बागमतीमा व्यापारी र ठेकेदारकै पल्ला भारी

बागमतीमा व्यापारी र ठेकेदारकै पल्ला भारी

बागमती प्रदेश सरकारले पाएको पूर्णतामा नेपाली कांग्रेसभित्रको असन्तुष्टि छताछुल्ल भएको छ । नेकपा एसका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग सहमति गरेर १८ वटा मन्त्रालय बनाउँदा ल्याप्चे लगाउनेहरु नै बागमती प्रदेश सरकारमा नयाँ मुख्यमन्त्री र गठबन्धन साझेदार बनिरहँदा पाण्डेले मात्रै सातखुन अपरध गरेझैँ मन्त्रालय बढाएको र हामी मन्त्रालय घटाउँछौँ भनेर ११ मा झारेर उधूम काम गरेको देखाउन खोजेका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले अन्ततः प्रदेशमा समेत विना विभागीय मन्त्री राखेर मन्त्रालय फुटाएर काम दिने गरी सरकार विस्तार गरेका छन् । 

मन्त्रालय फुटाउने सहमतिसहितको प्रदेश सरकारमा आएका नयाँ मन्त्रीहरु भने विवादमुक्त छैनन् । तेस्रोपटकको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसका संदीय दलका नेता र उपनेता दुवै मन्त्री भएका छन् अझ उपनेता रामकृष्ण चित्रकारले त विनाविभागीय मन्त्रीमा शपथ खाएका छन् । कांग्रेसबाट वन तथा वातावरण मन्त्री बनेकी मसिना खड्का भण्डारी विवादित पात्रभित्र पर्दछिन् । बागमती स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डाक्टर अर्जुन सापकोटाले स्वास्थ्य सामग्री खरिद गर्दा  चारकरोड रुपैयाँ आर्थिक अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको छ । २०७९ फागुन १५ गते दर्ता भएको उजुरीमा विकास सर्जिकलबाट लिक्विड वास्ट खरीद गर्दा चार करोड रुपैयाँ आर्थिक अनियमियता भएको भन्दै अख्तियारले छानबिन गरिरहँदा विकास सर्जिकलसँगै जोडिएका खड्का पनि छानबिनमा रहँदै मन्त्री बनेकी छिन् । 

विकास सर्जिकल खड्काकी पति अकल भण्डारीको फर्म हो । कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामालाई प्रभावमा पारेर मन्त्री बनेको बुझिएको छ । उता, राजेन्द्र पाण्डेले मात्रै मन्त्रालय फुटाएर प्रदेश बदनाम पारेको र आफूले घटाएर राम्रो काम गरेको जस लिइरहेका मुख्यमन्त्री जमरकट्टेललाई कांग्रेसले ६ वटा मन्त्रालय मागेपछि सकस परेर मन्त्रालय बढाउने काम पनि जमरकट्टेलबाटै गराउन कांग्रेस सफल हुने देखिएको छ । खड्का मन्त्री बनेपछि अमेरिकी पिआर भएको मान्छेलाई कांग्रेसले मन्त्री बनायो भन्दै कांग्रेसकै प्रदेश सांसदहरु संसदीय दलका नेता लामासँग असन्तुष्ट भएका छन् । 

प्रदेश सरकारमा कांग्रेसले पठाएका मन्त्रीहरुमा स्वास्थ्य मन्त्री उत्तम जोशी बाहेक बाँकी सबै ठेकेदार र व्यापारीहरु मात्र परेपछि कांग्रेस संसदीय दलको निर्वाचनदेखि नै बढेको विवाद अरु चुलिएको कांग्रेस स्रोतको दाबी छ । नयाँ मन्त्रीमण्डिलमा पनि पार्टी सभापति शेरबहादुर देउवापत्नी आरजु हाबी भएको भन्दै कांग्रेसका प्रदेश सांसदहरु अन्तिममा भाउजुकै नाममा अरुहरुबाट पनि नाम काटियो भन्दै गुनासो गरिरहेका छन् ।
 

टिप्पणीहरू