पिएसहरुको अर्को पिरलो
गत मंसिरको आमनिर्वाचनमा निर्वाचित भएको केही दिनपछि बेंसीशहरको होटल टुकुछे पिकमा आयोजित पार्टी कार्यकर्तासँगको एक कार्यक्रममा एमाले उपमहासचिव तथा लमजुङबाट निर्वाचित संघीय सांसद पृथ्वीसुब्बा (पिएस) गुरुङले चुनाव निकै खर्चिलो भएको मात्रै होइन आफ्नै कार्यकर्तालाई किन्नुपर्ने दिन आएको समेत बताएका थिए । एक अनौपचारिक गफमा आफूनिकटका पत्रकारले समेत आफूलाई ठगेको, कार्यकर्ताले इमान गुमाएको जाँड, रक्सी मासुबिना पाइलै चाल्न छाडेको गुनासो गरे ।
२०÷२५ भोटको समेत हैसियत नभएकाले उम्मेदवारी हाल्ने अनि यति खर्च भएको छ त्यसको बन्दोबस्ती हुने भए उम्मेदवारी फिर्ता लिने र सहयोग गर्ने भन्दै वाक्कदिक्क पारेको, भन्दै गर्दा चुनावी खर्च एक करोडले पनि नभ्याएको गुरुङले आशय प्रकट गरेका थिए । उनले भनेअनुसार उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका माओवादी महासचिव देवप्रसाद गुरुङको त दोब्बर खर्च हुन सक्ने अनुमान लगाए । चुनावमा करोडौं खर्च भए पनि एमाले उपमहासचिव गुरुङले निर्वाचन कार्यालयलाई बुझाएको खर्च विवरण निर्वाचन आयोगले तोकेको सिलिङ नाघेको देखिन्न ।
०४३ सालदेखि चुनाव लड्दै आएका गुरुङले जिल्ला निर्वाचन कार्यालयमार्फत निर्वाचन आयोगमा पठाइएको खर्च विवरण २१ लाख ९७ हजार मात्रै छ । जसमा कोण सभा खर्च १ लाख १२ हजार, यातायात खर्च ६ लाख ५० हजार, खाना तथा आवास ५ लाख २५ हजार, प्रचारप्रसार ३ लाख, निर्वाचन प्रतिनिधि आवास र खानामा २ लाख ४० हजार मतदाता नामावली फोटोकपी १ लाख २० हजार र पालिकास्तरीय बुथ खर्चमा २ लाख ५० हजार देखाइएको छ ।
एमालेकै प्रदेश उम्मेदवार कृष्णप्रसाद अधिकारीले आफ्नो चुनावी खर्च विभिन्न शीर्षकमा ८ लाख ६० हजार ७ सय २० भएको निर्वाचन कार्यालयलाई पेश गरेका छन् । लमजुङ प्रदेश (ख) बाट विजयी भएका कांग्रेसका भेषबहादुर पौडेलको खर्चको कुनै लेखाजोखा नहोला । लमजुङकै धनी परिवारका पौडेलको द हिमालयन रिसोर्टमा बसेर नेता–कार्यकर्ताले दाउन मारेको महँगो रक्सी–मासुको हिसाब कसरी निकाल्नु ? खर्च गरेर भन्दा पनि उनको शालिनता सबैसँगको राम्रो सम्बन्धले विजयी बनेका पौडेलले आफ्नो चुनावी खर्च सवारी साधन (भाडा) खर्च १ लाख ३३ हजार, खानाखाजाको १ लाख ४४ हजार, इन्धनको ७७ हजार ६१५, झण्डा ब्यानरमा १ लाख ८२ हजार दुई सय र प्रचार सामग्री भन्दै पोस्टर पम्प्लेटको ३ लाख ४४ हजार २ सय गरी ८ लाख ८१ हजार १५ रुपैयाँ खर्च विवरण सार्वजनिक गरेका छन् ।
माओवादी एक नेताका अनुसार गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका महासचिव देव गुरुङसँग कांग्रेसी कार्यकर्ताले हाकाहाकी पैसा मागेको खुलासा गरेका थिए । यसो त गुरुङलाई चुनावी खर्च भनेर लमजुङमा सञ्चालित हाइड्रोपावरहरूले लगानी गरेको सूचना प्राप्त भएको थियो । निर्वाचनमा पराजित भए पनि निर्वाचन कार्यालयमा उनले बुझाएको खर्च विवरणमा सबैभन्दा बढी खर्च उनैको देखिन्छ ।
विवरणअनुसार गुरुङले २४ लाख ५२ हजार २ सय २५ रुपैयाँ खर्च गरेको देखिन्छ । सवैभन्दा बढी प्रतिनिधि परिचालनमा ८ लाख रुपैयाँ खर्च भएको छ । मतदाता नामावली खरिदमा ३ हजार, प्रचारप्रसार सामग्री ३ लाख ३९ हजार ३ सय ५० छ । ८ स्थानमा गरिएको गोष्ठी अन्तरक्रिया आदिमा १ लाख ५० हजार, सवारी साधन ३ लाख, ढुवानी १ लाख, कार्यालय सञ्चालन ३ लाख ३६ हजार ४ सय, इन्धन डिजेल पेट्रोल ३ लाख ३३ हजार ४ सय ७५ र प्रचारप्रसार एवं प्रतिनिधि परिचालनमा १ लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।
त्यस्तै, प्रदेश सभा (क) बाट निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार डा. टकराज गुरुङले आफ्नो निर्वाचन खर्च १५ लाख २४ हजार भएको जनाएका छन् । उनले पेश गरेको खर्च विवरणअनुसार सबैभन्दा बढी खाना–खाजामा देखिएको छ । जसमा ७ लाख रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । अन्य खर्चमा घोषणापत्र छपाइ १ लाख ५० हजार, पर्चा पम्प्लेटमा ८५ हजार, अपिल छपाइमा ५५ हजार, नमुना मतपत्र छपाइमा ९० हजार ३ सय, झण्डा, स्वस्तिक छाप, स्ट्याम्प ब्यानर आदिमा १ लाख ८५ हजार, इन्धनमा १ लाख ९ हजार २ सय र गाडीभाडा १ लाख ५० हजार उल्लेख गरिएको छ । जसले जति जति खर्च उल्लेख गरे पनि त्यसको पाँच गुणा बढी खर्च हुने गरेको निर्वाचन कार्यालयका कर्मचारी बताउँछन् ।
– अञ्जनकुमार
टिप्पणीहरू