इञ्जिनियरको ध्वस्त पार्ने योजना, बाख्राको खोरमा करोडौंको हात्तीसार
बाख्राको खोर बनाउनुपर्ने ठाउँमा करोडौं खर्चेर हात्तीसार बनाउन किन लागेको हो ? यो विषय बुझिनसक्नु बनेर आएको छ यतिबेला । सन्दर्भ हो, बाराको पचरौता नगरपालिका तथा आदर्शकोटवाल गाउँपालिकास्थित रहेको जमुनी खोलाको सिँचाई परियोजना । लगभग ६० करोड लागतमा जमुनी खोलामा ब्यारेज बनाउँदै गरिएका सामाचार नयाँ होइन । नारायणी सिँचाई व्यवस्थापन कार्यालय वीरगञ्जमा कार्यरत इञ्जिनियर सुरेश साहले ब्यारेज निर्माणमा लुटको धन्दा चलाएको आरोप यसमा जोडिएर आएको छ ।
जमुनी ब्यारेज झैँ तिलावे खोलाको उपल्लो भाग एकटांगा गाउँको पूर्वी किनारमा त्यस्तै किसिमको ब्यारेजको डिजाईन गरी करोडौँ रकम अपचलन गर्ने नियत राखेको विषय पनि अहिले चर्चामै छ । तिलावे खोलाको तल्लो भागमा जेसौली गाउँको माथिल्लोपट्टी दशकौंअघि अमेरिकी सरकारको सहयोगमा बनाइएको तिलावे बाँध इञ्जिनियर साहको कुनियतले गर्दा धरापमा परेको भनिँदैछ । माथिल्लो बाँधबाट तिलावे खोलामा पानी प्रवाहित हुन नसक्ने अवस्थामा तल्लो भागको सिँचाईको बाँध त्यतिकै खिइने अवस्थामा पुग्नसक्ने भन्दै कार्यालयकै अन्य इञ्जिनियरहरुले समेत चिन्ता जनाइरहेका छन् ।
पर्साको ओरिया खोलामा बन्दै गरेको ब्यारेजमा पनि करोडौं हिनामिना भएको आरोप छ । त्यहाँपनि जोडिएका छन्, इञ्जिनियर साह । कोशी, गण्डकजस्ता प्रतिसेकेण्ड करोडौं लिटर पानी प्रवाह हुने ठाउँमा बनाइएको जस्तै डिजाइन उनले खहरे खोलामा किन बनाए होला ? यसका जानकारहरुसमेत यो प्रश्नले हैरान छन् ।
इञ्जिनियर साहले जमुनी ब्यारेजको डिजाइन बनाउँदा प्रतिसकेण्ड साढे ७ हजार लिटर पानी उपलब्ध हुने दावी गरेपनि खोलाको स्थिति भने नितान्त देखिन्छ । समान्य अवस्थामा उक्त खोलाबाट २५ हजार लिटर प्रतिसकेण्ड पानी प्रवाह हुने भनी उनले लाजै नमानी दाबी गरेका छन् । आफ्नै विभाग तथा स्थानीय किसानहरुलाई ठूलो सपना बाँड्ने र त्यसबाट आफूले निजी लाभ लिने उद्देश्यले यस्तो मिथ्याङ्क देखाएको धेरैको अनुमान छ ।
लाखौं लिटर पानी प्रतिसकेण्ड प्रवाह हुने पर्साको तिलावे खोलामा वेर हार्ड वर्क डिजाइनको बाँध बनाइएको छ भने इञ्जिनियर साहको जमुनी खोलामा सुख्खा याममा (चैतदेखि असारसम्म) प्रतिसकेण्ड साढे ७ हजार लिटर पानी प्रवाह हुने दाबी ‘दिउँसै आकाशमा तारा गन्नु’ जस्तै हो भन्छन् कोतवाली गाउँका किसानहरु । त्यस ब्यारेजमा उनले निर्माण गरेको १३ वटा ढोका सुविधाका लागि नभई बजेट लुट्नमा केन्द्रित रहेको तीनै गाउँले किसानहरुको दाबी छ । उनले गलत डाटा बनाई विभागबाट बजेट थुत्न यस्तो चालबाजी गरेको सिँचाई कार्यालयभित्र पनि चर्चा हुने गरेको छ ।
आर्थिक वर्ष २०७३–०७४ मा ब्यारेजको जग हाल्दा लागत २२ करोड ४० लाख देखाइएको थियो । तटबन्धको लागि छुटै १२ करोड लाग्ने अनुमान गरिएको थियो । इञ्जिनियर साहले १३ वटा ढोकाको खर्च १४ करोड देखाएका थिए भने पुनः त्यसमा १२ करोड थपेको देखिन्छ । त्यहाँ बजेट अभाव हुनेबितिक्कै उनी अन्यत्रै सरुवा भई जाने गरेको अर्को रमाइलो चर्चा पनि छ । ‘बजेट थपिएको अवस्थामा पुनः नारायणी सिंचाईमा फर्केने र हानीएर जमुनी खोलामै पौडी खेल्न कुदि हाल्छन्’, व्यङ्ग्य गर्दै कार्यालयका एक कर्मचारीले सुनाए ।
सन् १९७१ देखि गण्डक नहर सञ्चालन हुँदै आएकोदेखि नहरको पुछारमा रहेको ११ देखि १५ नम्बर ब्लकसम्म पानी पुगेको इतिहास भेटिन्न । तर, पनि इञ्जिनियर साहले त्यहाँ लाखौं खर्चेर नहर सफाई गर्दै आएको अर्को सच्चाई पनि उतिक्कै हाँस्यास्पद लाग्छ भन्छन् गाउँलेहरु । साहको यस हर्कतबारे सोधखोज गर्ने कार्यालयका प्रमुख मनोरञ्जन सिंह पनि उनकै मतियार बनेको आशंका गरिएको छ ।
गण्डक नहरको भन्दा पुरानो इतिहास रहेको तिलावे खोला बाँध यतिखेर इञ्जिनियर साहकै कारण बेवारिसे बनेको छ । तिलावे बाँध अमेरिकी सरकारको सहयोगमा सम्भवत २०१४ सालतिर बनेको हो । २०५३ सालको ठूलो बाढिले सो बाँध क्षतविक्षत हुँदा चिनियाँ इञ्जिनियरहरुले त्यसको पुनर्निर्माण गरिदिएका थिए । त्यस बाँधबाट तिलावे खोलाको पश्चिम किनारमा ५ नम्बरको ब्लकको पानी भारतीय सीमा गाउँ मधवलसम्म पुग्ने गर्छ भने पूर्वपट्टीको ६ नम्बर ब्लकको पानी अलौं सिर्सियाको चण्डाल चौकसम्म पुग्ने गरेको छ । त्यस्तो खोलाको चार वटा ढोका राखिएको ठाउँमा पूर्व छेउमा १ नम्बर गेटको ढोका तथा पश्चिमको ३ नम्बर ढोका माटोले खाई थलिएको दुई वर्षभन्दा बढी भइसकेको छ । तर, नारायणी सिँचाईलाई बाँध व्यवस्थापनको विषय प्राथमिकतामा परेको छैन ।
तर, गण्डक नहरको पुछारमा रहेको ब्लकहरु जहाँ पानी नै पुग्दैन त्यस्तो ठाउँमा करोडौँ खर्चेर गेट बनाएको देख्दा इञ्जिनियर साहको खुरापाती दिमाग झल्किन्छ । अख्तियारले बेलैमा यसप्रति चासो नलिए साहले थप कति ठाउँको ब्यारेज, बाँध डयामेज गराउने होलान् ? स्थानीय सरोकारवाला र किसान मात्र होइन सिँचाई कार्यालयकै कर्मचारीहरु पनि यो प्रश्नले हैरान छन् ।
टिप्पणीहरू