शरणार्थी काण्डबारे जनआस्थाले २ वर्षअगाडि नै जे लेखेको थियो
जनआस्था साप्ताहिकले दुई वर्षअगाडि नै नक्कली भुटानी शरणार्थी बनाउन करोडौं रकम असुलिएको समाचार प्रकाशित गरेको थियो । २०७७ माघ २८ गते बुधबार ‘शरणार्थीका नाममा फेरि षड्यन्त्र’ शीर्षकको समाचारमार्फत ठगीको जालो बाहिर ल्याइएकोमा त्यतिबेला पदको आडलृ बचेकाहरू अहिले आएर सेकिएका छन् ।
शरणार्थी बनाएर अमेरिका र क्यानाडा लैजाने सपना देखाउँदै लाखौं उठाएको गिरोहले झापा, मोरङलगायत अन्य स्थानका युवाको बिल्लीबाठ बनाएको र त्यसमा केशव दुलाल र सानु भण्डारीको नाम उहिल्यै किटान गरिएको थियो ।
उनीहरूले मोरङको पथरी–शनिश्चरे नगरपालिका–१० का तत्कालीन वडाध्यक्ष सागर राई, कानेपोखरी गाउँपालिकाका धीरेन राई, बेलबारी नगरपालिकाका विक्रम बान्तवा राईलगायत मोरङका केही कांग्रेसनिकट युवा नेता तथा जनप्रतिनिधिलाई कमिशनको प्रलोभन देखाएर पैसा उठाउन लगाएको जनआस्थाको दाबी थियो ।
उक्त समाचारमा दुई वर्षअगाडि नै मुछिएका विक्रम अहिले बेलबारी नगरपालिका वडा नम्बर ११ को वडाध्यक्ष बनेका हुन् । चरम बेइज्जत हुने डर बढेपछि उत्तरी मोरङका एक वडाध्यक्षले केही युवाबाट उठाएको रकम फिर्तासमेत गरेको समेत समाचारमा उल्लेख थियो ।
त्यतिबेलै दुई सय जना बढीबाट पैसा उठाइसकेका उनीहरू भुटानी शरणार्थीलाई हेर्ने आइओएम उठेर हिँडेपछि तनावमा परेका थिए । केशवले युएन र युएनएचसीआर मिलाउने तथा सानुले गृह मन्त्रालयको काम सम्हाल्ने भनी सहमति जनाएका थिए । यो षड्यन्त्रमा राजनीतिक दलको ओहोदाका व्यक्तित्व पनि जोडिएको जनआस्थाको अनुमान थियो ।
उनीहरूले यस काममा बेलबारीका एक पास्टरलाई समेत संलग्न गराएका थिए । ती पास्टरले मात्रै दर्जन बढी युवासँग लाखौँ असुले । सागरले भने सयभन्दा बढी युवासँग दश–दश लाख रूपैयाँ उठाए । दुई दर्जन बढी युवाबाट पैसा उठाएका विक्रम राई पैसा फिर्ता माग्नेहरूको दबाब आएपछि काठमाडौं आएर लुकेका थिए ।
अमेरिका लैजाने नाममा ठगिएका पीडितहरूले त्यतिबेला जिल्ला प्रशासन कार्यालय झापामा उजुरी हाल्दा राजनीतिक नेतृत्वदेखि गृह मन्त्रालयसम्मको साँठगाँठमा त्यसलाई लुकाएको थियो । सरकार र युएनएचसिआरले केही वास्तविक भुटानी शरणार्थी प्रमाणीकरणमा छुटाएको मौका छोपेर उनीहरूले नेपाली नागरिकबाट पैसा उठाएका हुन् । यो विषय सरकारी स्तरमा पुगेपछि त्यतिबेला गृह मन्त्रालयमार्फत दुईवटा बेग्लाबेग्लै समिति बनाएर अनुसन्धान नै गरिएको थियो ।
गृहका उच्च अधिकारीसँग राम्रै पहुँच भएका राजेन्द्र कार्की र सिंहराज केरुङसमेतको नाम यसमा जोडिएको थियो । जतिबेला पनि गृह परिसरमै भेटिने उनीहरू त्यसपछि गायब नै भएका थिए । झापास्थित शरणार्थी समन्वय इकाइ (आरसीयु) का तत्कालीन संयोजक शाखा अधिकृत यज्ञ निरौला र राजमान गुरुङ पनि नेपाली नागरिकलाई भुटानी प्रमाणीकरण गर्ने कार्यमा मुछिएका थिए । उनीहरूको पहलमा ०७५ साउनमा थप १२ जनालाई शरणार्थी प्रमाणीकरण गरिएको थियो ।
टिप्पणीहरू