शरणार्थी प्रकरणमा आइजीपीमाथि बात लागेपछि प्रहरीको प्रतिक्रिया - भ्रम फैलाएर मनोबल गिराउने काम भयो
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा आईजीपीकै भूमिका शंकास्पद’ शीर्षकमा प्रकाशित समाचारप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका तत्कालिन प्रमुख (हाल आइजीपी) कुँवरको नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणको मुद्दाका आरोपितसँग सम्पर्क रहेको र पूर्वगृहमन्त्री बालकृष्ण खाँण जोगाउने प्रयास गरेको समाचार सम्प्रेषण भएपछि उनले यसप्रति चासो प्रकट गरेका हुन् ।
आइजीपी कुवँरको सचिवालयले आज विज्ञप्ति जारी गर्दै आधार, तथ्य र प्रमाणबिना अपराध अनुसन्धान जस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएका समाचारले आमनागरिकमा भ्रम सिर्जना हुने र प्रहरी संगठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमाण्डमा आँच आउनेतर्फ सतर्क गराएको छ ।
शरणार्थी प्रकरणमा नेपाल प्रहरीले नै सफल अनुसन्धान गरी मुद्दा पेश गरिसकेको अवस्थामा कल्पित रुपमा समाचार बनाई आरोपित भगाउन प्रहरी महानिरीक्षककै संलग्न भएको भनी प्रचारबाजी गरिनु संगठनकै लागि अत्यन्त दुःखद कुरा रहेको पनि उक्त विज्ञप्तिमा उल्लेख छ ।
साथै, नेपाल प्रहरी सदैव संविधान, कानून र संगठनको आफ्रनै मूल्यमान्यतामा अडिग रही दोषी नछुटुन, निर्दोष नफसुन भन्नेमा सचेत र प्रतिबद्ध रहेको उल्लेख गर्दै सचिवालयले कुनै प्रमाणबिना महानिरीक्षकलाई नै विवादमा तानेर अपराधी जोगाउन प्रयासरत रहेको भनिनुले समग्र संगठनको छविमा आँच पुगेको दुखेसो गरेको छ ।
‘अपराधी जोसुकै होस् उसलाई बचाउन हैन सजाय दिलाउनका लागि नागरिक र प्रहरी दुवैको सहकार्य र समन्वय हुनुपर्नेमा कुनै आधार, तथ्य, प्रमाणबिना नै महानिरीक्षकलाई नै विवादमा तानेर अपराधी जोगाउन प्रयासरस रहेको भनिनुले समग्र संगठनको छविमा आँच पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः कुनै तथ्य, प्रमाणबिना अनुमानका आधारमा कपोकल्पित र सतही रुपमा आएको उक्त भ्रामक र नियोजित समाचारले प्रहरी महानिरीक्षक र समग्र नेपाल प्रहरी संगठनको विश्वसनीयता र छवीमाथि आँच पुगेको हुँदा नेपाल प्रहरी उक्त समाचारको खण्डन गर्दछ ।’
प्रहरीका जुनियरदेखि सिनियर प्रहरी अधिकृतहरुले आफ्नो जीवन र करिअरको समेत प्रवाह नगरी गरेको अनुसन्धानले यो प्रकरण बाहिर आएको, अझै पनि कैयों व्यक्ति अनुसन्धानको दायरामा रहेको र कारबाहीको दायरामा ल्याउने काम भइरहेको उल्लेख गर्दै सचिवालयले प्रहरी अधिकृतहरुको मनोबलमा समेत असर पर्ने यस्ता तथ्यहीन, भ्रामक सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरेको छ ।
सञ्चार माध्यममा समाचार आएपछि आइजीपी कुँवरको भूमिकालाई लिएर संसद बैठकमा समेत कुरा उठिसकेको छ । आजको प्रतिनिधिसभा बैठकमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले आइजीपी कुवँरलाई निलम्बन गरि अनुसन्धान गर्न माग गरेका थिए ।
टिप्पणीहरू