‘भैगो छाड्दिनोस् यार, दुनियाँले सबै देखेकै छन्’

बियर खाँदाखाँदै तेस्रोलिंगीको कोठामा पु¥याइएका टोपबहादुरले जब मास्क लगाउन मानेनन् र प्रहरीलाई भने,

‘भैगो छाड्दिनोस् यार, दुनियाँले सबै देखेकै छन्’

प्रहरीले सोध्यो, ‘सर, मास्क लगाउने हो कि ?’ उनले जवाफ दिए, ‘भैगो, छाडिदिनुस् यार । दुनियाँले सबै देखेकै छन् !’

जसरी नक्कली भुटानी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका आरोपितले मुखमा मास्क लगाउँदै गिरफ्तारी र बयान दिइरहेका छन्, त्यही मुद्दाका प्रतिवादी एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले भने त्यस्तो गर्न चाहेनन् । उनले मास्कबिना नै गिरफ्तारी दिए र त्यसरी नै सरकारी वकिलकहाँ पुगे । अपराधबोध हुनुपर्ने त कहाँ–कहाँ, उल्टै ठूलै कीर्ति राखेजस्तो मुस्कानसहित अदालत प्राङ्गणबाट रमितेहरूलाई लालसलाम फर्काए । समातिएलगत्तै प्रहरीले सोह्रखुट्टेस्थित वृत्तको हिरासतमा राखेको छ । उनले खाट भएको ओछ्यानमा सुत्ने इच्छा राखेपछि प्रहरीले एक तलामाथि तेस्रोलिंगीलाई थुन्ने हिरासतमा व्यवस्थापन गरिदिएको छ । 

आइतबार राति काठमाडौं प्रहरी परिसर र नक्सालस्थित विशेष व्युरोको टोलीले उनलाई बूढानीलकण्ठ, पासिकोटस्थित नारायण पौडेलको घरमा भेट्दा मासु र बियर खाइरहेका थिए । सादा पोशाकमा रहेका प्रहरीले घरको मुनिबाटै सोधे, ‘मान्यज्यू, हामी आयौं !’ त्यहीं रहेका अरु मान्छेहरू छक्क परे । किनभने, घरधनी नारायण माननीय नभई एक सामान्य राजनीतिक कार्यकर्तामात्र हुन् । उनीहरूलाई टोपबहादुर त्यहाँ आएको र बसेको थाहा थिएन । त्यसपछि माथिल्लो तलाबाट घरधनी नारायणले सोधे, ‘कसलाई खोज्नुभयो ? के कामले आउनुभयो ?’ उनीहरूले आफूहरू प्रहरी भएको र टोपबहादुर त्यही घरमा भएको निश्कर्षपछि आएको बताए । अब भने नारायण केही बोल्न सक्ने स्थितिमै रहेनन् । ‘सर (टोपबहादुर) लाई तलै पठाइदिनुस्’, प्रहरीले भने । ‘हैन, यहाँ त...’ भनेर टार्न खोज्दै थिए एकजना इन्स्पेक्टरले भने, ‘हैन र सैन नभन्नुस्, सरलाई कि ह्याण्डओभर गर्नुस्, नत्र हामी माथि आएरै लान्छौं !’ त्यसपछि बोली लर्बराएका टोपबहादुरलाई प्रहरीले उनी भएकै ठाउँमा पुगेर नियन्त्रणमा लिन खोज्दै थियो, उनले सोधे, ‘आफैं आउँछु भन्न पनि पाइन्छ होला नि ?’ इन्स्पेक्टरले भने, ‘पाइन्थ्यो नि हजुर, शुरुमै आएको भए । भागेपछि त बाँधेर लानुपर्छ ।’ त्यहाँबाट विशेष व्युरोको टोलीले सीधै आइजी बसन्त कुँवरसहित किलो वन दानबहादुर कार्कीलाई रिपोर्ट ग¥यो र आदेश पाएपछि जिल्ला प्रहरी परिसरमा लगेर बुझाइदियो । परिसरले वीर अस्पतालमा स्वास्थ्य परीक्षण गर्न लैजाँदा शुरुमै भने, ‘थोरै बियर लिएको छु ।’ एकजना स्वास्थ्यकर्मीले नाक थुनेर हाँस्दै भने, ‘हो, थोरै नै रहेछ !’

टोपबहादुर त्यसैदिन धादिङको गल्छीबाट नुवाकोटतिर लागेको तर बिदुर बजार नछिरी ककनीतिर मोडिएको प्राविधिक अनुसन्धानबाट खुलेको थियो । उनी काठमाडौंको बालाजुबाट भित्रभित्रैको बाटो हुँदै पासिकोट पुगेको भेटिएपछि प्रहरीले त्यहाँस्थित सम्भावित ठाउँको खोजी ग¥यो । साँझ पर्नुअघि नै शंकास्पद ठाउँमा दुई जना सादा पोशाकका प्रहरीले निगरानी गरिरहेका थिए । त्यहीँ नै हो भन्ने ठहर भएपछि हेडक्वार्टरको टोली पुगेको थियो । उनलाई आश्रय दिने नारायण पुराना सहयोगी र राजनीतिक कार्यकर्ता हुन् । टोपबहादुर जता गयो, त्यतै हुने क्रममा अहिले उनी पनि एमालेतिरै छन् ।

पक्राउ गरेर टेकु पु¥याइएका उनले पुग्नासाथ पूर्वगृहमन्त्री बालकृष्ण खाँणको सोधखोज गरे । ‘उहाँ कता हुनुहुन्छ, त्यतै भए राम्रो हुन्थ्यो’, उनले खाँणसँगै बस्ने इच्छा गरेपछि प्रहरीले भने, ‘त्यस्तो त मिल्दैन सर ।’ त्यसपछि उनी सोह्रखुट्टेस्थित प्रहरी बृत्त लगिए । त्यहाँ उनका छोरा सन्दिप पनि छन् । सन्दिपचाहिँ सामान्य हिरासतमा छन्, टोपबहादुरलाई तेस्रो लिंगीलाई थुन्ने ठाउँमा व्यवस्थापन गरिएको छ । उनी दिल्लीमा तीन–चार दिन बसेर आएको प्रहरीले बताएका छन् । भारतमा राख्ने स्थिति नभएपछि त्यहीँबाट उनलाई मनोवैज्ञानिक दबाब दिइएको अनुसन्धानमा संलग्न विशेष ब्युरोका एक अधिकारी बताउँछन् ।

नेपालीलाई नक्कली भुटानी नागरिक बनाई युरोप र अमेरिका पठाउने गिरोहमा संलग्न यी ‘हाइप्रोफाइल क्रिमिनल’ बारे प्रहरी कोट्याउँदै–कोट्याउँदै प्रहरी घटनाको जरासम्म पुग्न खोज्दैछ । तर, सरकारी वकिल भने मुद्दा पेश गर्ने समयसीमा तोक्दै अनुसन्धान फितलो बनाउने प्रयासमा देखिएको गुनासो छ । जिल्ला सरकारी वकिल कार्यालयका हाकिम अच्युत न्यौपानेले ‘१० दिन, ५ दिन’ भन्दै अत्याइरहेका छन् । अचम्म के छ भने, यो मुद्दामा एमालेका नेताहरूलाई सबभन्दा बढी चासो छ । किनभने, अहिलेसम्म एमाले नेता टोपबहादुरसहित उनका र बादलका छोरा आरोपित भइसकेका छन् । अरु पनि पर्ने खतरा विद्यमान बताइन्छ । त्यसैले जिल्ला सरकारी वकिल कार्यालयको चासो र शैली अस्वाभाविक रूपमा प्रकट भएको छ । सरकारी वकिल महान्यायाधिवक्ता कार्यालय मातहत हुन्छन् । तर, जिल्ला सरकारी वकिल न्यौपानेले यस मुद्दाबारे आफ्नो माथिल्लो कार्यालयलाई हैन, उक्त कार्यालयबाट अहिले प्रतिनिधिसभाको सचिवमा नियुक्त भएका पदम पाण्डेसँग सरसल्लाह लिने गरेका थिए । अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘कसैले बयान दियो कि सकिनासाथ न्यौपाने सरले पाण्डे सरलाई फोनमै सुनाइदिनुहुन्छ ।’

यसरी प्रहरी यो प्रकरणको भित्रसम्म छिर्न खोज्दैछ, तर सरकारी वकिल ‘आलो रगत तात्तातै खाइहालौं’ को शैलीमा ‘मुद्दा ल्याइहाल’ भन्दै छन् । प्रहरीलाई चिन्ता के छ भने, समातिएका मान्छेहरूलाई अहिले नै ठेगान लगाउन सकिएन भने पछि तिनले आफूहरूलाई नै ठेगान लगाउन के बेर † त्यसैले पनि उनीहरू घटनासँग सम्बन्धित आधार र प्रमाणलाई परिपक्व बनाउने, अकाट्य प्रमाण जुटाउने काममा तल्लीन छन् । 

खासमा यो मुद्दा यसरी अगाडि बढाउने इच्छाशक्ति प्रहरी नेतृत्वसँग हुन्थ्यो भने आजभन्दा महिनौंअघि यी सबै काम फत्ये भइसकेका हुन्थे । तर, नेपालबाट नक्कली शरणार्थीका नाममा मानिसहरूलाई विदेश पठाउने काममा ‘हाइप्रोफाइल’ व्यक्तिहरूको संलग्नताबारे शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्त (युएनएचसिआर) सहित इयु र अमेरिकी अधिकारीको चासो बढ्न थाल्यो । त्यति हुँदा पनि आइजिपी बसन्त कुँवर यसमा तात्तिएका थिएनन् । यदि उनले यो मुद्दामा शुरुदेखि नै तत्परता देखाउँथे भने अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान व्युरोलाई खटाउँथे । तर, जब यसबारे कुरा उठ्न थाल्यो, त्यसपछि उपत्यका अपराध अनुसन्धान महाशाखाका एसएसपी डा.मनोज केसीको सक्रियता बढ्यो । सानु भण्डारीसहितका व्यक्तिहरूलाई त्यहीँबाट नियन्त्रणमा लिइयो । र, त्यसपछि पूर्वउपप्रधानमन्त्री, मन्त्री, सचिवसम्मका मान्छे पोलिए । भनिन्छ, यो मुद्दामा युरोप र अमेरिकी निकायको निरन्तर चासो र समन्वय बढिरहेको छ । विशेषतः नेपालबाट भुटानी शरणार्थीलाई स्थानान्तरण गर्ने अमेरिकाको चासो यसमा बढी छ । त्यसमाथि अमेरिका बस्ने केही चलाख नेपालीहरूले पनि चासो राख्दै आएका थिए ।

मुद्दाको संवेदनशीलताका कारण आइजी कुँवरको अमेरिका भ्रमण रोक्न भनियो । तर, त्यस्तो गर्नु जरुरी थिएन । जिल्लाले मुद्दा चलाइरहेको छ । संगठनको चेन त्यसमा तल्लीन थियो । भनिन्छ, भोलि कुनै तरिकाले मुद्दालाई ब्रेक लगाउनुपर्ने भयो भने आइजी चाहिने कारण उनलाई यतै रोकिएको हो । 

– विश्वमणि सुवेदीबाट
 

टिप्पणीहरू