राष्ट्र बैंकका हाकिमको दिनचर्या : पाँच दिन सराप्ने, दुई दिन खाम बुझ्ने
रेवती नेपाल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् । उनी यतिखेर बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागको प्रमुखको जिम्मेवारीमा छन् ।
उनै नेपाल पछिल्ला दिनमा सबै लघुवित्त संस्थालाई एउटै डालोमा हालेर उग्र शब्दमा गाली गर्न व्यस्त छन् । साताको पाँच दिन विभिन्न कार्यक्रममा आफूलाई नियमनकारी निकायको स्वच्छ हाकिमको रुपमा प्रस्तुत हुने र सप्ताहन्त प्रायः ती संस्थाका सञ्चालक र कर्मचारीलाई पढाउने नाममा राजधानी बाहिरसमेत पुग्ने गरेका छन् ।
उनी कार्यरत संस्थाले गभर्नर, डेपुटी गभर्नर वा तोकिएको कार्यकारी निर्देशकको अनुमति बेगर त्यस्ता कार्यक्रममा सहभागी हुन नपाइने कडा व्यवस्था गरेको छ । कर्मचारीलाई कार्यालयको काम छाडेर तालिमको नाममा पढाउने, खाम बुझ्ने कार्यमा रोक लगाइएको जनशक्ति व्यवस्थापन विभागका एक जना निर्देशकले बताए ।
तर, रेवती लगातार त्यस्ता कार्यक्रममा सहभागी भएको पत्र र तस्बिर जनआस्थाले प्राप्त गरेको छ । उनी यसअघि धुलिखेलमा आयोजित तालिममा स्वीकृति नलिई सहभागी भएको समाचार र फोटो जनआस्थाले वैशाख ११ गते नै प्रकाशित गरिसकेको छ ।
कार्यकारी निर्देशक नेपाल डा. विनोद आत्रेयका बहिनी ज्वाईं हुन् । बैंकिङ फाइनान्स एण्ड इन्सुरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन) का हर्ताकर्ता डा. आत्रेय राष्ट्र बैंकका भूतपूर्व कार्यकारी निर्देशक हुन् । उनै आत्रेयको कम्पनीले प्रायः शनिबार र सार्वजनिक बिदाको दिन आयोजना गर्ने बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको अधिकांश आवासीय तालिममा ज्वाईं हाकिम इन्स्ट्रक्टरको रुपमा सहभागी हुने गरेका छन् ।
केन्द्रीय बैंकको संस्थागत सुशासन उल्लंघन गरेर त्यस्ता कार्यक्रममा सहभागी हुँदै आएका उनी बिफिनको ‘संस्थागत सुशासन र यसको असल प्रयोग’ सम्बन्धी गत चैत पहिलो साता धुलिखेलमा भएको दुई दिने कार्यक्रममा सहभागी भएका थिए । वैशाख ११ गते प्रकाशित जनआस्थाको समाचारमा रेवती पछिल्ला दिनमा लघुवित्त वित्तीय संस्थाको सञ्चालक शिक्षाको निम्ति आयोजना गरिने भित्री (इन हाउस) तालिममा समेत सहभागी हुँदै आएको खबर उल्लेख थियो । लघुवित्त संस्थाले छुट्टाछुट्टै आयोजना गर्ने सञ्चालक शिक्षा महँगो होटलमा गर्न लगाइन्छ । कार्यक्रमपछि उनले डिनरसहित खाममा कम्तीमा ३५ हजार लिने गरेको एउटा लघुवित्त संस्थाका अध्यक्षले त्यतिबेलै बताएका थिए ।
यस पटक भने उनी जेठानको कम्पनीले पोखरामा आयोजना गरेको दुई वटा कार्यक्रममा सहभागी भएका हुन् । पोखरामा गत शुक्रबार र शनिबार आयोजित कार्यक्रममा सहभागी भएर नेपाल आइतबारदेखि बालुवाटारमा हाजिर भएका छन् ।
दुई दिनमध्ये एक दिन लघुवित्तका अध्यक्ष तथा सञ्चालक समितिका सदस्य र अर्को दिन बागलुङको सीवाईसी नेपाल लघुवित्तका कर्मचारीको क्षमता विकाससम्बन्धी कार्यक्रम राखिएको थियो । दुबै दिन उनी प्रमुख प्रशिक्षकको भूमिकामा थिए ।
यसको निम्ति डा. आत्रेयले एक महिना अघिदेखि विभिन्न तालिम कार्यक्रमको चाँजोपाँजो मिलाएको बताइन्छ । सोही क्रममा कुश्माको नेष्डो समृद्धि लघुवित्तका प्रबन्ध निर्देशक विश्वप्रकाश प्रसाईं ठकुरीलाई एउटा तालिममा सहभागी हुन गत महिना आत्रेयले फोन गरेका थिए । उनै ठकुरीले आत्रेयलाई लघुवित्त संस्थाको विरुद्धमा कलम र मुख चलाउँदै आएका रेवती प्रशिक्षक रहने तालिममा आफू र आफ्नो संस्था सहभागी नहुने जवाफ दिएको स्रोतको भनाइ छ । रेवतीको निर्देशनमा हालै गरिएका कतिपय निर्णयविरुद्ध ठकुरीको न्यायालय गुहार्ने तयारी छ ।
गत चैतमा माइक्रोफाइनान्स एसोसिएसन अफ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा संस्थाको आम्दानी जथाभावी खर्च नगर्न, विदेश भ्रमण नगर्न र महँगो गाडी किनेर व्यक्तिगत प्रयोजनमा प्रयोगमा नल्याउन अर्ति दिएका थिए । उनी आफैँ भने ५५ लाख रुपैयाँको बैंकले खरिद गरेको हुन्डाई कम्पनीको गाडी अवकाशपछि आफ्नो नाममा नामसारी गरेर घर लैजाने क्रममा छन् ।
डेढ दशकअघि बैंक तथा वित्तीय संस्था नियमन विभागमा छँदा उनीमाथि बैंक तथा वित्तीय संस्थाहरुको प्रबन्धपत्र, नियमावली र आवश्यक कानुनी कागजात बनाउने ठेक्का र योजनामा तल्लिन हुँदै लाखौं कुम्ल्याएको आरोप लागेको थियो । अनेक बहानामा ती संस्थाको प्रबन्धपत्र आफैँले तयार पार्ने र मोटो रकम लिएको खबर तत्कालीन गभर्नर विजयनाथ भट्टराई र कायम मुकायम गभर्नर कृष्णबहादुर मानन्धरको सचिवालयसम्म लिखित उजुरी परेकोे थियो ।
चिरञ्जीवी नेपाल गभर्नर हुँदा कानुन महाशाखामा निर्देशकको जिम्मेवारीमा रहँदा उनले हलो अड्काएर गोरु चुट्ने रणनीति अख्तियार गरेका थिए । विभिन्न ‘फाइल’ लाई आम्दानीको गतिलो स्रोत बनाएको घटना बैंकका कर्मचारीहरुले अहिले पनि चर्चा गर्छन् । विशेषगरी बैंक तथा वित्तीय संस्था र विदेशी विनिमय व्यवस्थापन विभागका डलर सम्बन्धी निजी क्षेत्रका कम्पनीका फाइलमा राय दिनुअघि उनले गरेका मोलमोलाई र कमाइखाने उक्त अभियानबारे गभर्नर नेपाल ‘अनभिज्ञ’ देखिएका थिए ।
बैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यकारी निर्देशक छँदा पनि उनले ‘क’ वर्गका बैंकहरुलाई पटक पटक दबाब दिएर नोट सम्बन्धी तालिमको आयोजना गर्न लगाएका थिए । ती तालिममा आफूलाई मुख्य इन्स्ट्रक्टर बनाएर राम्रै पारिश्रमिक बुझेको भन्नेहरु बैंकिङ क्षेत्रमा बग्रेल्ती छन् ।
टिप्पणीहरू