सगरमाथाको काण्डबारे थाहा छ सरकार !
वैशाख १० गते अमेरिकी नागरिक ड्यारेन जोन सगरमाथाको तेस्रो शिविरबाट प्याराग्लाइडिङ गरेर आधार शिविरमा झरे । सेभेन समिट ट्रेक्समार्फत सगरमाथा आरोहणको अनुमति प्राप्त उनीसँग प्याराग्लाइडिङको भने अनुमति थिएन ।
कानुनअनुसार आरोहीले प्याराग्लाइडिङ गर्न चाहे आरोहणबाहेक थप ११ हजार डलर रोयल्टी तिरेर अनुमति लिनुपर्छ । नलिए अवैध कार्य हुने भएकाले कारबाहीयोग्य हुन्छ । तर, आरोहीका गतिविधि अनुगमन गरेर नियम–कानुन उल्लंघन गरेको पाइएमा कारबाही गर्ने र आरोहण व्यवस्थापनको जिम्मेवारीप्राप्त सम्पर्क अधिकृत आधार शिविरमा नहुँदा विदेशीले गरेको मनपरी रोक्ने कोही भएनन् ।
सेभेन समिट ट्रेक्स कम्पनीको सम्पर्क अधिकृत तोकिएका डिजन भट्टराई (उपसचिव) भने त्यतिखेर आधार शिविरमा थिएनन् । सम्पर्क अधिकृत नभएपछि नै अमेरिकी नागरिकले आधार शिविरमा बितण्डा मच्चाएको अधिकारीहरू बताउँछन् । शिविरबाट झरेलगत्तै ड्यारेनले ‘गिभ मी बियर’ भन्दै हो–हल्ला गरेका थिए । हिमाल सफाइ अभियानका लागि आधार शिविर पुगेको नेपाली सेनाले उनको प्याराग्लाइडिङ गियर जफत गर्यो । स्रोतका अनुसार उनीहरूले नै पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेललाई ‘ड्यारेनको रवैया’बारे जानकारी गराएका थिए । त्योबेला सम्पर्क अधिकृत तोकिएका उपसचिव भट्टराई आरोहण दल र विभागका महानिर्देशकको सम्पर्कमै थिएनन् ।
विभागले सो आरोहण दलको लागि भनेर पर्यटनमन्त्री सुदन किराँतीको स्वकीय सचिव रहेका भट्टराईलाई सम्पर्क अधिकृत नियुक्त गरेको थियो । सम्पर्क अधिकृत भएबापत २५ सय डलरसमेत बुझिसकेका थिए । तर, डलर बुझेर पनि आधार शिविर पुगेर खटाएको काम गरेनन् । अनुमतिबेगर प्याराग्लाइडिङ गरेका विदेशी नागरिक ड्यारेनलाई पर्यटन मन्त्रालयले सगरमाथा आरोहणको लागि लिएको परमिट रद्द गरेर तत्कालै अमेरिका पठाइदिने बताएको थियो । तर भट्टराईले विभागलाई त्यस्तो कुनै कठोर निर्णय लिन दिएनन् । पर्यटनमन्त्रीलाई समेत प्रभावमा पारे । मन्त्रीको दबाबपछि ड्यारेनलाई तत्काल डिपोर्ट गर्ने बताउँदैआएको विभाग आफ्नो अडानबाट पछि हट्यो । पर्यटन विभागका निर्देशक युवराज खतिवडाले अहिले आएर फेरि अर्को परमिट जारी गरेर सगरमाथा आरोहणको अनुमति दिइएको बताएका छन् ।
विगतमा आरोहीले अवैध गतिविधि गरेमा आरोहण रद्द गरेर नेपालबाट निकाला गरिदिएको विभागका पूर्वकर्मचारी बताउँछन् । त्यस्तो अवस्थामा आरोहण कम्पनीलाई पनि ठूलो जरिवाना गर्नेुपर्ने कानुनी व्यवस्था छ । ‘यो घटनालाई राम्रोसँग नियालिरहेका छौँ । कानुनले नगर भनेको काम गर्ने व्यक्ति र कम्पनीलाई सामान्य चेतावनीले मात्र पुग्दैन । तर, यहाँ जे गरेपनि हुन्छ भन्ने मनोविज्ञान हावी भएजस्तो देखिन्छ,’ विभागका एक अधिकारीले भने, ‘हामीकहाँ कम्पनीबाट आर्थिक लाभ लिने, स्थलगत रिपोर्टिङ नगर्ने, मन्त्रीको सचिवालयको मान्छे हुँ भन्दै फूर्तिफार्ती देखाउने, कम्पनीकै हेलिकप्टर चढेर आधार शिविर पुगेजस्तो गर्ने, आधार शिविरबाट मोडलिङ गरेर फर्किनेजस्ता गलत प्रवृत्ति पनि छन् ।’
वैशाख १० गते ड्यारेनले अनुमतिबिना प्याराग्लाइडिङ गरेको दुई दिनपछि सम्पर्क अधिकृत भट्टराई आधार शिविर पुगेर फर्किएको पर्यटन विभागका अधिकारी खतिवडाले दाबी गरेका छन् । तर विभागकै अर्का अधिकारी भन्छन्, ‘खतिवडाको दाबी गलत छ । सायद उहाँलाई डर लाग्यो होला, डिजनजी नाम्चेभन्दा माथि उक्लिएका छैनन् । उनी तीन–चार दिन नाम्चेमै बसे । विभागले कसरी भन्न सक्छ सम्पर्क अधिकृतले फिल्डमै गएर रिपोर्टिङ गरे भनेर?’
आधार शिविर नपुगी नाम्चेबाटै फर्किएका भट्टराईले ड्यारेन र एजेन्सी सेभेन समिटबारे मौखिक टिप्पणी गरेपनि हालसम्म विभागमा प्रतिवेदन बुझाएका छैनन् । उनले मौखिक बयान दिएकै भरमा पर्यटन मन्त्रालयले सेभेन समिटलाई एउटा सामान्य सचेत पत्र थमाएको छ । स्रोतकाअनुसार टीम लिडरलाई पनि सचेत गराइएको छ । ‘सम्पर्क अधिकृतजस्तो व्यक्तिले गैरजिम्मेवार काम गर्न मिल्दैन, त्योपनि मन्त्रीको आडमा । हेलिकप्टर चढेर सोलु पुगे तर मोडलिङ गरेर फर्के । योभन्दा लाजमर्दो हर्कत के हुन्छ !,’ पर्यटन विभागकै अधिकृतले भने, ‘नामको मात्रै छानबिन समिति बन्यो । गहिरिएर अनुसन्धानसमेत गरेनन् । आधार शिविरमा पनि पुगेनन् ।’
सम्पर्क अधिकृत आधार शिविर नगएको भेटिएमा पर्यटन ऐन, २०३५ को दफा २० र पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम ९ बमोजिम कारबाही गरिनेछ । विभागलाई खटाएको स्थानमा पुगेको कागजात, फोटो, भिडियो बुझाउनुपर्छ भनिएको छ । अघिल्लो पटक आधार शिविर नपुगेका १५ जना सम्पर्क अधिकृतलाई विभागले कारबाही गरेकोसमेत उनले जनाएका छन् ।
अमेरिकी नागरिक ड्यारेनले प्याराग्लाइडिङ गरेलगत्तै आफूले नै सेनाको सहयोगमा विभागलाई त्यो सूचना दिएको सम्पर्क अधिकृत भट्टराईको दाबी छ । ‘सबै मन्त्रालय र नेपाली सेनाको टीम बेस क्याम्पमा बसिरहेको छ । हामीहरू नियमित सम्पर्कमै थियौँ,’ उनले भने, ‘सेनाको कर्णेलले ड्यारेन जोनले प्याराग्लाइडिङ गरेको जानकारी दिनुभयो । त्यो मान्छे, मैले हेरिरहेको समूहको एक जना सदस्य रहेछ ।’ ड्यारेनले अनुमति बेगर प्याराग्लाइडिङ गरेको खबर सुन्दा आफू काठमाडौँमै भएको उनले बताएका छन् । ‘म शिविर पुगेको हुँ । विभागमा रिपोर्टिङ गर्नेछु ।
मानिसहरूले बाटाबाटामा जे–पनि भन्छन् । सत्य कुरा त आफैलाई थाहा हुन्छ,’ भट्टराईले भने, ‘आधार शिविरमा धेरै बसिन । एकडेढ घण्टा बसें । नाम्चेमा एक डेढ दिन बसें, अनि हेलिकप्टरबाट आधार शिविर गएँ ।’ सगरमाथा आरोहणको सिजन चलिरहेको बेला पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेललाई सरुवा गरेर माओवादीनिकट चक्रबहादुर बुढालाई भन्सारबाट ल्याइएको छ ।
तर उनले महानिर्देशक सरुवामा आफनो भूमिका नभएको दाबी गरेका छन् । यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि झण्डै पाँचसय जतिले अनुमति लिएका छन् । प्रत्येक समूहका लागि एकजना सम्पर्क अधिकृत तोकिएको भएपनि हालसम्म तीन जनाले मात्रै उता बसेर काम गरिरहेका छन् ।
(जनआस्था साप्ताहिकबाट साभार)
टिप्पणीहरू