कमरेडहरूले एमाले छाडे क्रमशः

कमरेडहरूले एमाले छाडे क्रमशः

‘अरुण तरेर नाना, तम्मर तरेर, आयौं हामी वीरताको गाथा कोरेर’ पूर्वी नेपालमा चर्चित यस गीतका रचनाकार एमाले पोलिटब्युरो सदस्य मणि थापाले पनि पार्टी छोड्ने तरखर गरेको बुझिएको छ । उनी गत हप्ता सम्पन्न तीन दिने केन्द्रीय कमिटी बैठकमा देखा परेनन् । सहभागी हुन नसक्ने कारणबारे पनि सचिवालयलाई खबर गरेनन् अनि सबैखाले चुनाव र पार्टीको ग्रासरुट अभियानमा प्रकट भएनन् ।

अहिले पार्टीको ग्रासरुट अभियानलाई छाडेर विप्लव समूह र जीवन शर्माको सामना साँस्कृतिक अभियानमा संलग्न भई गाउँगाउँ डुलिरहेका छन् । नेकपा विभाजनपछि उनी रामबहादुर थापा मगर बादल र टोपबहादुर रायमाझीसँगै माओवादी छाडेर एमालेमा बसेका थिए । लगत्तै ६ महिना खानेपानी तथा सरसफाइमन्त्री भएका बखत थापाले ‘श्री ५ को सरकार यो काम गर्न प्रतिबद्ध छ ।’ भन्ने भाइरल भाषण गरेका थिए ।

कोमल मनका प्युठाने कलाकार थापासँगै राष्ट्रिय सभाका पूर्वसदस्य चन्द्रबहादुर खड्का(अर्घाखाँची)ले पनि एमाले छाड्ने तयारी गरेको श्रोतको दाबी छ । नेकपा विभाजनपछि टोपबहादुर रायमाझीसँगै केपी ओलीको साथ रोजेबापत सांसद पद गुमाएका उनी पनि यसपालि केन्द्रीय कमिटी बैठकमा भाग लिन आएनन् ।

अध्यक्ष ओलीलाई हजुरबाको नाताले संबोधन गर्ने बहुचर्चित दुर्गा प्रसाईं मार्सीबाहेक एमाले छाड्ने केन्द्रीय पदाधिकारी, सदस्य र सल्लाहकार परिषद् सदस्यको संख्या १६ जना पुगेको छ । घनश्याम भुषालले एमाले पार्टी छोडे पनि भीम रावलले भने अझैं अध्यक्ष केपी ओलीको नेतृत्वलाई टक्कर दिइरहेका छन् । 

यसबीच निकालीने प्रभु साहबाहेक पार्टी छाड्ने केन्द्रीय सदस्यहरूमा टेकबहादुर बलम्पाकी, कुन्दन कुशबाह, उपेन्द्र साह, गङ्गा सत्गौवा, रिता साह, रामप्रित राम र बद्रिप्रसाद न्यौपाने रहेका छन् । केन्द्रीय सल्लाहकार खेम सुवेदी र भक्तबहादुर अधिकारीसहित केन्द्रीय अनुशासन आयोगका सदस्य लक्ष्मी शाहले पनि एमाले छाडेका छन् ।
 

टिप्पणीहरू