पक्राउ पुर्जी कागजको खोस्टोमा परिणत

पक्राउ पुर्जी कागजको खोस्टोमा परिणत

नयाँबानेश्वरस्थित दि होटल एभरेष्टलाई पर्यटन विभागदेखि होटल/क्यासिनो हेर्ने जिम्मेवारीप्राप्त महाशाखाहरूले बारम्बार मौखिक/लिखित ताकेता गर्दा पनि यसका मालिक मसकुर अहमद लारीले वर्षौंदेखि १७ करोड राजश्व बुझाएनन् । पर्यटन मन्त्रालय श्रोतले उक्त होटल नवीकरण नभएको र राजश्व पनि नतिरेकाले अहिले तारे नभई सामान्य होटलका रूपमा सञ्चालनमा रहेको हुन सक्ने बताएको छ । 

कानुन र मापदण्ड उल्लंघन गर्दैै सञ्चालित होटल एभरेष्टमा अधिकांश उच्च तहका कर्मचारी भारतीय छन् । महाप्रबन्धक, हाउस किपर, फाइनान्स कन्ट्रोलर, सेफलगायत कर्पोरेट जिम्मेवारीमा उनीहरूलाई राखिएको छ । भारतीय रोजगारलाई सुविधासम्पन्न अपार्टमेण्ट, गाडी र आकर्षक तलबभत्ताको व्यवस्था गरिए पनि नेपालीलाई श्रम ऐनअनुसारको तलब पनि दिइएको छैन । केहीअघि चिकित्सक दम्पतीको वैवाहिक भोजमा भारतीय महाप्रबन्धकले आयोजकप्रति अपशब्द बोल्दै दुव्र्यवहार गरेपछि बबाल मच्चियो । आयोजकहरू उल्टै तनावमा परे र तीन दिनसम्म वार्ता चल्यो । वार्ता भनेर बोलाउने र महाप्रबन्धक सधैँ भाग्ने गरेपछि त्यहीँका नेपाली कर्मचारीको मध्यस्थतामा वातावरण सकारात्मक बनेको थियो । 

अहिले ३ दर्जनजति कर्मचारीलाई नेपाली श्रम ऐनविपरीत काममा लगाइराखिएको छ । करारमा कर्मचारी राख्न नपाइने प्रावधानविपरीत भूकम्पपछि होटल खुलेदेखि नै ती कर्मचारीलाई करारमा काम लगाइएको हो । यससम्बन्धमा कर्मचारीले श्रम ऐनको दफा र हरफ नै उद्धरण गरी स्थायीको लागि श्रम विभाग र श्रम कार्यालयमा निवेदन दिँदा पनि त्यहाँका कर्मचारीले शुभलाभमा भविष्यमाथि खेलेको आरोप अखिल नेपाल ट्रेड युनियन महासंघका एक नेताले लगाए ।

 

हुन त यस होटलका मालिक मसकुर अहमद लारी आफैँ पनि वर्षौंदेखि प्रतिबन्धित लागुऔषध चरेशका कारोबारी हुन् । उनको नाममा २ सय ५० केजी चरेश जर्मन पु¥याएकोमा इन्टरपोलले नै पक्राउ पुर्जी जारी गरेको छ । हवाईजहाजबाट होटलको खानाको प्याकेट भन्दै २५० केजी चरेश झारेका उनलाई पक्राउ गर्नका लागि जारी पुर्जीमा भनिएको छ– मसकुर अहमद लारीलाई लागुऔषधको कसुरमा गिरफ्तार गर्नुपरेको हुनाले यो वारेन्ट बदर नभएसम्म तदारुकतासाथ खोजतलास गर्दै फेलापरेको बखत पक्री बाटोमा भाग्न, उम्कन नपाउने गरी यस अड्डामा पठाइदिनु । तर, यस मुद्दामा उनी वर्षौंदेखि फरार सूचीमा छन् । जबकि उनी वर्षौंदेखि महाराजगञ्ज, हाल भाटभटेनी सुपर स्टोर नजिकैको बंगलामा बस्दै आएका छन् । त्यो स्थान महाराजगञ्जस्थित प्रहरी कार्यालयबाट करिब ३ सय मीटर दूरीमा छ । 

हडपिएको होटल

मसकुरले आफ्नो दाबी गरेको उक्त होटलको स्वामित्व विवाद अहिले सर्वोच्च अदालतमा पुगेको छ । उनका काकाले स्थापना गरेको यस होटलको उनलाई पनि केही प्रतिशत शेयर दिइएको थियो । अरुभन्दा अलिक चलाख भएकाले भतिज (मसकुर) लाई उनले सरकारी अड्डाका कामको जिम्मा लगाउने गरेका थिए । आफू वृद्ध हुँदै गएपछि काकाले कतिपय सरकारी काम गर्न सहज हुने भनी हस्ताक्षर गरेर छाडेका केही प्रति कागज दुरूपयोग गरी काकाका नाममा रहेको अधिकांश शेयर मसकुरले आफू र श्रीमतीका नाममा खरिद गरेको देखाए । यसका लागि नक्कली मुचुल्का र कागजात कम्पनी रजिष्ट्रार कार्यालयका कर्मचारीलाई प्रभावमा पारी होटलको अधिकांश स्वामित्व आफ्नो नाममा ल्याएको बताइन्छ । भारतमै रहेका काकाका छोराहरूले नेपालमा बाबुका नाममा भएको होटल मसकुरले हडपेको थाहा पाउनासाथ यसका विरुद्धमा मुद्दा हाले । यो मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

टिप्पणीहरू