उपहारसहितको चिनियाँ टोली आउँदै
कोभिड संक्रमणको विश्वव्यापी महामारीबीच उक्त प्रकोपको उद्गम पनि भएका कारण अत्यन्तै कडाइका साथ नियन्त्रणको नीति लिएको चीनले भर्खरै आवत–जावतलाई खुलामात्रै गरेको छैन, आफू निस्कने र अरुलाई निम्त्याउने क्रमलाई बढोत्तरी दिँदैछ ।
माओवादीको २० सदस्यीय टोली गतहप्ता चीन पुगिसकेको छ भने नेपाली कांग्रेसका नेताहरू सम्मिलित अर्को टोली पनि छिट्टै त्यता लाग्दैछ । जसपा नेता राजेन्द्र श्रेष्ठसमेत आजभोलि नै जाने तरखरमा छन् । चीनबाट यो वर्षका लागि अहिलेसम्मकै ठूलो प्रतिनिधिमण्डल काठमाडौं आउँदैछ । पार्टी स्थायी कमिटी सदस्य वाङ स्याओहुईको नेतृत्वमा टोली आउन लागेको हो ।
उनी चीनको महत्वपूर्ण प्रान्त मानिने दङ सियाओफिङको गृहक्षेत्र सिचुवानमा सन् २०२२ को अप्रिलदेखि पार्टी सचिव छन् । १९६२ मा जन्मिई नेशनल फिल्म एडमिनिष्ट्रेशनको निर्देशक र पार्टी प्रचार विभाग उपप्रमुखको रुपमा पनि क्षमता देखाइसकेका व्यक्ति हुन् । यसै साता काठमाडौं ओर्लिने तयारीमा रहेका उनी नेपालका लागि भौतिक सहयोगको प्याकेजसहित आउँदैछन् ।
यता, काठमाडौंमा चिनियाँ राजदूत छेन सोङको सक्रियता बढेको छ । नेपालको सीमा सुरक्षा हेर्ने आधिकारिक निकायका रुपमा रहेको सशस्त्र प्रहरीका प्रमुखसँग भेटेर आपसी सहयोगबारे छलफल गरेका छन् । औपचारिक रुपमा शुरु नभएको संखुवासभाको किमाथांका र पाँचथरको च्याङथापुस्थित नाका खुला गर्ने तयारी रहेको पनि उनले सशस्त्र प्रमुखसँगको भेटमा बताएका छन् । त्यस्तै, मुस्ताङस्थित कोरोला नाकाको सम्भाव्यता अध्ययन गर्ने र खोल्नेतर्फ अग्रसर हुने वचनसमेत दिएका छन् ।
टिप्पणीहरू