कर्मचारीका काइते काम कति हो कति
कोही कर्मचारीको हालत ‘अक्सिजन लगाएको बिरामीजस्तो’, हाइप्रोफाइल अड्डामा बस्न नपाए छट्पटीमा परिहाल्ने । मन्त्री, मुख्यसचिवदेखि सचिवसम्म मिलाउने क्षमता भएका खेलाडी कर्मचारीलाई अवसरमाथि अवसरको खात, पावर र पहुँच नहुने निमुखाको चाहिँ पुर्पुरोमा हात !
क्रमबाट कम (क्रमभंग), विक्रमबाट बढी अवसर पाउने कर्मचारीको बोलबोला छ, निजामतीमा । वैदेशिक अध्ययन/भ्रमण तिनैलाई, सिंहदरबारको चौघेरा तोडेर अन्यत्र जानुनपर्ने, खटिए पनि ए ग्रेडका अड्डाबाट त्यस्तैमा जान पाउने भाग्यमानीसमेत उनै । खुमराज कोइरालाले जागिर अवधिभर अर्थ र योजना आयोग छाडेर कतै जानु परेन । बुटवलस्थित अर्थ मन्त्रालयको सचिव बनाई खटाइएकोमा दुई महिना पनि टिकेनन्, अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छन् । निजामतीभित्रै जिन्दगीभर बोइ¨ चढ्न नपाउने र वर्षको २० पटक यस्ता अवसर पाउनेहरू पनि छन् । हाल वाणिज्य तथा आपूर्ति सचिव रहेका मधु मरासिनीले जागिरे जीवनको १३ वर्ष विदेशमै बिताए । उनी पछि छात्रवृत्तिमा वैदेशिक अध्ययनको अवसर पाउने सहसचिव हुन् राजेश्वर ज्ञवाली । ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक रहेका ज्ञवालीले शाखा अधिकृत हुँदादेखि उपसचिव हुँदासम्म गरी तीन पटक वैदेशिक छात्रवृत्ति पाइसकेका छन् ।
एक जना महिला कर्मचारीलाई धादिङको कुनै पालिकामा भर्खरै प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउन खोज्यो सामान्य प्रशासन मन्त्रालयले । उनले सिंगापुर जानलाई ५ ठाउँबाट दबाब दिइन् ।
०५८ सालमै छात्रवृत्ति पाए र इटालीबाट बौद्धिक सम्पत्ति कानुनमा एलएलएम गरेर फर्किए । सात वर्षपछि फेरि अन्तर्राष्ट्रिय व्यापारमा स्नातकोत्तर गर्न दक्षिण कोरिया गए । इजरायलको अलुम्नी युनिभर्सिटीबाट चारमहिने कोर्स गर्ने अवसर पनि पाए । रघुवीर महासेठको विश्वासपात्र भएर काम गरेका उनी महासेठ सिञ्चाइ हुँदै ऊर्जामा बसे । नेपाल ट्रष्टमा हुँदा गोकर्णको जग्गा प्रकरणमा मुछिएका उनी काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा महानगरका १८ सय कर्मचारीहरूको एक तह बढुवामा एक महिनाको तलब तानेर विवाद झेले । केपी ओलीको गृहजिल्ला झापाको सिडिओ खान बल गरे, पाएनन् ।
मुख्यसचिव शंकरदास बैरागीलाई मनाएर ठूला करदाता कार्यालयको हाकिम बनेका उनी चक्र बूढाले सम्हालेको भन्सार विभागमा जान बल गरिरहेका छन् । चिनीको चास्नीमा डुबेकी र आफ्नै सहकर्मीलाई पोलेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको डिजी चलाइरहेकी मतिना वैद्य पनि उही लाइनको कर्मचारीभित्र पर्दछिन् । अहिले बजेट लेखनको जिम्मेवारी पाइरहेका भूपाल बरालले कहिल्यै नरम ठाउँमा बसेर काम गर्नु परेको छैन । उनीझैं कलकत्ताको महावाणिज्यदूत ईश्वर पौडेल, श्रीकृष्ण नेपाल, उमेश ढकाल, कमल भट्टराई, आशमान तामाङहरू अवसरमाथि अवसरको खात लाग्ने कर्मचारीमा पर्छन् ।
सेटिङ कलामा पारंगत कर्मचारी हुन्, झलकराम अधिकारी । प्रधानमन्त्री प्रचण्डका जिल्लाबासी । राजश्व सेवा समूहबाट नउठेका उनी मनग्य राजश्व मार्न पाइन्छ भन्दै खोजेर र रोजेरै ती अड्डामा पुगे । साउन १ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सोही मातहतको राजश्व अनुसन्धान विभागमा जिम्मेवारी पाएका झलकरामलाई साढे चार महिनामै सिंहदरबारमै तानी अध्यागमन विभागको हाकिम बनाइएको छ ।
अहिले प्रधानमन्त्री पुष्पकमल दाहालको निजी सचिव रहेका नवराज ढुंङ्गना त्यस्तै पात्र हुन् । गोरखा, रत्ननगर नगरपालिका र तत्कालीन पोखरा उपमहानगरपालिकामा प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिसकेका उनीमाथि जग्गाको कित्ताकाट खुलाउने भन्दै पैसा उठाएर हिँडेको आरोप छ । प्रधानमन्त्रीको सचिवालयमा आउनुअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वन तथा वातावरण, वीरगञ्ज भन्सार, महालेखा नियन्त्रकको कार्यालयमा बसे । सह–महालेखा नियन्त्रक रहँदा सरुवा, बढुवामा घुस लिएको आरोपसहित छानबिनको लागि २०७८ पुस १३ गते उजुरी दर्ता भएको हो भने रकम लेनदेनसहित थप तीन वटा उजुरीउपर निर्णय हुन बाँकी नै छ ।
एउटै कर्मचारीलाई अफिसर हुँदा २ वर्ष, उपसचिवमा दुई वर्ष र सहसचिवमा तीन वर्ष पढाउनु हुन्छ ? भूमि व्यवस्था तथा अभिलेख विभागको डिजी हुँदा सबै काममा विद्युतीकरण गरे गोकर्णमणि दुवाडीले । तर, जस लिए, शेषकान्त पौडेलले । उनी पिचएडी अध्ययनका लागि जापान पुगेका छन् । भुटानले दुई सय शाखा अधिकृतलाई क्याम्ब्रिजमा पढ्न पठाउँछ । नेपालका सहसचिव पनि वैदेशिक अध्ययनका नाममा उडेका उड्यै छन्, कोभिड कालमा समेत तिनको उडान रोकिएन । अर्काेतिर अहिले निजामती सेवामा २८ प्रतिशत महिला छन् । तिनलाई सिंहदरबारबाट बाहिर पठाउन खोजियो भने सासु, ससुरा, बालबच्चा देखाएर जान मान्दैनन् ।
एक जना महिला कर्मचारीलाई धादिङको कुनै पालिकामा भर्खरै प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउन खोज्यो सामान्य प्रशासन मन्त्रालयले । केही समयमै छात्रवृत्तिमा सिंगापुरतिर एक वर्ष वैदेशिक अध्ययनको अवसरसमेत आयो । उनले सिंगापुर जानलाई ५ ठाउँबाट दबाब दिइन् । काठमाडौं छाडेर बाहिर जानुप¥यो भने सासू–ससुरा, बालबच्चा देखाउने अनि वैदेशिक अध्ययनमा जानचाहिँ अनेकन पावर लगाउने ! शहरी विकासतिर कनिष्ट भए पनि सुरेन्द्रमोहन श्रेष्ठले डिजी खाइरहेका छन् । सहसचिव भएको जम्मा दुई वर्ष भयो । नौ वर्षअघि सहसचिव भएकाहरू जिम्मेवारी नपाएर कौसीमा घाम तापिरहेका छन् । सहसचिवहरू इ. गणेशराज वस्ती, पदम मैनाली, रामचन्द्र दंगालहरू जिल्लाराम छन्, गतिलो जिम्मेवारी पाएका छैनन् । सहसचिव इश्वरचन्द्र मरहठ्ठा भ्रष्टाचारका कारण निलम्बनमा परे । त्यहाँ सिनियरहरूलाई बाइपास गरेर भरतप्रसाद अर्याललाई डोलीको इडी बनाइएको छ । यस्ता विकृति निजामतीभित्र कति छन् कति !
टिप्पणीहरू