोष्ठीमा सहभागी भएका विकलाई गरिएको त्यसबारेको सोधनीमा चित्तबुझ्दो जवाफ दिन सकेका थिएनन । गोष्ठीबाट फर्केपछि पनि उनले त्रुटी सच्याउन सकेनन् वा चाहेनन् त्यो भने उनैले जानेका छन् ।
भन्सारमा हुने गडबडी नियन्त्रण गर्न तथा थप तथ्य जाँच गर्न भन्सार विभाग त्रिपुरेश्वरले भन्सार बिन्दुहरुको निगरानीका लागि छुट्टै इकाई ’वाइड एरिया नेटवर्क (वान)’ पनि खडा गरेको छ । त्यहाँबाट मुलुकभरका भन्सारको स्थिति, राजस्व संकलनको निगरानी गर्ने गरिन्छ । कृष्णनगर भन्सारमा भएको ‘बदमासी’ को थप पुष्टि खोज्दा उक्त नेटवर्कबाट प्रमाणित भएको हो ।
कृष्णनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको सबै महिनामा लक्ष्यअनुसार राजस्व उठाउन सकेको देखिएको छैन । कार्यालय प्रमुख बिक, भन्सार अधिकृतद्वय विकास, ठाकुर र नासु भण्डारीले अपनाउने गरेको न्यून भन्सार दर कायमको प्रवृत्तिले पनि राजस्व संकलन प्रभावित भएको ठोकुवा गर्न थालिएको छ ।
प्रमुख बिक र विभागका महानिर्देशक चक्रबहादुर बूढा छिमेकी जिल्लाबासी हुन् । सोही सम्बन्धलाई भजाउँदै विकले कर्मचारीलाई दायाँबाँया गरे सरुवाको धम्की दिने गरेका हुन । उनी हाकिम रहेको भन्सार कार्यालयमा भएको राजस्व चुवावटका सम्बन्धमा जनआस्थाले राखेको जिज्ञासामा उनले आफ्नो बचाउ गर्न भने सकेनन् ।
टिप्पणीहरू