आरजु भाउजूको विरोध गर्न खोज्दा पक्राउ

आरजु भाउजूको विरोध गर्न खोज्दा पक्राउ

मकवानपुर जागरण अभियानका संयोजक कृष्णराज कोइरालालाई प्रहरीले पक्रेको छ ।

प्रतिनिधि सभा सदस्य आरजु राणा देउवा सहभागी हुने कार्यक्रम बिथोल्ने घोषणा गरिएपछि कोइराला पक्राउ परेका हुन् । लगत्तै आफूलाई प्रहरीले गिरफ्तार गरेको भन्दै उनले जन आस्थाकर्मीलाई टेलिफोन गरी जानकारी गराएका छन् । ‘म सुपर मार्केटस्थलमा पुग्नेबित्तिकै प्रहरीले गिरफ्तार गर्यो,जिल्ला प्रहरी कार्यालय लैजाँदैछ’, कोइरालाले टेलिफोनमा भने । 

तर प्रहरीले कोइरालाको गिरफ्तारीबारे जानकारी दिएको छैन । मकवानपुरका नायब उपरिक्षक टेकबहादुर कार्कीले कोइराला पक्राउ परे नपरेकोबारे कार्यालय प्रमुख वामदेव गौतमलाई नै जानकारी भएको भन्दै पन्छिन चाहे । ‘एसपी साबलाई सोध्नुहोला’, प्रवक्ता कार्कीले टेलिफोनमा भने–‘अहिले यो जरुरी छैन ।’ 

‘बरु म तपाईंले मनोनीत गरेको उद्योग वाणिज्य संघको सदस्य नै त्यागिदिन्छु,तर त्यस्ता संदिग्ध मान्छेहरुलाई सार्वजनिक कार्यक्रममा निम्ता नगर्नुस्’, कोइरालाले अग्रवाललाई भनेका थिए ।

हेटौंडा २ स्थित जगदम्बा ग्रुपले सञ्चालनमा ल्याउन लागेको स्वदेशी सुपरमार्केट उद्घाटनका लागि सांसद राणा आज हेटौँडा आउने कार्यक्रम छ । मानव तस्करीमा नाम मुछिएकाले राणालाई कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी हुन नदिने र सकेसम्म बिथोल्ने भन्दै कोइरालाले सामाजिक सञ्जालमा आग्रह गरेका थिए ।

मकवानपुर उद्योग वाणिज्य संघ हेटौँडाका सदस्य कोइरालाले स्वदेशी सुपरमार्केटका सञ्चालक एवं  मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाललाई निर्धारित कार्यक्रममा राणालाई नल्याउन सुझाव दिएका थिए ।

 

टिप्पणीहरू