महाराजका सम्पत्तिमाथि चौतर्फी मनोमानी

महाराजका सम्पत्तिमाथि चौतर्फी मनोमानी

तत्कालीन राजपरिवारको सम्पत्ति राष्ट्रको नाममा ल्याएर संरक्षण गर्ने उद्देश्यले स्थापित नेपाल ट्रष्टको कार्यालय अनियमितताको दलदलमा फसेको छ । 

०६२–६३ को जनआन्दोलनपछि स्थापित नेपाल ट्रष्टको खर्बौंको सम्पत्तिमा ठुल्ठूला व्यवसायीले रजाइँ गरिरहेका छन् । नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५९ ले ‘राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजका परिवारको सम्पत्ति नेपाल सरकारको मातहतमा ल्याई ट्रष्ट बनाएर राष्ट्रहितमा प्रयोग गरिनेछ’ भन्ने व्यवस्था गरेको छ । 

सोहीअनुसार ‘नेपाल ट्रष्ट स्थापना र सञ्चालनसम्बन्धमा व्यवस्था गर्ने अध्यादेश, २०६४’ जारी भई नेपाल ट्रष्ट स्थापना भएको हो । तर, संरक्षण गर्ने भनेर राष्ट्रको नाममा ल्याइएको सम्पत्ति व्यापक रूपमा दोहन भइरहेको आरोप छ । ट्रष्टको नाममा भएको साढे २१ हजार रोपनीभन्दा बढी जग्गा सीमित व्यवसायीको कब्जामा जाँदै छ । सम्पत्ति संरक्षण र सदुपयोग गरेर शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने भनिए पनि त्यो अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । थानकोट–महादेवस्थान, मातातीर्थ, सतुंगल, बालाजुलगायत अधिकांश क्षेत्रमा रहेका रोपनीका रोपनी जग्गा बर्बाद हुँदै छ । 

ती जग्गा सरकारकै नाममा फिर्ता ल्याउन ट्रष्टले कुनै चासो देखाएको छैन । काठमाडौंमा रहेको ४ हजार ४ सय रोपनी जग्गा पनि अलपत्र छ । ट्रष्टले आफ्नो जिम्मेवारी निष्ठापूर्वक निर्वाह नगर्दा राजपरिवारको बहुमूल्य सम्पत्ति बेकार बनेको छ । काठमाडौंको गोकर्णेश्वरस्थित नेपाल ट्रष्टको जग्गामा गोकर्ण फरेष्ट रिसोर्ट खोलेर ‘यति होल्डिङ्स’ ले कुस्त कमाइरहेकै छ । 
सरकारले यति समूहलाई जग्गा भाडामा लगाउन कानुनसमेत संशोधन गरिसकेको छ । कमलादीस्थित काठमाडौं प्लाजा, कालिमाटीको बिजनेस पार्क, लाजिम्पाटस्थित स्टाण्डर्ड चार्टर्ड बैंकको घरजग्गालगायत अन्य थुप्रै स्थानमा रहेका ट्रष्टको सम्पत्ति थोरै भाडामा दिइएको छ ।

‘पलङ’ चोरी, खोल्ने तयारी

गोकर्णस्थित राजा महेन्द्रको आराम गर्ने ‘सम्झना कक्ष’ बाट खाट नै गायब भएको छ । भाँडाकुँडा, दराजमा भएका सामान, हातहतियारलगायत वस्तु हराएको स्रोतले जानकारी दियो । केही वर्षअघि ट्रष्टले पोखराको हिमागृहलाई ‘संग्रहालय’ बनाउने निर्णय गरेको थियो । राजपरिवारको सामान नै गायब भएपछि अवलोकनकर्तालाई देखाउनेचाहिँ के ? 

ट्रष्टको तर्फबाट गोकर्णको व्यवस्थापन हेर्ने विष्णुबहादुर बस्नेतले वैशाख १ गते अवकाश पत्र पाइसकेका छन् । नारायण पौडेलले उनको ठाउँ सम्हाल्नेछन् । बस्नेतले उनलाई अझै पनि बरबुझारथ गरेका छैनन् । पुराना सामान कसले कसलाई बुझाउने ? ठेगान छैन । बस्नेतले कार्यालय जान छोडिसकेको बताउँदै भने, ‘मेरो अवकाश भइसक्यो । कार्यालय जाँदिन । त्योभन्दा अरु केही भन्न सक्दिनँ ।’

 

खै आम्दानी ? 
ट्रष्टले आफ्नो सम्पत्ति लिजमा दिने गरेको छ । तर, त्यसबापत कति आम्दानी हुन्छ ? र त्यो कहाँ खर्च हुन्छ ? कसैलाई अत्तोपत्तो छैन । ट्रष्टको सम्पत्तिमा अहिलेसम्म बिचौलियाकै रजगज छ ।
यत्रो सम्पत्ति भाडामा दिएर पनि ट्रष्टले आफ्नो खर्चसमेत जुटाउन सकेको छैन । व्यवस्थापन र स्याहारसुसार कल्पनाभन्दा बाहिरको विषय बनेको छ । यसबारे ट्रष्टका सहसचिव विष्णुराज ढकाललाई सोध्दा उनले आफू छुट्टीमा भएकाले बोल्न नमिल्ने बताए । ‘म छुट्टीमा छु, त्यसैले बोल्न मिल्दैन । मलाई कहाँ–कति सम्पत्ति छ ? थाहा छैन । उपसचिव कार्यालयमा हुनुहुन्छ, उहाँलाई सोध्नु’, उनले भने । यता, उपसचिव सरस्वती पौडेल खनाललाई बारम्बार सम्पर्क गर्दा पनि उनले फोन उठाइनन् ।
 

टिप्पणीहरू