श्रीमानको कलडिटेल कसरी लग्यो सेनाले ?

श्रीमानको कलडिटेल कसरी लग्यो सेनाले ?

प्रधानसेनापति प्रभुराम शर्माले ‘बर्खास्त उपरथी प्रेम शाही’ प्रकरणलाई बहाना बनाएर शीर्ष राजनीतिज्ञ, सर्वोच्च अदालतका न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र सिनियर पत्रकार—वकिलहरूको कल डिटेल अंगीअड्डामा थन्काएको बुझिएको छ । शाही—सर्वोच्च अदालत र सैनिक मुख्यालयबीच आन्तरिक मुद्दा—मामिला चलिरहेका बेला ‘बाहिरिया व्यक्ति’हरूसँग प्रेम शाही, प्राड विवाकका महासेनानी महेन्द्रजंग शाह, प्रमुख सेनानी कुलदीप तिमिल्सिनाले बातचित गरेका थुप्रै टेलिफोन संवाद प्रधानसेनापतिले फेला पारेका छन् ।

इञ्जिनियर महासेनानी विश्वबन्धु पहाडीलाई कल डिटेलको निम्ति भरिया बनाएर दुरूपयोग गरिएको अधिकारीहरूले जनाएका छन् । प्रेम शाहीलाई बर्खास्त गरिएको, शाह र तिमिल्सिनालाई कारबाही नै गर्नुपर्ने ठोस प्रमाण नभेटिएपछि यसरी ठूलो संख्यामा कल—एसएमएस डिटेल रिपोर्ट (सीडीआर) जंगीअड्डामा झिकाइएको हो । नागरिकको गोपनीयताको हकअन्तर्गत सीडीआर गोप्य हुनुपर्छ । कुनै पनि विषयको अनुसन्धान गर्ने क्रममा प्रहरीले टेलिकमबाट कल डिटेल माग्दासमेत अदालतको अनुमति ल्याउनपर्ने आदेश दिएको सर्वोच्च अदालत यतिबेला आफै सेनाको भुंग्रोमा छ ।

का.मु. प्रधानन्यायाधीश कार्कीसहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, हरिप्रसाद फुयाल, कुमार रेग्मी, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, तिलप्रसाद श्रेष्ठ र नहकुल सुवेदीको टेलिफोन संवाद झिकाएको बताइन्छ । जंगीअड्डासामु कल डिटेल पुगेको पत्तो पाएसँगै महेन्द्र र कुलदीपको मुद्दा देख्नासाथ न्यायाधीशहरू भागाभाग हुने गरेका छन् । इञ्जिनियर पहाडीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)मा कार्यरत प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी अर्यालमार्फत् कल डिटेल निकालेको तल्लो तहका अधिकृतहरूले जनाएका छन् ।

संगीता विश्वबन्धु पहाडीकी श्रीमती र पूर्वन्यायाधीश लक्ष्मण अर्यालकी छोरी हुन् । कामु प्रधानन्यायाधीशकी छोरी वकिल एरिका कार्की, सर्वोच्चका प्रवक्ता बिमल पौडेल, वकिलहरु शम्भु थापा, माधव बस्नेतसमेत सूचीमा छन् । सेनापति र रत्नप्रकाश थापाले यसअघि सेनाको तर्फबाट प्रतिरक्षा गर्दैआएका महासेनानी महेन्द्रजंग शाहीलाईसमेत कारबाही गरेका थिए । स्रोतकाअनुसार उनलाई नै सेनाले कानुनी रूपमा उल्झिएका विवादहरू मिलाउन अघि सार्ने गरेको थियो । 
 

टिप्पणीहरू