विदेशी शहर घुम्न मात्र खोज्ने नेताहरू अनि नाजवाफ
– डा. नवराज रोस्यारा (उपसंयोजक, गैरआवासीय नेपाली संघ युरोप)
गैरआवासीय नेपाली संघको युरोपस्तरीय क्षेत्रीय भेला युरोपको मुख्य पर्यटकीय शहर चेक रिपब्लिकको प्रागमा सम्पन्न भएको छ । भेलामा नेपाल सरकारका परराष्ट्रमन्त्री, प्रमुख चार राजनीतिक पार्टीका केन्द्रीय प्रतिनिधिसहित विभिन्न अतिथि गैरआवासीय नेपाली संघका प्रतिनिधि, पर्यवेक्षक र पत्रकार सहभागी थिए । नेपाली कांग्रेसबाट सचेतक रमेश लेखक, एमालेका तर्फबाट सुवास नेम्वाङ, माओवादीका तर्फबाट खिमलाल देवकोटा र स्वतन्त्र पार्टीको तर्फबाट मनीष झा उपस्थित थिए । सबैले व्यक्तिगत रूपमा भेलाका लागि गरेको लगानीसमेत जोड्दा आधा मिलियनभन्दा बढी युरो यो सम्मेलनमा खर्च हुने गर्छ । तर, खर्च गरेअनुसार प्रतिफल मिल्छ कि मिल्दैन ? भनेर प्रश्न धेरैले सोध्ने गर्छन् । म भन्ने गर्दछुः सधैँभरि प्रतिफल सोचेजस्तो नमिले पनि अभियानको निरन्तरताका लागि हामीले यो भेला वर्षैपिच्छे गर्ने गरेका छाैँ । स्पोन्सर र प्रवेश शुल्कबाट उठाइएको रकमबाटै सबै राजनीतिक नेताहरूको टिकट र बसोवासको व्यवस्था गरिएको थियो ।
कार्यक्रमकै बीच नेताहरूले प्राग शहर घुम्ने योजना बनाए । तर, खाना खाँदै गर्दा सबै नेतासँग कड्किएर बेल्जियम बाट आएकी एक युवा महिला प्रतिनिधिले आफ्नो आक्रोश यसरी पोखिन् । तपाईंहरू हामीबाट उठाएको पैसाले यहाँ आउने, यहाँ आएर कार्यक्रममा बसेर हाम्रा समस्या नसुन्ने, शहर घुम्न मात्र खोज्ने ?’ देशभित्र भ्रष्टाचार र बेथिति मौलाउनु र युवा बिदेसिनुपर्ने बाध्यताको मुख्य कारक मुख्य राजनीतिक पार्टी नै हुन् भन्ने सोचाइ विदेशमा पनि व्याप्त छ । नेपालमा मात्र होइन, विदेशमा पनि युवा गैरआवासीय नेपालीलाई आफ्नो भ¥याङ बनाएको, गैरआवासीय नेपाली अभियानमा राजनीति छिराएर भताभुंग पारेको आरोप राजनीतिक पार्टीलाई लाग्ने गरेको छ । त्यसैले प्रायः सहभागीहरूको आक्रोश पनि मुख्य राजनीतिक दलसँगै थियो ।
उपलब्धिबारे कुरा गर्दा गैरआवासीय नेपाली अभियान नितान्त राष्ट्रप्रतिको माया र विदेशमा आर्जन आर्जित सीप तथा ज्ञान नेपाल भित्र्याउने उद्देश्यसहितको भावनामा आधारित भएकाले यो अभियानमा राजनीति घुसाउन खोज्नु देशप्रतिको गद्दारी हो भन्ने कुरा चार मुख्य राजनीतिक पार्टीका प्रतिनिधिलाई बुझाउन सक्नुलाई नै यो भेलाको पहिलो उपलब्धिको रूपमा लिन सकिन्छ ।
तिनकाे व्यवहारले एउटै कुरा भन्छः सबैलाई नियमले बाँध्नुपर्छ तर मलाई भने छाडा गोरूजस्तै खुला छाडिदिनुपर्छ ।
त्यस्तै, गैरआवासीय नेपाली नागरिकताको विषयमा छलफल चली सबैबीच यसको आवश्यकताप्रति समान धारणा बन्नुलाई दोस्रो उपलब्धिको रूपमा लिन सकिएला । गन्दै जाँदा यस्ता अन्य थुप्रै उपलब्धिको लिस्ट बनाउन सकिन्छ । तर, आयोजकहरूबीच फरक राजनीतिक आस्थाकै कारण स–साना कुरामा देखिएको मतभेद र ईष्र्या अनि त्यसैका कारण गैरआवासीय नेपालीबीच एकताको भावनामा पैदा गरेको सन्देहले भने मनमा ठूलो त्रासदी फैलाइदिएको छ ।
गैरआवासीय नेपालीबीच साझा मुद्दा धेरै छन् । देश एउटै, साथीभाइ–आमा–बुवा र समाजबाट टाढा भएर परदेशी हुनुको असैह्य पीडा पनि एउटै । देश समृद्ध बनोस् र हामीले भोग्नुपरेको पीडा पछिल्लो पिँढीले भोग्नु नपरोस् भनेर सबैले कामना गरिरहेका हुन्छाैँ । त्यसै कारण पनि हमी भावनामा आधारित भएर चलेको एउटै संस्था गैरआवासीय नेपाली संघमा आबद्ध छौँ ।
भेला, कार्यक्रम वा गोष्ठी गर्दा कम्युनिष्टको हातमा माइक परे खोजी–खोजी कम्युनिष्टलाई मात्र स्थान दिने । कांग्रेसको हात माथि परे चारतारेलाई मात्र मञ्चमा बोल्न लगाउने । मञ्चमा बोलेर मात्र ठूलो भइन्न भन्ने सबैले बुझेको छ । तर, हामी आफूलाइ सच्याउन रत्तिभर पनि तयार छैनाैँ । कांग्रेस र कम्युनिष्ट दुवैतिर जताततै भ्रष्ट मौलाएर मातृभूमिलाई खोक्रो पारिरहेका छन् भन्ने पनि थाहा छ । तैपनि, हामीले आफ्नो आङको भैँसी नदेखेर फरक आस्थाको आङमा जुम्रा खोजिरहेका हुन्छाैँ । नेपालको संविधान र कानुनले समेत गैरआवासीय नेपालीलाई राजनीतिक अधिकार दिएको छैन । तर, प्रयोग गर्न आफूसँग नभएको त्यही राजनीतिक आस्थाका आधारमा आपसमा विग्रह ल्याइरहेका छाैँ । र, सबै नेपाल आमाका सन्तान भएको यथार्थतालाई कुल्चिरहेका छौँ ।
हामी सबैलाई थाहा छ, संस्था सिष्टममा छल्नुपर्छ । नियम सबैका लागि बराबर लागू हुनुपर्छ । तर, हामी सबैको व्यवहारले एउटै कुरा भन्छः सबैलाई नियमले बाँध्नुपर्छ तर मलाई भने छाडा गोरूजस्तै खुला छाडिदिनुपर्छ । सत्ताको भोक मेटाउन नेपालमा नेताहरूले जुन व्यवहार र हत्कण्ठा अपनाइरहेका छन्, त्यही व्यवहार हामीले पनि विदेशमा रहेका नेपालीको नेतृत्व गर्ने क्रममा देखाइरहेका छौँ । नातावाद, कृपावाद र राजनीतिक आस्थाका आधारमा हुने मतभेदकै कारण नेपालमा राजनीतिक पार्टी विघटनको संघारमा पुगेका छन् । त्यसैले मलाई त्रास छ, कतै गैरआवासीय नेपाली संघ पनि राजनीतिकै शिकार भएर छिन्नभिन्न त हुने होइन ?
स्वाभाविक रूपमा राजनीतिक पार्टीसँग गैरआवासीय नेपालीको सम्बन्ध शत्रुतापूर्ण हुनै सक्दैन । सबै राजनीतिक पार्टी राष्ट्रिय सम्पत्ति हुन्, नेपालको समृद्धिका माध्यम हुन् र देश विकासमा हातेमालो गर्नेहरूका सहयात्री पनि हुन् । यसैले गैरआवासीय नेपालीले नेपालका सबै राजनीतिक पार्टीसँग नजिकको सम्बन्ध बनाएर सहकार्य गर्नुपर्छ । गैरआवासीय नेपालीका भेला–बैठकमा छलफलका लागि नेपाली राजनीतिक पार्टीका नेतालाई नियमित आमन्त्रण पनि गर्नुपर्छ । तर, त्यस्तो आमन्त्रण संस्थागत र नियमसंगत दुवै हुनुपर्छ । अनि राजनीतिक पार्टीसँग हुने छलफल देश विकास र समुदायको सामूहिक हितका लागि हुनुपर्छ । नकि कुनै एक राजनीतिक पार्टी विशेषको प्रभाव विस्तारका लागि । देशभक्ति र राष्ट्रप्रतिको माया सबैको एउटै हुन्छ तर, राजनीतिक पार्टी भने फरक–फरक हुन सक्छ । भावनामा आधारित भएर चलेको संस्थामा राजनीति मिसाउँदा त्यसले संस्थामा विग्रह पैदा गर्छ ।
त्यसैले संस्थामा राजनीति गन्ध छिराएर राष्ट्रिय एकताको भावनामा चोट पु¥याउने र यसका अभियन्तालाई छिन्नभिन्न बनाउने प्रवृत्ति गैरआवासीय नेपालीको साझा शत्रु हो । यसले हामी कसैको हित गर्दैन र हामीलाई देश निर्माणमा एकजुट हुनमा बाधा पु¥याइरहेको छ । यसपालिको अक्टोबरमा फेरि गैरआवासीय नेपाली संघको निर्वाचन र सम्मेलन काठमाडाैँमा हुँदै छ । यो निर्वाचनमा कसलाई अभियानमा जिम्मेवारी दिएर अग्रपंक्तिमा राख्ने र कसलाई सहयोगीको भूमिकामा राख्ने भन्ने अधिकार सबै गैरआवासीय नेपालीको हातमा छ । राम्रा र सक्षम व्यक्तिलाई जिम्मेवारी दिइए संस्था स्वस्थ भइरहने र भेला बैठक पनि निष्पक्ष ढंगबाट अनुशासित र मर्यादित ढंगबाट चल्नेछन् अनि गैरआवासीय नेपाली अभियान पनि गौरव गर्नलायक बन्नेछ । त्यसैले यसपालि सम्पन्न हुन गइरहेका गैरआवासीय नेपाली संघका भेला, सम्मेलन र निर्वाचनको माध्यमबाट स्वयं हामीभित्र हुर्किरहेको हाम्रो यसै शत्रुलाई परास्त गरौँ । आमगैरआवासीय नेपालीको मुख्य भूमिका मैले यसैमा देखेको छु ।
टिप्पणीहरू