गाई काटेर मासु भाग लगाइरहेका तीन जना पक्राउ

गाई काटेर मासु भाग लगाइरहेका तीन जना पक्राउ

रुकुम(पूर्व) मा गाई काटेको अभियोगमा तीनजना पक्राउ परेका छन् । 

भूमे गाउँपालिका-२ का ४४ वर्षका रानवीर कामी, भूमे-३ का ५९ वर्षका सम्पती रोका र उनकी पत्नी ५७ वर्षीय विनसरी रोकालाई गाई काटेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)का प्रहरी निरीक्षक गनेश पाण्डेले जानकारी दिए ।

भूमे गाउँपालिका-६ स्थित खाराबाङ (लुकुम खोला पारिपट्टी) गोठको छेउमा गाई मारेर मासु काट्दै गर्दा उनीहरु गएराती प्रहरीको कब्जामा परेका हुन् । गाई काट्दै गरेको भन्ने गोप्य सूचनाको अधारमा उनीहरुलाई पक्राउ गरेर ल्याएको प्रहरी निरीक्षक पाण्डेले बताए । 

सोधपुछका क्रममा उनीहरुले मासुका लागि लडेर मरेको गाई काटेर बताएका छन् । काटेको गाईलाई भने सम्बन्धित निकायको रोहबरमा गाडिएको छ । पक्राउ परेका तीनै जनालाई आज म्याद थपका लागि अदालतमा पेश गरिएको थियो । अदालतबाट पाँच दिनको म्याद थपगरी अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ । 

गाई नेपालको राष्ट्रिय जनावरका रुपमा परिभाषित छ । राष्ट्रिय जनावर मार्नेलाई तीन वर्षको कैद सजाय हुने कानुनी व्यवस्था छ ।

टिप्पणीहरू