विदेशी जासुस प्रमुखका नेपालसम्बन्धी वृत्तान्त
भियतनामका वामपन्थी नेता हो चि मिन्हले आफूलाई ‘काका’ भनेर चिनाएजस्तै पार्टी पंक्तिभित्र ‘बा’ भनिन रुचाउनुहुने एमाले अध्यक्ष केपी शर्मा ओली वाककलामा पोख्त मात्रै हुनुहुन्न उहाँमा विषयवस्तुको अपार ज्ञान र विद्वता पनि उस्तै छ । राजनीतिक र कूटनीतिको गहिरो ज्ञान त छँदै छ धर्म, संस्कृति, दर्शन, खेलकुद, कला साहित्य, संगीतका विषयमा पनि बेलाबेला लामै प्रवचन दिनुहुन्छ । अंग्रेजीमा समेत टुक्का लगाएर कार्यकर्तालाई हँसाउन सक्ने अद्भूत खुबी देख्दा लाग्छ, ओली कमरेडले नजानेको कुरा बिरलै होला ।
त्यसो त, फरक विचारलाई सुन्नै नचाहने अहंकारी सोच रहेको नेताको आरोप पनि उहाँमाथि छ । आफ्ना कुरा माथि पार्न अनेक तर्क, वितर्क र कुतर्क पनि गर्नुहुन्छ अध्यक्ष ओली । उहाँले आफू प्रधानमन्त्री भएका बेला भारतीय जासुसी संस्था ‘र’ का प्रमुख सामन्त गोयललाई काठमाडौँ बोलाएर मध्यराति बालुवाटारमा गरेको संवादको आजपर्यन्त आलोचना र चर्चा हुने गरेको छ । नेपालको राजनीतिक कोर्स नै बदलेको दाबी गरिएको उक्त विवादास्पद संवादबारे धेरै कुरा खुलिसकेका छैनन् । आखिर हरेक विषयमा जानकारी राख्ने ओलीले अर्को देशको जासुसी संस्थाका हाकिमलाई दिल्लीबाट बोलाइबोलाई किन मध्यराति साढे ४ घण्टा भेट्नुभयो होला ? उक्त भेटपछि नेपाली राजनीतिमा विकसित घट्नाक्रमलाई हेरेर अनुमान लगाउने र विश्लेषण गर्नेबाहेक कसैले पनि ठ्याक्कै यही हो भनेर ठोकुवाका साथ भन्न सकेका छैनन् । तर, सत्ता र शक्तिका लागि भारतीय प्रभुत्व स्विकार्न दक्षिण एशियाका नेताहरू कतिसम्म लाचार हुने गरेका रहेछन् भन्ने कुरा ‘‘र’’ कै एक जना पूर्वप्रमुखले छ्यांग पारिदिएका छन् । नेपालमा समेत साढे तीन वर्ष काम गरेका र हाल अवकाशप्राप्त एसए दुलतको हालै प्रकाशित एक पुस्तकमा आफ्नो सत्ता सुरक्षित पार्न बंगलादेश, श्रीलंका र नेपालका नेताहरूले आफ्नो संस्थालाई हारगुहार गर्ने गरेको उल्लेख छ । अनुमान मात्र गरिएको ओली–सामन्त भेटको गुह्य कुराको धेरै झलक यसबाट मिल्छ ।
भर्खरै प्रकाशित ‘अ लाइफ इन दि स्याडोज’ नामक संस्मरणमा दुलतले पूर्वराजा ज्ञानेन्द्रलाई अत्यन्त तल्लो स्तरमा टिप्पणी गर्दै चोरको संज्ञा दिएका छन् । सन् १९७६ को सेप्टेम्बरदेखि १९८० को मार्चसम्म साढे तीन वर्ष नेपालमा रहेका उनी आत्मसंस्मरणको पृष्ठ ९६ मा लेख्छन्, ‘ज्ञानेन्द्र एक समय दिल्लीको प्रिय पात्र थिए । दरबार हत्याकाण्डपछि उनलाई आफ्नो चोरको छवि सुधार्न धेरै मुश्किल परेको थियो ।’ अटलबिहारी बाजपेयी प्रधानमन्त्री हुँदा कास्मिरका विद्रोहीलाई पृथकतावादी आन्दोलनबाट अलग्याएर मूल प्रवाहमा सामेल गर्ने काममा समेत खटिएका उनले यसैमा जोडेर आफ्नो अनुभव पुस्तकमा लेखेका छन्, ‘भारतका लागि नेपाल काश्मिर भन्दा पनि जटिल देश र मुद्दा हो ।’
दुलतले पुस्तकको ७९ औं पेजमा छिमेकी बंगलादेश र सार्क सदस्य राष्ट्र श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग ‘र’को सम्बन्धबारे अनौठो खुलासा गरेका छन् । र, ती दुइटा उदाहरण हेर्ने हो भने एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री भएका बेला त्यसैबाट ऊर्जा प्राप्त गरी भारतको संस्थापन पक्षसँग सम्बन्ध सुधारका निम्ति ‘र’ लाई हतियार बनाउन चाहेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ । पुस्तकमा सन् २००० को एउटा प्रसंग जोडेर श्रीलंकन विद्रोही लिबरेशन टाइगर्स अफ तमिल इलमलाई ठेगान लगाउन राष्ट्रपति चन्द्रिका कुमारातुंगाले ‘‘र’’ को साथ खोजेको उल्लेख गरिएको छ । पुस्तकमा भनिएअनुसार लिट्टेले आन्दोलन बढाएर तनाव दिएपछि कुमारातुंगाले त्यतिबेलाका ‘रअ’ चिफलाई भेट्न चाहेको खबर पठाइछन् । मुलुकले द्वन्द्व, आतंकवादी क्रियाकलाप, विद्युत्, पानीको संकट र आर्थिक मन्दी झेल्दै गरेको बेला उनले मागेको सहयोग आफैँमा अचम्मित तुल्याउने खालको थियो । सन् १९८९ अक्टोबरमा भएको चुनावको अन्तिम ¥यालीको बेला कोलम्बोको टाउन हल अगाडि लिट्टेका कार्यकर्ताले बम हान्दा कुमारातुंगाको दायाँ आँखा क्षतिग्रस्त भएको त्यतिबेलै हो ।
शुरुमा लिट्टेलाई तालिम दिएर लड्न पठाएको भारत पछि आफैंमाथि जाइलाग्न थालेपछि यसै पनि यस मामिलामा गम्भीर थियो । राजीव गान्धीले सेना पठाएर लिट्टेलाई तह लगाउन प्रयास पनि गरेकै हुन् । यता, श्रीलंका भ्रमणका बेला त्यहाँको सेनाले सलामी दिने क्रममा राइफलको कुन्दाले हान्न खोज्दा उनी बल्लबल्ल जोगिएका थिए । त्यसपछि ‘र’ चिफ दुलत चैं तत्कालीन प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार ब्रजेश मिश्रासँग अनुमति लिएर चन्द्रिकालाई भेट्न सुटुक्क कोलम्बो गए । त्यतिबेला राजदूत थिए शिवशंकर मेनन जोपछि भारतको विदेश सचिव हुँदै राष्ट्रिय सुरक्षा सल्लाहकार पनि भएका थिए । उनलाई पनि नपत्याएकी कुमारातुंगाले ‘र’को सहयोग मागेकी थिइन् ।
केपी ओली र चन्द्रिकामा यौटा समान विशेषता के रहेछ भने, भेट्न आएका मान्छेलाई घण्टौं कुराइदिने । भेट हुनेबित्तिकै प्रवचन दिन थालिहाल्ने । अर्तिबुद्धि दिने, सिकाउने । एक दिन आफैँले बोलाएर गएका पाहुनालाई बैठक कक्षमा आधी घण्टा बढी कुराई ठूलो नक्सासहित बैठक कक्षमा प्रवेश गरेकी कुमारातुंगाले एकैचोटी ‘यो प्रभाकरन कहाँ छ देखा त’ भन्दै घोचपेच गरेको प्रसंग पनि दुलतको पुस्तकमा उल्लेख छ । भारतका राष्ट्रपति शंकर दयाल शर्मालाई ४० मीनेट कुराएको प्रसंग त्यसैमा छ । केपी ओलीले कतिलाई कति समय कुराउनुभयो भेट्नेहरूलाई अनुभव हुने नै भयो ।
त्यतिबेला कुमारातुंगाले दुवै मुलुकका राजदूत, विदेशमन्त्री छोडेर ‘र’ चिफलाई किन भेटिन् ? लिट्टेलाई हुर्काउने–बढाउनेमा भारत नै संलग्न रहेकाले प्रभाकरनबारे पनि थाहा हुने संकेत दिन उनले ‘र’ प्रमुखलाई बोलाएर भेटेकी हुन् । यो कुरा दुलतले आफ्नो अनुभवका रूपमा पुस्तकमा समेटेका छन् । भेटमा कुमारातुंगाले धेरै कूटनीतिज्ञको नामै लिएर उनीहरूको विश्वास नलाग्ने भएकाले ‘तिमीलाई बोलाएको’ भनी हाकाहाकी भनेको पनि सो पुस्तकमा उल्लेख छ ।
नेकपाका नेताहरुसँग तनाव उत्कर्षमा पुगेका बेला सामन्त गोयललाई भेट्दा तत्कालीन प्रधानमन्त्री ओलीले ‘म कसैलाई विश्वास गर्दिनँ, ‘रअ’ लाई मात्र गर्छु’ भनेको चर्चालाई यसमा जोडेर हेर्दा अस्वाभाविक लाग्दैन । पुस्तकको पृष्ठ ८१ मा बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले पनि ठ्याक्कै चन्द्रिका कुमारातुंगाले जस्तै ‘र’ चिफसँग एक्लाएक्लै भेट गरेर डाइरेक्ट ब्रिफिङ लिने गरेको जनाइएको छ । कमरेड केपी ओलीले छिमेकका जासुसहरूबाट शिक्षा लिएर भारतसँग सम्बन्ध सुधारका नाममा ‘र’को साथ खोज्नुभएको त थिएन ? बलियो पुष्ट्याइँको आधार पुस्तकमा नभए पनि आशंकालाई बल भने पु¥याएको छ ।
दुलतको पूरा नाम हो, अमरजित सिंह दुलत । भारतीय पुलिस फोर्सबाट जागिर शुरु गरेका उनी इन्टेलिजेन्स ब्युरो हुँदै सन् १९९९ देखि २००० सम्म ‘र’को चिफ भए । त्यहाँबाट रिटायर्ड भएपछि जम्मु–काश्मिर मामिलामा प्रधानमन्त्री कार्यालयमा सल्लाहकारको रूपमा मे २००४ सम्म कार्यरत रहे । सोही कितावमा उनले भारतले आफ्नो विदेश नीति समयानुकूल बनाउन नसक्दा अहिले थक्थकाउनु परेको पनि उल्लेख गरेका छन् । भन्छन्, ’समाज निकै परिवर्तनशील भैसकेको छ, तर हामीले गल्तिमाथि गल्ति गरिरहेका छौँ ।’ नेपालका मधेसवादी दललाई प्रत्यक्ष समर्थन र सहयोग गर्ने नीतिलाई उनले भारतको कमजोरी भनेका छन् । यसमा प्रष्ट पार्दै लेख्छन्, ‘हामीले मधेसीलाई सहयोग गर्ने नै हो भने पनि एकदम गोप्य हिसाबले, चलाखीपूर्वक गर्नुपथ्र्याे तर त्यस्तो भएन ।’ त्यतिबेलाको काठमाडौँ बसाई सम्झंदै उनले पुस्तकमा जोडेका छन्, ‘नेपालमा सडक सञ्जालको अहिलेजस्तो विकास भएको थिएन । कोही मन्त्रीलाई किन रोड बनाउनु भएन भनेर सोधिहाल्यो भने उनीहरू तपाईंंहरूले बनाइदिए के फरक पर्छ र भन्थे ।’ तर, यो कुरालाई गम्भिरतापूर्वक लिएर सोहीअनुसार नेपाल नीति अपनाउन नसक्दा भारतले ठूलो अवसर गुमाएको उनको ठहर छ । त्यहीबेला नै चीनले नेपालको पहिलो ठूलो रिङरोड काठमाडौँ उपत्यकामा बनाइदिएको थियो ।
यसलाई दुलतले नेपाल मामलामा भारतले गरेको अक्षम्य भूल भनेका छन् । भारतले संरक्षण नै गरिदिए हुन्थ्यो भन्ने नेपाली नेताहरूको चाहनालाई सही ढंगले सम्बोधन गर्न नसक्दा नेपालमा चीनको प्रभाव बढेको दुलतको बुझाइ देखिन्छ । राजा वीरेन्द्रले पूर्वाधार विकासका लागि भारतको सहयोग खोजेको उल्लेख गरिएको पुस्तकको पृष्ठ ९० मा धेरैथोक गर्न सक्ने सम्भावना हुँदाहुँदै पनि त्यो मौका गुमाउनुलाई गम्भीर भूल ठह¥याइएको छ ।
टिप्पणीहरू