वामपन्थीलाई यस्तोसँग केले बिगार्‍यो ?

वामपन्थीलाई यस्तोसँग केले बिगार्‍यो ?

हामी कस्ता रहेछौं भन्ने कुरा अब जनतासँग नभएर आफैँलाई सोध्नुपर्ने बेला आएको छ । हामी भन्नाले म र तपाईं होइन, तपाईं र मजस्ता मानिस आबद्ध रहेका राजनीतिक दल हुन् । जस्तो राजनीतिक दल, सोहीअनुसारका नेता र नेताअनुसारका अरू । उहिले उहिले राजनीतिक दलले भनेको ‘जनतालाई पढाएको वा सिकाएको कुरा’ देखाएको सपना र आज जनताले सुनिरहेको, देखिरहेको र प्रत्यक्ष भोगिरहेको केही पनि एकआपसमा मिल्दैन, धेरै फरक छन्– आदर्शबाट च्युत, सिद्धान्तबाट च्युत, विचार र व्यवहारबाट पनि च्युत छन् सबका सब । इमानदारी हराएको छ, नैतिकता नासिएको छ, सादगी हराएको छ । सिंगो राजनीति नै विशुद्ध अर्थवादको चंगुलमा फसेको छ । नौलो जनवाद, नयाँ जनवाद, समाजवाद, साम्यवादसँग वर्तमान वामपन्थी राजनीतिको साइनो टुटेको छ । यस्तो भएपछि नेता, कार्यकर्ता र जनता बीचको साइनो टुट्नु स्वाभाविक छ । पहिले भनिएका सबैजसो राम्रा कुरा अहिले सम्झिँदा एकादेशको कथा जस्तै लाग्छन् । जनता अब राजनीतिक आन्दोलनका एक्टर नभएर बजारबाट खरिदबिक्री गरिने वस्तुसरह बन्न पुगेका छन् । 

माओका छोराले कोरियामा युद्ध लड्न गएर वीरगति प्राप्त गरेका थिए तर हाम्रा क्रान्तिकारी नेताका छोराछोरी भने सत्ता संरक्षित डन, गुण्डा, तस्कर भएर निस्किएका छन् र बदनाम छन् । गाउँ समाजमा यिनलाई भाटो लिएर लखेट्छन् जनताले । यस्तो अवस्था देख्दा लाजले शिर निहुरिन्छ । तर अवस्था यस्तो बनिसक्दा पनि, जनताले, समाजले आफूलाई के–कस्तो नजरले हेर्छन् वा सोचेका होलान् भनेर कसैले पीर मानेको, गम्भीर बनेर सोचेको देखिँदैन । बडो दुःखका साथ भन्नैपर्छ कि सत्तामा पुगेर बदलिएको वामपन्थ आज जनता र समाजले सोचेको र चाहेको जस्तो रहेन । पार्टी र नेताको जनतासँगको सम्बन्ध राजनीतिक छैन, सामाजिक छैन र व्यावहारिक पनि छैन । सबै किसिमका सम्बन्ध स्वार्थमा आधारित हुन पुगेका छन् । पैसाले नै गुट बनाउने हो र अन्त्यमा त्यो चुनावमा सहयोग लिने, चुनाव जित्ने सुनिश्चितता खोज्ने कुरामा सीमित छ । वर्गीय नाता अब धेरैको बीचमा रहेन । यस्तो भएपछि वामपन्थी राजनीति कसरी अघि बढ्छ ? नयाँप्रति मान्छेहरू किन तानिँदै छन् त भन्दा यिनै कुराले गर्दा हो । 

चेत कहिले खुल्ने होला ?

अब खेतीपातीको समय आइरहेको छ । नहरमा पानी छैन, बजारमा अथवा कृषि सामग्री संस्थान वा सहकारीमा मल र बीउ छैन । र, भर्ती लगाउन साथमा पैसा पनि छैन । यस्तो भएपछि कसरी खेतीपाती राम्रो हुन्छ, उत्पादन बढ्छ र किसानको आम्दानी बढ्छ ? घरमा उमेर पुगेका छोराछोरी सबै बेरोजगार छन् । आम्दानीको कुनै स्रोत छैन । विदेश जान पनि धेरै पैसा लाग्छ । हुन त निःशुल्क भिसा भन्छ सरकारले तर म्यानपावर÷दलाललाई पैसा नतिरी एक जना पनि विदेश जानै सक्दैन । राजनीतिक दल, सरकार केका लागि हो ? जनताका यस्तै समस्या समाधान गर्नका लागि होइन र ? देशमा मल पाइन्न तर बाहिरबाट मल ल्याउन खोजे पुलिसले कि बाटो ढुकेर खोस्छ कि भने पैसा लिन्छ र बल्ल ल्याउन दिन्छ । सरकार छ कि भन्न पनि नसकिने स्थिति छ । जनता नठगिएको र नलुटिएको कहाँ छ ? 

जसले जेसुकै भने पनि वा जस्तोसुकै दावा गरे पनि जनता पुराना दलसँग, तिनका कुकृत्यबाट र तिनका चालचरित्रबाट आजित भैसकेका छन् । खास गरेर अहिले स्नातक गरिरहेको र अब पहिलोपटक भोट हाल्ने युवा जमातले वर्तमान राजनीतिक र साथसाथै प्रशासनिक नेतृत्वलाई असाध्यै भ्रष्ट ठान्दछ र उनीहरूलाई नेता मान्न तयार देखिन्न । यो पुस्ता यसरी नकारात्मक बन्नु भनेको खास गरी वामपन्थीहरूको निम्ति ठूलो चुनौती हो । यस्तै रवैया कायम रहिरहने हो भने वामपन्थी राजनीतिको भविष्य ध्वस्त हुनबाट कसैले रोक्न सक्नेछैन । वामपन्थी जतिछिटो सुध्रिन सक्यो उति ठूलो भलाई हुनेछ उनीहरूको । 

बाँकी त, न कसैले कसैलाई दिने सल्लाहले उसको राजनीतिक भविष्य सुध्रिने हो न त सराप्दैमा कसैको राजनीति सकिन्छ नै ! तैपनि सबैले आ–आफ्नो धर्म निर्वाह गर्नुपर्छ र यी तमाम कुरा त्यसैको उपक्रम हो ।

 

टिप्पणीहरू