निरुको प्राण किन निमोठियो ?

निरुको प्राण किन निमोठियो ?

एउटा यस्तो भयावह हत्या, जो देख्नेले भन्दैनन् उनी लुटेराको फन्दामा परिन् । तर, अनुसन्धानको निश्कर्ष त्यही छ । यो कुरामा माइती र परिवार मात्र विभाजित छैनन्, देख्ने, सुन्ने र जान्नेहरू पनि भन्दै छन्, ‘केही न केही कुरा लुकेको छ ।’ 

वैशाख ७ गते चाबहिल, सरस्वतीनगरमा निरु किचेन नामक पसलकी सञ्चालिका नीरा पाण्डे आचार्यको हत्या प्रसंग हो यो । मातातीर्थ औंशीका दिन बिहानै आमालाई सम्झिएर अर्को जुनी पनि उनकै काखमा जन्म पाइयोस् भनी कामना गरिन् । दिउँसो लामखुट्टे मार्ने ब्याटको प्रचारनिम्ति टिकटक बनाइन् र एकैछिनपछि आफैँ मारिइन्, विनोद विकको हातबाट । हत्या भएको १० दिनपछि विनोद झापाबाट पक्राउ परे । पक्राउपछि विनोदको बयान र प्रहरी अनुसन्धानका तथ्यबीच तादाम्यता मिलेपछि भनियो, लुटपाटका निम्ति । तर, नीराको माइतीपक्ष यो कुरा मान्न तयार छैन । अस्ति सोमबार उनको शव अन्त्येष्टि गरियो । तर, माइतपक्ष त्यसमा सामेल भएन ।

विनोद विकलाई पक्राउ परेपछि प्रहरीले भनेको छ– नीरालाई मार्न (सुन र नगद लुट्न) ऊ झापादेखि आयो । कोटेश्वर, मनहरा फाँटस्थित आफ्नो डेराबाट ट्याम्पु चढी सरस्वतीनगर पुग्यो । अन्त गएन, सीधै त्यहीँ नजिकैको चिया पसलमा छि¥यो । नीरालाई एक कप चिया पठायो । सायद चियामा मिसाइएको कुनै औषधिका कारण उनी लठ्ठिइन् । त्यसपछि पसलमा छि¥यो । मुख थुनेर पेटमा चक्कु घोच्यो । अनि, मुख थुनेकै अवस्थामा ९८ लालको सुनको सिक्री थुत्यो । नीराले प्रतिवाद गर्न खोजिन्, उसले हातमा टोक्यो । त्यसपछि घाँटीदेखि तिघ्रासम्म १८ पटक चक्कुले घोच्यो । नीरा ढलिन् । लगाएको लुगा फेरेर ऊ त्यहाँबाट निस्किनुअघि नीरालाई बोराले छोपिदियो ।

नीराको माइतीपक्षको भनाइ छ, घटना विवरण पत्यारिलो भएन । एक होइन, दुई–चार, पाँच तोलासम्म सुन लगाएका मान्छे शहरमा अनगिन्ती भेटिन्छन् । तर, त्यही सुन लुट्नका लागि त्यति आततायी शैलीबाट कसैले कसैको हत्या गर्दैन । त्यसमाथि त्यत्ति सुन लुट्नका लागि एउटा मान्छे झापाबाट काठमाडौं आउँछ भन्ने कुरा नै विश्वासिलो नभएको माइती पक्षले जनआस्थालाई बताएका छन् । ‘एउटा बाटोबाट आएर अर्को बाटोबाट फर्किन्छ, सुन बन्धक राखेको ५५ हजारले राति भोज खान्छ, इटहरी पुगेर प्रेमिकासँग रात बिताउँछ र फेरि झापाको बिर्तामोडस्थित एक होटलमा पाँच दिनदेखि बास बस्छ– यो कुरा कसरी पत्याउने’, नीराका माइतीका एक सदस्यले भने, ‘अहिलेको जमानामा ५५ हजार रूपैयाँले काठमाडौंमा भोज खान, इटहरीमा प्रेमिकासँग बस्न अनि बिर्तामोडमा होटलमा पाँच–पाँच दिन बस्न कसरी पुग्यो ?’ उनीहरूको दाबी छ, कि विनोद खडा गरिएका अभियुक्त हुन्, कि उनी नै नीरा हत्याका लागि प्रयोग गरिएका कन्ट्र्याक किलर हुनुपर्छ । 

माइती पक्षको दाबीअनुसार पति र पत्नीबीच केही समयदेखि मनमुटाव थियो । शुरुमा पतिसँगै पसल गर्ने उनी एक्लैले निरु किचेन नाममा पसल चलाएपछि उनले गरेको आर्थिक प्रगतिका कारण वा अन्य कुनै कारणले मनमुटाव रहेको र झगडा पर्ने कुरा उनले माइतका मान्छेलाई सुनाएकी थिइन् । त्यसमाथि उनी छिट्टै अमेरिका जाने तयारीमा थिइन् । उनीसँग बचत रहेको १९ लाख रूपैयाँ एउटा बैंकमा फिक्स डिपोजिट गरेकी थिइन् । मारिएकै दिन उनको फिक्स डिपोजिट म्याचोर्ड भएको थियो । माइती पक्षले पति र पत्नीबीचको असमझदारीमाथि छानबिन र तथ्य सार्वजनिक गर्नुपर्ने माग गरेको छ । पतिको भूमिकामाथि उनीहरूको शंका छ । भन्छन्, ‘हत्या लगत्तैको बेवास्ताको कारण पत्ता लाग्नुपर्छ ।’ तर, पतिपक्षले अहिले पनि आफूहरूमाथि कुनै शंका भए जुनसुकै कोणबाट अनुसन्धान गरिए पनि तयार भएको बताउँदै आएको छ । ‘दोषी भए हाम्रो मान्छेलाई सप्रमाण कारबाही गरियोस्’, पति पक्षका एक सदस्यले भने । माइतीपक्षले अनुसन्धान निश्कर्षमा सन्तुष्टि नजनाएपछि पतिपक्षले प्रहरीसँगको सल्लाहमा सोमबार शव बुझेको थियो ।

‘एउटा भयावह घटनालाई कतै शक्तिको आडमा ढाकछोप त गरिँदै छैन ?’, माइतीपक्षका एक सदस्यको प्रश्न छ । उनी भन्छन्, ‘हामी उहाँको परिवारका अरु सदस्य वा निकटवर्तीसँग सशंकित छैनौं, तर जसरी सामान्य कारणले त्यत्रो हत्या भएको भनिँदै छ, त्यो पत्यारिलो छैन ।’ उनीहरूले ‘शक्तिकेन्द्र’ भनी संकेत गरेका पात्र हुन्, मृतक नीराका जेठाजु तथा नेपाल सरकारका पूर्वसहसचिव हीरामणि आचार्य । उनले राष्ट्रपति कार्यालयबाट अवकाश पाएपछि तत्कालीन राष्ट्रपति विद्या भण्डारीको सचिवालयमा रहेर काम गरेका थिए । नीराको हत्यालगत्तै माया ज्ञवाली उनको पसलमा पुगेकी थिइन् । पुग्नेबित्तिकै नीरालाई नदेखेपछि उनले त्यहीँबाट पतिलाई फोन गरेको भनेकी छन् । माया, अर्थात् त्यही ठाउँमा घर भएकी एमाले नेत्री माया नै हुन् वा अरु कोही ? उनी घटनालगत्तै पुग्नुको वास्तविक कारण खुल्नुपर्ने माइतपक्षको माग छ । पतिपक्षले भने प्रहरी अनुसन्धान जारी भएको अवस्थामा अनुसन्धानलाई सघाउनका निम्ति आफूहरू जहाँ पनि उपस्थित हुन तयार रहेको बताउँदै आएको छ । आफूहरूमाथि उठ्ने कुनै पनि प्रश्नलाई सप्रमाण निरूपण गर्न तयार भएको भन्दै प्रहरी अनुसन्धानमा विश्वास गर्नुपर्ने बताउने गरेका छन् ।
 

टिप्पणीहरू