नक्कली शरणार्थी प्रकरणमा समातिने संख्या एक दर्जन, टोपबहादुर र प्रतीक फरार (नामसहित)

नक्कली शरणार्थी प्रकरणमा समातिने संख्या एक दर्जन, टोपबहादुर र प्रतीक फरार (नामसहित)

नक्कली शरणार्थी खडा गरेर करोडौँ कुम्ल्याउने गिरोहमा संलग्न रहेको भनिएका पूर्वगृहमन्त्री तथा काँग्रेस नेता बालकृष खाँण समातिएसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ ।

प्रहरीले आज बिहान खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई नियन्त्रणमा लिएको हो । चाबहिलस्थित आफ्नै निवासबाट समातिएका खाँणलाई जिल्ला प्रहरी परिसर टेकु पुर्‍याइएको छ ।  

उच्च राजनीतिक नेतृत्वसमेत मुछिएको यो प्रकरणमा खाँणभन्दा अघिका गृहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, त्यतिबेलाका गृहसचिव (अहिले उपराष्ट्रपति कार्यालय) टेकनारायण पाण्डे र एमाले सचिव तथा प्रतिनिधिसभा सांसद टोपबहादुर रायमाझीका छोरा सन्दिप रायमाझी पक्राउ परिसकेका छन् । 

हिजोमात्रै प्रहरीले काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई पक्राउ गरेको थियो । 

त्यस्तै, ललितपुरका सानु भण्डारी, मोरङ स्थायी ठेगाना भएका केशवप्रसाद दुलाल, पाँचथर घर भएका टंककुमार गुरुङ, दाङका सन्देश शर्मा र मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई यहि प्रकरणमा समातिएका छन् । 

सर्वसाधारण नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा नाम जोडिएका एमाले सचिव रायमाझी आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि फरार छन् । त्यस्तै एमाले उपाध्यक्ष बादल-पुत्र प्रतीक थापा पनि फरार सूचीमा छन् । उनीहरुलाई प्रहरीले खोजी गरिरहेको छ ।

टिप्पणीहरू