जेलभित्र अलग्गै ज्यादती
राजधानीस्थित केन्द्रीय कारागारभित्रको यथार्थ हो यो । यहाँ दाल–मनीको २० प्रतिशत पनि तरकारीमा खर्च गर्दैनन् । गुणस्तरहीन तरकारी र खाना खान बाध्य छौं । चाडपर्वमा र जाडो–गर्मीमा आउने रकमको ४० प्रतिशत मात्र हामीलाई उपलब्ध गराइन्छ ।
मुढा, गलैंचा र अन्य काम गर्ने ठाउँको श्रमिकमाथि अत्यधिक श्रमशोषण गरिएको छ । काम छोड्न चाहनेलाई इच्छाले छोड्न दिइँदैन । काम छोड्न नचाहनेलाई त्रासमा राखेर काम गर्न बाध्य बनाइएको छ । पसलमा पाउने सामानको एमआरपीमा सयदेखि दुई सय प्रतिशतसम्म मूल्य थप गरेर बिक्री गरिन्छ । होटलमा अत्यधिक महँगी छ । फिजिकल र मनोरञ्जनका लागि उपलब्ध विभागहरु व्यावसायिक प्रयोजनका लागि मात्र उपयोग गरिन्छ ।
नाइकेहरुले जुवा, तास, क्रिकेट र फुटबलको बेटिङ लगाउँछन् । फोनमा भ्वाइस प्याक लिइएको हुन्छ, तर देशभित्र कुरा गर्दा प्रतिमिनेट ३ रुपैयाँ र विदेशका लागि प्रतिमिनेट ३० रुपैयाँ तिर्नुपर्छ । भाइनाइके र नाइके दिउँसै मदिरा र लागुऔषध सेवन गरेर बसेका हुन्छन् । भेटघाटबाट आउने खाद्यवस्तु चेकजाँचको नाममा फोहोरमैला गरेर खानै नमिल्ने बनाइदिन्छन् । दैनिक उपभोगय वस्तुहरु घरबाट नमगाउन आदेश दिन्छन् । भेटघाटबाट कसैको सामान आइहाले जफत गरिदिन्छन् ।
अन्य कारागारबाट सरुवा भई आउने र नयाँ कष्टडीबाट कारागार प्रवेश गर्ने कैदीबन्दीलाई प्रक्रियाको नाममा अमानवीय व्यवहार गर्ने गरिएको छ । दुई जना बसेर कुराकानी गर्दा शंकास्पद गतिविधि गरेको भनी अनावश्यक सोधपुछ गर्ने र यातना दिइन्छ । घरपायकको जेलसरुवा हुन चाहनेलाई पत्र लेख्न जेलरलाई दिनुपर्छ भन्दै पैसा मागिन्छ । नदिए निवेदन नै लेखिँदिँदैनन्, सिफारिस पनि गरिदिँदैनन् । चौकीदारलाई पैसा दियो भने जस्तोसुकै सेवासुविधा उपलब्ध हुन्छ । यस्ता कुरा बाहिर लिक हुने अशंकामा सामान्य मान्छेहरुलाई पनि भाषामा बोल्न दिइँदैन (भेटघाट र फोनमा) । अनावश्यक निगरानी गरिन्छ ।
– केन्द्रीय कारागारका कैदीबन्दी
टिप्पणीहरू