पतिले दिएको पीडा र हामीले गरेको प्रण

पतिले दिएको पीडा र हामीले गरेको प्रण

सधैँ सरल रेखामा कहाँ बग्दोरहेछ र जिन्दगी ? उबडखाबड र भीरैभीरको जिन्दगी– आँखा चिम्ले पीर, खोले पनि पीर । म मीना चन्द, गुल्मीको साविक जुभुङ गाविस–१ बाट १२ वर्षको उमेरमा काठमाडौँ उक्लिएँ । रोजगारीका लागि भारत गएका बाबु दुर्गाबहादुर थापा सम्पर्कविहीन बन्नुभएपछि क्यान्सर लागेकी आमाको स्वास्थ्य बिग्रिँदै गएको अवस्थामा माओवादी विद्रोहीले युद्धमा हिँड्न दबाब दिन थालेपछि दाजु होमबहादुरले काठमाडौँ ल्याएर मावली नातेदारको जिम्मा लगाई हिँड्नुभयो । 

गाउँमा ७ कक्षामा पढ्दै थिएँ । काठमाडौँ छिरेपछि अध्ययनले बिट मा¥यो । अनि शुरु भयो संघर्ष । धोबीखोला किनारस्थित सानीआमाको होटलमा काम गर्न थालेँ । बिहान ४ बजेदेखि राति ११ बजेसम्म खट्नुपथ्र्यो । त्यसै क्रममा १५ वर्षको उमेरमा सवारीचालक हरि चन्द ठकुरीसँग विवाह भयो । विवाह गर्दा जिन्दगीमा जति उमंग, उत्साह थियो त्यो सबै खुशीलाई राजधानी खाल्डोले सर्लक्कै निल्यो । सुख भन्नु त एक दिनको पाहुना न हो दुःखै दुःख रहेछ जीवनको रीत । 

मेरो खुशी अर्थात् मेरो श्रीमान् । जसका लागि जन्मघर त्यागेँ, बुबाआमाको साथ छाडेँ । विवाह भएको डेढ वर्षपछि १८ कात्तिक ०५८ मा जेठो छोरो पुजल जन्मियो । सुत्केरी श्रीमती, काममा निस्किएका श्रीमान् हप्ता दिनसम्म कोठामा नफर्कंदाको पीडा कि भोग्नेलाई थाहा हुन्छ वा त अदृश्य ईश्वरलाई । श्रीमान्ले घरखर्चमा भरथेग नगरेपछि बाटो खोज्नैपर्ने भयो । विवाहका केही वर्ष श्रीमान्को साथ–सहयोग र माया पाउँदा मख्ख थिएँ । विस्तारै  आफ्नै काममा व्यस्त । उहाँको व्यवहार परिवर्तन हुँदै गयो । घरमा पैसा दिन छाड्नुभयो । सायद, तलब कम थियो होला । 

आफूसँग दाल–भात खाने पैसा छैन, कहाँबाट ल्याउनु ६ लाख ?

हामीलाई घर व्यवहार चलाउन धौधौ हुन्थ्यो । ती दिन सम्झँदा अहिले पनि अश्रुधारा बर्सन्छ । मान्छेका लागि सबैभन्दा प्रिय हुन्छ आफ्नै विगत । त्यही अप्रिय विगत थिए र त आज म यहाँ छु । मान्छेका लागि लाग्छ, आफ्नो भन्नु त एउटा ‘मन’ मात्रै रहेछ सुख दिन चाहे सुख मिल्ने, दुःख दिन चाहे दुःख । काखे बच्चा हुर्काउने जिम्मेवारी मेरै काँधमा थियो । सुत्केरी अवस्थामै ०६३ असोजमा ड्राइभिङ सिक्न निस्किएँ । भन्छन् नि हरेक समस्याले आफूभन्दा ठूलो अवसर बोकेर आएको हुन्छ । तीन महिने शिशु र पाँच वर्षे छोरालाई कोठामा छाडेर तीन महिनासम्म दैनिक चार घण्टा ड्राइभिङ सिकेँ । तावाबाट खसेको माछा भुंग्रोमा परेजस्तो हुँदो रहेछ जिन्दगी । काखे बच्चाको पालनपोषणका लागि समाएको थिएँ, ट्याम्पोको स्टेयरिङ । रहरले होइन, बाध्यताले ड्राइभर भएँ । चुनौतीपूर्ण काम थियो त्यो । 

मैले ट्याम्पो चलाउन सिक्दाको समय कुनै महिला टेम्पो चालक देखे भने सोध्थे– दिदी कहाँबाट सिक्नुभएको ? मलाई पनि सिकाइदिनुहोस् न भनेर । तर, हातमा सीप भएकाहरू बोल्दा पनि बोल्दैनथे । कुहिएर जाने सास न हो, बोल्दैमा के जान्थ्यो र उनीहरूको ? पछि मोहनराज आचार्य भेटिए । उनले शर्त राखे, टेम्पो किन्ने भए सिकाइदिन्छु । मलाई सिक्नु थियो तर आफूसँग फुटेको कौडी थिएन । पाँच दिनसम्म टेम्पो चलाउन सिकाए । टेम्पो चलाउन त जसोतसो जानेँ अब टेम्पो किन्छु भनेको वचन पूरा गर्नुपर्ने भयो । आफूसँग दाल–भात खाने पैसा छैन, कहाँबाट ल्याउनु ६ लाख ? श्रीमान् त्यति बेला पर्यटकको गाडी चलाउँथे । घर आउने कुनै ठेगान थिएन । गाउँघरमा हुँदा एउटा उखान सुनेको थिएँ, तँ आँट् म पु¥याउँछु । टेम्पो किन्ने हिम्मत गरेँ । यताउताको ५० हजार र आफन्त मामाघरको हजुरआमाबाट साढे २ लाख र फाइनान्सबाट साढे ३ लाख रूपैयाँ ऋण लिएर एउटा पुरानो टेम्पो खरिद गरियो । यो आत्मनिर्भरतातर्फको पहिलो यात्रा थियो । 

टेम्पो त किनेँ तर रोडमा कहिल्यै चलाएको थिइनँ । सिकेको मात्र हो । जुन दिन पहिलो पटक ट्याम्पो लिएर रोडमा निस्को । मनमा डर लागिरह्यो । टेम्पो गंगालाल अस्पतालको अगाडि रोकेर बसिरहेँ सडकमा गाडी कम होला अनि गुडाउँछु भनेर । तर, दिनभर सडकमा गाडी गुड्न कम भएन । बेलुका चलाउँदा त ब्रेक फेल भएको रहेछ । सँगै दाइ हुनुुहुन्थ्यो । उहाँले टेम्पो लिएर भित्तामा ठोक्नुभयो । मेरो टाउको बचाउनुभयो । धन्न, हामीलाई केही भएन तर टेम्पो सबै कच्याककुचुक भयो । लाग्यो– ६ लाख गयो । अब डुबेँ, सिद्धिएँ । त्यहाँबाट टेम्पोलाई ग्यारेजमा लगियो । रातको १० बजेको थियो । श्रीमान्ले फोन गरेर सोधे ‘कहाँ छस् ?’ मैले ‘टेम्पो बिग्रेर ग्यारेजमा छु, भन्ने जवाफ फर्काएँ । श्रीमान्ले तिखो वचनवाणले घोचे ‘उसो हो भने त्यतैबाट कहाँ जाने हो जा, घर आउनु पर्दैन ।’

त्यतिबेलासम्म श्रीमान्लाई मैले टेम्पो किनेको थाहा थिएन । यसरी अनेकन हण्डर ठक्कर खाएर झण्डै साढे एक दशक काठमाडौँको खाल्डोमा ट्याम्पो चलाएँ । टेम्पो चलाउन शुरु गर्दा दूधे बच्चा छाडेर जान्थेँ । टेम्पो चलाउन नजाऊँ, बच्चा भोकै मर्ने डर । बच्चाहरूलाई छिमेकीले सोध्थे ‘ममी खोइ ?’ उनीहरू जवाफ फर्काउँथे ममी हुनुहुन्न, सानीममी मात्र हुनुहुन्छ । बिहान पाँच बजे उठेर घरबाट निस्कँदा बच्चाहरू सुतिरहेकै हुन्थे, बेलुका घर फर्किंदा सुतिसकेका हुन्थे । त्यसैगरी हुर्किए दुई छोरा । सानो छँदा मलाई त बच्चाले देख्नसम्म पनि पाएनन् । छिमेकी कोठाका कतिपय महिला भन्थे– यतापट्टि कोठामा मान्छे बस्छ कि भूत ? अहिले आएर लाग्छ, श्रीमान्ले त्यो बेला दुःख दिएर पनि ठीकै गरे । त्यो बेला दुःख नदिएको भए अहिले आएर आफ्नो खुट्टामा उभिन सक्ने थिइनँ होला । 

काम गर्दै जाँदा दुव्र्यवहारसँग लड्न महिला टेम्पो चालक संघ बनाइयो । केही समय अध्यक्ष चलाएँ । ०६९ सालमा नेपाल यातायात महिला चालक संघ बनाइयो । आर्थिक विपन्नताले गाँजेका, उत्पीडनमा परेका महिलालाई गाडी चलाउन सिकाउने र आत्मनिर्भर बनाउने पवित्र उद्देश्य बोकेर नेपाल यातायात महिला चालक संघ स्थापना गरियो । यो १५ वर्षको अवधिमा आफ्नै गोजीबाट पैसा हालेर संस्था बचाइयो, चलाइयो– झण्डै ५ हजार महिलाले यहीँबाट गाडी चलाउन सिकेँ । सिकेका अधिकांशको हातमा लाइसेन्स छ अहिले । बेसहारा, आर्थिक विपन्नताले गाँजेका, घरपरिवारबाट अपहेलित भएका, अनेकन हिंसामा परेका महिला अहिले आत्मनिर्भर बनेका छन् । यसका अलावा ४२ जना पुरुषले पनि यही संस्थाबाट गाडी चलाउन सिकेका छन् । संस्था खोलेपछि सरकारलगायत अन्य राष्ट्रिय/अन्तर्राष्ट्रिय दाताबाट आर्थिक सहयोग आउला भन्ने आशा थियो ।

तर, १२ वर्षसम्म कहीँ–कतैबाट फुटेको कौडी पनि देखिएन । भन्छन् नि १२ वर्षमा खोलो पनि फर्कन्छ रे ! अहिले काठमाडौँ महानगरपालिकाले ४ लाख २० हजार सहयोग गरेको छ, यो संस्थालाई । यस्तै राष्ट्रिय युवा परिषद्ले ८० हजार दिएको छ । यो रकमले बेसहाराहरूको सारथि बनेर महिलालाई सीपसँगै आत्मबल दिन केही हौसला मिलेको छ । एउटा छोरा एक्सिडेन्टमा परेर हिँडडुल गर्न सक्दैन । यद्यपि, छोराको जति धेरै चिन्ता छ, उत्तिकै चिन्ता छ बेसहारा, आर्थिक विपन्नताले गाँजेका, घरपरिवारबाट अपहेलित, अनेकन हिंसामा परेका महिलाहरूको । आफूले सवारी साधन चलाउन सिकाएका महिलालाई संगठित गरेर नेपाल यातायात महिला चालक समूह चलाएको दशक बढी भइसकेको छ । मनमा चाहना त छ राष्ट्रिय प्रशिक्षण केन्द्र स्थापना गरेर हेभी मोटर ड्राइभिङमा महिलालाई समाहित गराउने । नेपाल ट्रष्टका नाममा गोकर्ण, गुहेश्वरी, गोठाटारमा प्रशस्त ऐलानी जग्गा छ भन्ने सुनेको छु । ती जग्गामा निःशुल्क गाडी चलाउन दिए हजारौं महिलालाई आत्मनिर्भर बनाउन सकिन्थ्यो कि ! सरकारको ध्यान यतातिर पनि गइदिए हुन्थ्यो भन्ने लाग्छ । 

– मीना चन्द ठकुरी, अध्यक्ष, नेपाल यातायात महिला चालक संघ
 

टिप्पणीहरू