सुन लिएर भारत जान लागेकाहरु गाडीसहित समातिए

सुन लिएर भारत जान लागेकाहरु गाडीसहित समातिए

मोरङको विराटनगरबाट सुन र चाँदीका विभिन्न गरगहनासहित तीन जना समातिएका छन् । 

विराटनगर महानगरपालिका–२ का ५२ वर्षीय बिमल कामत र भारतको बिहार कटिहार घर भएका ६१ वर्षीय बिनोदकुमार मुरारका र उनकी श्रीमती ५६ वर्षीया पुष्पा मुरारकालाई प्रहरीले अवैध सुनसहित हिजो पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले गाडी चेकजाँच गर्नेक्रममा उक्त सुन फेला परेपछि उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।  

प्रहरीका अनुसार विराटनगरबाट रानीतर्फ जाँदै गरेको को.२ च १४९५ नम्बरको भ्यान चेकजाँच गर्ने क्रममा सुन तथा चाँदी जस्तो देखिने धातुका गरगहनासहित भारतीय रुपैयाँसमेत फेला परेको थियो । 

उनीहरुको साथबाट विभिन्न प्रकारका गरगहना, सात लाख ९५ हजार २८९ भारतीय रुपैयाँ र  भ्यानसमेत गरी जम्मा ९० लाख रुपैयाँ बराबरको सामग्री बरामद गरेको प्रहरीले जानकारी दिएको छ । 

बरामद सामग्रीसहित पक्राउ परेका उनीहरुलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको निम्ति जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको छ ।
 

टिप्पणीहरू