देउवा परिवारले दिएको दुःख

देउवा परिवारले दिएको दुःख

अहिलेको नक्कली भुटानी शरणार्थी प्रकरणमा चर्चामा आएका, तर ‘कनेक्सन’ प्रमाणित नहुँदा बचेका केही मानिसले फौजी संगठनमा कतिसम्म खेलोमेलो चलाएका रहेछन् भन्ने कुराको चर्चा हल्चोकतिर हुन थालेको छ । 

कपनको जग्गा बेचेर, त्यसबाट आएको पैसा बुझाएपछि एआइजीमा दरबन्दी थप्ने र रातारात बढुवा गर्ने काम भयो, बालुवाटारबाटै । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानुले देउवापत्नी आरजु र खाँण पत्नी मञ्जुसँगको मिलेमतोमा यस्ता थुप्रै खेलो चलाए । अहिले नक्कली काण्डमा आर्थिक लेनदेनको प्रमाणित तथ्य अभावका कारण आरजु उम्किँदै आएकी छन् । तर, सशस्त्रका सरुवा र बढुवामा चलाइएको पैसाको खेलोबारे भने हलचोकमा मज्जैसँग कुरा हुने गरेको छ ।

बढुवा गरिएका वंशी दाहाललाई जिम्मेवारी दिइयो, सीमा सुरक्षा हेर्ने विभागको । जतिबेला बारा, पर्सा र नवलपरासीबाट अनियमितताको आरोपमा त्यहाँका गणपति (एसपी) हरू तानिँदै थिए, वंशीचाहिँ ‘उत्कृष्ट काम गरेको’ भनी पुरस्कार थापिरहेका थिए । जबकि, उनको कमाण्डभित्र रहेका तेजेन्द्र पोखरेल पर्साबाट, राजेन्द्र थापा बाराबाट र रूपकुमार क्षेत्री पश्चिम नवलपरासीबाट करोडौं राजस्व छलीमा व्यापारीलाई सहयोग गरेको आरोपसहित रातारात तानिएका थिए । तर, त्यो कारवाही पनि देखावटीमात्रै भयो । 

रौतहटका एसपी ध्रुव कार्कीलाई उत्कृष्ट गणपति भनेर पुरस्कृत गर्ने तयारी थियो । कुरा लाउनमा माहिर ललितपुरका गणपति विकास घिमिरेलाई इन्टेलिजेन्स ब्यूरोको दोस्रो हाकिम बनाइयो । त्यस्तै अत्याचार भयो, दार्चुलाको राशनकाण्डमा मुछिएका एसपी त्रिभुवन बिष्टको हकमा । उनी दार्चुलास्थित ४४ नम्बर गणका गणपति हुँदा धेरै कर्मचारीलाई एकैचोटि बिदा छाडी राशन घोटाला भएको थियो । थापाको छानवीन टोलीले उनलाई दोषी ठहर गर्‍यो, तर कारवाहीको भागिदारचाहिँ वरिष्ठ हवल्दार नरेशसिंह साहु भए र जेल गए । त्रिभुवनलाई केही दिन हेडक्वार्टरमा राखी पछि बालुवाटारकै दबाबमा कैलालीस्थित शिक्षालय प्रमुख बनाएर पठाइयो । त्यसअघि भानु र आरजुले उनलाई दार्चुलामै राख्ने प्रयास गरेका थिए । 

त्यस्तै व्यक्ति हेरेर दरबन्दी खडा गरिँदा थुप्रै अफिसर मारमा परे । भेटी बुझाउने अधिकृतलाई पोस्नका लागि लेखा समूह खडा गरियो । सशस्त्रको सिसं ३ मा भर्ना भएका इन्स्पेक्टरहरू अहिलेसम्म डिएसपी नै छन्, तर एकजनालाई एसएसपी बनाइयो । सिसं १ का सबै डिआइजी भए । तर, सिसं ३ का इन्स्पेक्टरहरू १८–१९ वर्षदेखि डिएसपीमै थन्किँदा होम ज्ञवाली एक्लै एसएसपी बनाइए । त्यही बेला एकाउण्टेण्टका लागि विभिन्न बाहिनीमा डिएसपी दरबन्दी सिर्जना गरेर गणेश मल्लहरूलाई फुलि थपियो । भानुका बहिनी ज्वाइँ दीपेन्द्र कुँवर इन्स्पेक्टरबाट डिएसपी हुँदा ७० नम्बरमा, डिएसपीबाट एसपी बनाउँदा ११, त्यसबाट एसएसपी बनाउँदा १ नम्बरमा ल्याउने काम भयो । त्यसका लागि चार वर्षमा मात्रै बढुवा हुने व्यवस्था नै परिवर्तन गरेर तीन वर्षे बनाइयो । त्यो नहुँदासम्म आइजी राजु अर्याललाई टोपी फुकालेर हिँड्नुपर्ने बाध्यता थियो । 

(जनआस्था साप्ताहिकबाट साभार)

टिप्पणीहरू