कोही नक्कली प्रेम राई बन्न कस्सिएपछि...
‘आऽऽऽ, मैं प्रेम राई बनिदिन्छु, जे पर्ला–पर्ला !’ नक्कली भुटानी काण्डका मुख्य बिचौलिया सानु भण्डारी र केशव दुलालहरूले बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा गृहसचिव प्रेम राईलाई बोलाउने गफ हाँके । किनभने, ओली सरकारका गृह सल्लाहकार इन्द्रजित राईले ‘यो काममा उनी भइदिए हामीलाई सजिलो हुन्छ’ भनेका थिए । उनको कुरा सुनेपछि सानुले भने, ‘शेरबहादुर दाइबाट फोन गराएर म त्यहीँ बोलाइदिन्छु !’
इन्द्रजीतले सानुलाई अर्को सूचना पनि दिए, जब राई गृह सचिवबाट अवकास पाएर अख्तियार प्रमुख बन्ने लाइनमा थिए, त्यसबेला उनले शेरबहादुरबाट राम्रो सिग्नल पाएका थिएनन् । त्यसैले शेरबहादुरले भन्नेबित्तिकै मानिहाल्छन् भन्ने निश्चित थिएन । नभन्दै भयो पनि त्यस्तै । तै, सानुले जसरी पनि बोलाउने भनेका थिए । यद्यपि, प्रहरी अनुसन्धानमा प्रेमले अख्तियारमा जान देउवाका साथका निम्ति सानुसँग हारगुहार गरेको कतैबाट पनि खुल्न सकेन । आरजु राणासँग राम्रो सम्पर्क भएका सानुले देउवामार्फत प्रेमलाई बोलाएर हो कि नबोलाएकाले हो, थाहा छैन । तर, प्रेम बूढानीलकण्ठ पुगेनन् । सानु भने जे कुरामा पनि दलाली गर्ने, प्रहरीका सरुवा, बढुवादेखि निजामतीका अदलबदलसम्ममा पैसा उठाएर हिँड्ने ! यस्ता हर्कतबारे प्रेम राई सचिव हुँदैमा जानकार रहेको तथ्य भने अनुसन्धानबाट खुलेको छ ।
सानुले बयानमै भनेका छन्, ‘भानु देउवामार्फत समय मिलाएर शेरबहादुरकहाँ प्रेम राईलाई भेटाउनका लागि दुई घण्टा पर्खिएको हो ।’ तर, प्रेम नगएको कुरा इन्द्रजितले बयानमा उल्लेख गरेका छन् । सानुले इन्द्रजीतले भनेको कुरा यसरी खोलेको पाइन्छ ‘प्रेम राई आएन, मैं प्रेम राई भएर जान्छु । देउवालाई के थाहा हुन्छ र ?’ तर, उनीहरूले बयानमा भनेजस्तो प्रेम राईको गाडीको डिकीमा डेढ करोड हालेको दाबी पत्याउनलायकको छैन । त्यसो त राई भनेपछि ‘अति’ माया गर्ने प्रेमको बानी नै हो । त्यसैले इन्द्रजीतसँग गृहमा हुञ्जेल निकै राम्रो सम्बन्ध थियो । तर, यो काण्डमा कतैबाट पनि संलग्नता पुष्टि हुँदैन ।
सानु भण्डारी समातिएपछि टोपबहादुरले प्रहरीहरूसँग भन्ने गरेका थिए, ‘सन्देशलाई ल्याउनु न !’ खासमा एमाले युवासंघमा आवद्ध दाङका सन्देश शर्मा सानु भण्डारी र केशव दुलालजत्रा बिचौलिया थिएनन् । उनको पहुँच प्रचण्ड, बादल, उनका छोरा र केपी ओलीसँग मात्र थियो । यो काण्डमा धेरैजसो दाङका मान्छे संलग्न छन् । सानुले बयानमा ‘हामी पो पीडित हौं’ भनेका छन् । मुद्दा दर्ता नहोस् भन्नका लागि भण्डारी र दुलालले ५–७ करोड खर्च गरेर सेटल गराएका थिए । पीडित पनि हजार आसपासका छन् । तर, एक–डेढ सयमात्रै उजुर हाल्न आए । हालका आइजीले सन्देशलाई समाउन खोजेको कुरा दुलाल र सचिव टेकनारायण पाण्डेको कुराकानीबाट पनि खुल्छ । वसन्त कुँवरले अनुसन्धानकर्मी प्रहरीलाई भनेका थिए, ‘अब यसमा जानैपर्छ । नत्र, तिनैले हामीलाई टोक्लान् र सिध्याउलान् !’
टिप्पणीहरू