एमाले बैठकका अन्तरंग खबर

एमाले बैठकका अन्तरंग खबर

‘बा’ भन्ने, फोटो खिच्दै अघिपछि लाग्ने, गुरुरु मोटरसाइकलले एस्कर्टिङ गर्ने– कमरेड केपी शर्मा ओलीका हकमा अब यस्ता दृश्य देख्न छाडिएको छ ।

एमाले नेताहरू भन्छन्, ‘अहिले उहाँ डालो बोकेर ठिमीको उकालो लाग्नुभएको छ ।’ अर्थात्, पुरानो रौनक न उहाँमा छ, न पार्टीका बैठक र भेलाहरूमा नै । भर्खरै सम्पन्न केन्द्रीय कमिटीको पाँचौं बैठकमा राजनीतिक प्रतिवेदनउपर खासै छलफल भएन, तर पारित भएको घोषणा गरियो । प्रतिवेदनमाथि छलफल गराउनै नचाहेको नेताहरूले बताएका छन् । प्रदीप ज्ञवालीले तयार पारेको उक्त प्रतिवेदनमा भाषा पनि औपचारिक छैनन्, खेस्रा गरिएका कुरा मात्र छन् । बैठकमा पार्टीका आगामी कार्यभारको लागि छलफलका बुँदा भनेर १४ वटा बुँदा वितरण गरिएको थियो ।

कतिसम्म सतही भने, ‘भ्रष्टाचार नियन्त्रण कसरी गर्ने ?’ भन्ने प्रश्न त्यसमा छ । तर, नियन्त्रणका विधि र व्यवस्थाबारे पुरै मौन । जनसंगठनलाई कसरी प्रभावकारी बनाउने भनेर टालटुले कुरा राखियो त्यो पनि सबैसँग सुझाव मागेका थियौं भन्ने पार्नलाई । भ्रष्टाचार नियन्त्रण कसरी गर्ने भन्दा नगर्नेजस्ता हास्यास्दप कुरा त्यहीं लेखिएको थियो । कुन जनसंगठन किन चाहिन्छ ? भन्ने कुराको व्याख्या छैन ।

आज विद्यार्थी संगठनमा काम गर्ने मान्छे भोलि गाडी चढ्ने, दिनभरि हिमालयन जाभामा कफी पिउने र राति एलओडी क्लबमा नाचेर हिँड्ने जमातका रूपमा उत्पादन भइरहेको छ । यस्तो किन हुँदैछ भनेर छलफल गर्ने फुर्सद केन्द्रीय कमिटीको बैठकलाई पनि छैन । कुरा त उठे, ‘अर्को पार्टीको अध्यक्षलाई किन सांसद बनाइयो ? भ्रष्टाचारमा मुछिएका टोपबहादुरको पक्षमा किन बोलियो ?’ एउटा समूहमा चर्चा चल्यो, ‘दुर्गा प्रसाईंलाई किन केन्द्रीय कमिटीमा ल्याएको ? उनलाई नेता बनाउनेहरूले अब आत्मालोचना गर्ने कि नगर्ने ?’ अर्का नेताको प्रश्न थियो, ‘वरिष्ठ उपाध्यक्षले निर्वाचन आयोगको गाडी चढ्नुभयो भनेर समाचार आएको छ । त्यसको सत्यतथ्य के हो ? जनतालाई के जवाफ दिने ?’ 

तर, समूहमा उठेका यस्ता विषय बैठकभित्र छिर्न पाएन । किनभने, छलफलका निश्कर्ष सुनाउने टिम लिडर समूहले छान्न पाएन, पहिल्यै तोकिएको थियो । उपाध्यक्ष सुरेन्द्र पाण्डे बागमतीका टिम लिडर थिए । उनले पार्टी आज जसरी चलिरहेको छ, यसरी अब चल्दैन भने । तर, उनले बोलेको कुरा ओलीले सुन्ने कि नसुन्ने ? यस्तो प्रश्न उठ्ने गरेको छ । उनले भनेका थिए, ‘एमाले सच्चिने कि सक्किने भन्ने मुख्य प्रश्न हो । सच्चिने छाँट देखिँदैन ।’ कुराअनुसार उनी अब पनि ओलीकै पक्षमा लाग्ने बुझिँदैन थियो । 

समूहमा बूढा नेता केशव बडालले पनि टोपबहादुरको सन्दर्भमा अध्यक्षको मोह असामान्य देखियो भन्दै आलोचना गरे । उनले भने, ‘राजनीतिक प्रतिवेदन गम्भीर आएन । दुर्गा प्रसाईंलाई किन पार्टीमा ल्याएको ?’ बडालले ‘यसरी अगाडि बढेर एमालेले निकास दिँदैन’ भने । ओलीकै मान्छेमध्ये खरो बोल्नेमा थिए, गोकुल बाँस्कोटा । उनैले हो, संघीयता खारेज गर्नुपर्छ भनेको । तर, त्योबाहकेका कुरा भने ‘राम्रै’ बोले । अब जनसंगठनका कमिटी बनाउने नाममा सयौंको भीड जम्मा पार्नुभन्दा काम निकाल्नसक्ने चुस्त र दुरुस्त हुनुपर्ने कुरा उठाए । ‘पार्टी र संगठनको जिम्मेवारीमा बसेकै मान्छेले पार्टीलाई भोट हालिरहेका छैनन् । हामीले आफ्नै पार्टी चलाउन नसकेपछि कसरी राजनीति चल्छ ?’ बैठकमा प्रचण्डको सरकारलाई समर्थन गर्नु गल्ती थियो भनेर कुरा उठेको छ । 

नेता भीम रावललाई फिर्ता ल्याउन उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा अलग्गै वार्ता टोली बनाइएको थियो । तर, केन्द्रीय कमिटीको बैठकमा सुदूरपश्चिमकै टोलीले ‘उहाँको भूमिका हेरेर निर्णय लिने’ भन्दै सकेसम्म पार्टीमा भिœयाउन नहुने कुरा राखेको छ ।

(जनआस्था साप्ताहिकबाट साभार)

टिप्पणीहरू