सर्वाेच्चको श्रीमान् बन्न क–कसको सरगर्मी ?
प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस भएको साता पनि नबित्दै सर्वाेच्च अदालतमा रिक्त चार न्यायाधीश पदमध्ये महान्यायाधिवक्ता दिनमणि पोखरेल र बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको चर्काे दौडधुप शुरु भएको बताइएको छ ।
महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकार भएकाले प्रधानमन्त्रीको कोटाबाट उनले सर्वाेच्च अदालतका लागि आफ्नो दावी कसैगरी नछाड्ने अडान लिँदै आएका छन् भने नेपाल बार अध्यक्ष गोपालकृष्ण घिमिरे पनि कम्मर कसेर लागेको स्रोतको दाबी छ ।
अध्यक्ष घिमिरे शेरबहादुर देउवानिकट वकिल भएकाले उनले कांग्रेस कोटाबाट यसपटक सर्वाेच्चमा नियुक्तिको मेसो मिलाइसकेको कतिपयले बताए । केहीले भने देशैभरका बीस हजार वकिलको मत लत्याएर अहिले सर्वाेच्चमा नियुक्ति लिनु उचित नहुने सुझाएका छन् । एमालेको कोटाबाट भने अध्यक्ष केपी शर्मा ओलीनिकट रमेश बडाल सर्वाेच्च अदालतमा जान तम्सिएका छन् ।
आगामी ४ महिनाभित्र सर्वाेच्चमा थप तीन पद खाली हुने भएकाले त्यहाँ जानेहरूको दौडधुप शुरु भइसकेको बताइन्छ । पहिल्यै सिफारिस भएका व्यक्तिले नै कार्यभार सम्हालेको अवस्थामा पनि नया“ नियुक्तिले तीन महिनाभन्दा बढी समय कुर्नुपर्ने छैन ।
उच्च अदालतहरूमा समेत चार दर्जन पद खाली छन् तर कायममुकायम प्रधानन्यायाधीश कार्कीले आफू कन्फर्म नभएसम्म ठूला निर्णय नगर्ने अडान लिएका कारण उनको कार्यकालमा कुनै नियुक्ति हुन नसकेका हुन् ।
कार्कीले साउन १९ मा अवकाश पाउने भएकाले सोअघि आफैँले तयार गरेको विकृतिविहीन न्यायपालिकासम्बन्धी प्रतिवेदन कार्यान्वयनबाट न्यायालयमा सुधारका अन्य काम अघि बढ्न सकेका छैनन् ।
(जनआस्था साप्ताहिकबाट साभार)
टिप्पणीहरू