धरानका वडाध्यक्षमाथि हमला, मेयर साम्पाङ्गले उक्साएको आरोप

धरानका वडाध्यक्षमाथि हमला, मेयर साम्पाङ्गले उक्साएको आरोप

धरान उपमहानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज)माथि भएको आक्रमणको घटनामा मेयर हर्कराज साङ्गपाङ्गमाथि शंका गरिएको छ । उपमहानगरका सबै  वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले घटनामा मेयरको संलग्नताको आशंका गरेका हुन् 

गत वैशाख २५ गते वडा कार्यालयमा टोल विकास संस्थानसंग बैठक चलिरहेको बेला नगर प्रमुख साम्पाङ्गका समर्थनहरुले हुलहुज्जत गर्दै घटना घटाईएको वडाध्यक्षहरुको आरोप छ । उनीहरुले आज विज्ञप्ति जारी गर्दै धरान स्वतन्त्रताको नाममा नगरप्रमुख र उनका समर्थकहरुले सामाजिक सञ्जालमार्फत गर्दै आएका टिप्पणी, आदेश र गैरकानुनी कार्यको पनि विरोध जनाएका छन् । 

‘आफ्ना समर्थकहरुबाट अराजक कार्य गर्न उक्साउनेलगायत नियोजित कार्यबाट वैशाख २५ गते धरान १७ का वडाध्यक्षमाथि आक्रमण भएको र धरान अशान्त बन्दै गएको हाम्रो ठहर छ’, जारी विज्ञप्तिमा भनिएको छ,‘नगरप्रमुख हर्क साम्पाङ्गले आक्रमणकारीहरुलाई संरक्षण गरेको र पीडित वडाध्यक्ष तथा सदस्यहरुलाई पटकपटक मुद्दा फिर्ता लिन दिएको दबाबले यो कुराको पुष्टि हुन्छ ।’

धरानको विकास र समृद्धिलाई मार्ग दिन कार्यपालिका बैठक बस्ने वातावरण बनिरहेको बेला यो अवस्था सिर्जना हुनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको उनीहरुको ठम्याई छ । त्यस्तै, उनीहरुले धरानमा शान्तिसुरक्षा कायम गरी जनप्रतिनिधिहरुलाई जनताको सेवा गर्न पाउने सुरक्षित वातावरण सुनिश्चिचत गर्न स्थानीय प्रशासनसँग मागसमेत गरेका छन् । 

उपप्रमुख अईन्द्रविक्रम बेघाले गत वैशाख २५ गते वडा कार्यालयमा भएको घटना अत्यन्तै खेदजनक र दुःखद भएको बताए । उनले त्यस घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् । 

साथै, उनले मेयर साम्पाङ्ग र वडाध्यक्षहरुको असमझदारीका कारण लामो समयदेखि कार्यपालिकाको बैठक बस्न नसकेको गुनासो पनि गरे । दुईपक्षीय विवादले गर्दा धरान अनिर्णयको बन्दी हुँदै गएको उनको भनाइ छ ।

एकपछि अर्को समस्या र द्धन्द्धहरु निरन्तर बढ्दै गइरहेको उल्लेख गर्दै उनले मेयर साम्पाङ्गलाई अभिभावकत्वको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै वार्ता, संवाद, सहकार्य र सहमतिको माध्यमबाट सबै खालका समस्याहरुको समाधान खोज्दै अगाडि बढ्नुपर्ने धारणा राखेका छन् ।  वडाध्यक्षहरुले राखेको मागलाई तत्काल सम्बोधन गरी तुरुन्त बैठक राख्नुपर्नेमा उपमेयरको जोड छ । 

‘विशेष गरेर वडाध्यक्षहरुले राख्नुभएका जायज मागहरुलाई सम्बोधन गरी कार्यपालिका बैठक तुरुन्त राख्न पहल गर्नुपर्ने देखिन्छ’,उनले भनेका छन्,‘समग्र धरानको विकास र समृद्धिका लागि सबै जनाको एकता र सहकार्य जरुरी रहेकोले सबैको भूमिकालाई जोड्दै हालको सहज परिस्थितिलाई व्यवस्थापन गरि निकास दिन नगरप्रमुखलाई अनुरोध गर्दछु ।’

टिप्पणीहरू