थाइल्याण्डबाट सिक्नु नि थपक्क

थाइल्याण्डबाट सिक्नु नि थपक्क

२४० वर्ष लामो इतिहास भएको राजतन्त्र ढलेर गणतन्त्र ल्याएको भर्खर १५ वर्ष पुग्दै छ । यसबीच गणतन्त्रले जनआकांक्षा संबोधन गर्न नसकेको भन्दै फेरि पुरानै व्यवस्थामा फर्किनुपर्ने आवाज संगठित हुँदै छ ।

राजा फर्काउने अभियानमा रहेको पूर्वपञ्चहरूको दल राप्रपाले चुनावी स्वाद चाख्दै गर्दा राजसंस्था भएको मुलुक थाइल्याण्डमा भने चुनावको परिणाम ठीक उल्टो गणतन्त्रवादीको पक्षमा गएको छ ।गत वैशाख ३१ गते सम्पन्न थाइल्याण्डको आमचुनावमा चार वर्षअघि मात्रै स्थापित नयाँ दलले बलियो परम्परावादी शक्ति राजा र सेनालाई वैधानिक चुनौती दिएपछि अहिले विश्वभर चर्चा चुलिएको छ । ४१ वर्षीय युवाले नेतृत्व गरेको उक्त पार्टीले राजधानी बैंककका ३२ मध्ये ३१ ठाउँमा विजयको झण्डा फहराएको छ । यसलाई धेरैले परम्परागत पार्टीविरुद्धको ब्यालेट विद्रोहका रूपमा अथ्र्याएका छन् ।

यतिबेला विश्व राजनीतिमै भ्रष्टाचारविरोधी अभियानसँगै परम्परावादी शक्तिको विकल्पमा नयाँ दल रोज्ने रुझान देखिन्छ । युक्रेनमा कमेडियन भोलोदिमिर जेलिन्स्कीलाई त्यहाँका जनताले अपार विश्वास गरेर चुनाव जिताए । अहिले पश्चिमा शक्तिको आडमा रुससँग युद्ध गरिरहेका उनी त्यहाँको राष्ट्रपति छन् । अरविन्द केजरीवाल त्यसैगरी उदाएका हुन् । दिल्लीको मुख्यमन्त्री रहेका उनको दल आमआदमी पार्टीले पञ्जाबलगायत भारतका अन्य प्रदेशमा पनि आफ्नो दबदबा बढाउँदै लगेको छ । 

नेपालमा रवि लामिछाने उदाउनुको पछाडि पनि कुनै बैचारिक तथा राजनीतिक आधार देखिँदैन । पार्टी गठनको चार महिनामै प्रतिनिधिसभामा २१ वटा सिट जितेर देशकै चौथो राजनीतिक शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टी सुशासन र भ्रष्टाचारविरुद्ध नारा लगाएकै भरमा जनताबाट अनुमोदित भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको ११ लाख र राप्रपाले ल्याएको साढे ६ लाख समानुपातिक भोटको मूल आधार भ्रष्टाचारविरुद्ध उनीहरूले उठाएको नारा हो । थाइल्याण्डमा पनि नयाँ दलले समानुपातिकतर्फ ३५ प्रतिशत भोट ल्याएको छ । 

थाइल्याण्डमा राजा र उनको परिवारले मोज गर्ने तर जनताको केही मतलब नगर्ने भन्ने आम असन्तुष्टि छ । नेपालमा रवि लामिछानेले सनातनी दलको कमजोरीलाई क्यास गरेर भोट बटुलेजस्तै त्यहाँको नयाँ पार्टीले पनि राजतन्त्रको अत्याचारबाट थलिएका मतदाताको विश्वास आर्जन गरेको देखिन्छ । जसरी नेपालमा नयाँ काम गरेर नभई अरु पार्टीको कमजोरीले रास्वपाको उदय गरायो, थाइल्याण्डमा पनि ‘राजा दादा’ को नाराले ४१ वर्षका युवालाई चुनावी सफलताको स्वाद चखायो । 

त्यसो त, कहिलेकाहीँ पुराना शक्ति पनि अतिवादी एजेण्डा बिकाएर यसैगरी हावाहुण्डरी जसरी आउने गरेको इतिहास छ । अमेरिकामा डोनाल्ड ट्रम्प, भारतमा नरेन्द्र मोदी र नेपालमै केपी ओलीको उदयलाई उदाहरण दिने गरिन्छ । उनीहरूले पाएको चुनावी सफलता अति राष्ट्रवादको संगठित मत हो । 

थाइल्याण्डको चुनाव अर्को कारणले पनि चर्चामा छ । विश्वभर नै मतदातामा चुनावी उत्साह मर्दै गएको भनिएका बेला त्यहाँ झण्डै ८५ प्रतिशत भोट खस्नु आफैँमा अद्वितीय हो । अर्कोतिर त्यहाँको चुनावी प्रक्रिया पनि उस्तै । साँझ पाँच बजे मतदान सम्पन्न भएकोमा राति ९ बजे देशभरिको नतिजा सार्वजनिक भैसकेको थियो । जबकि नेपालमा छिटोमा पनि सम्पूर्ण परिणाम आइसक्न एक साता लाग्ने गरेको छ । नेपालमा जस्तै त्यहाँ पनि पेपर भोटिङ नै भएको हो । तर, केही घण्टामै देशभरको परिणाम सार्वजनिक गर्न कसरी सम्भव भयो ? मुख्यतः थाइल्याण्डको चुनावी प्रक्रिया धेरै मुलुकको भन्दा फरक छ । मतदान सकेर सबै बाक्सा एकै ठाउँमा जम्मा पार्ने अनि दलका प्रतिनिधि राखेर गणना गर्ने गरिँदैन त्यहाँ । हरेक बुथको मतगणना त्यहीँ बाक्सा घोप्ट्याएर गरिन्छ । 

सेना र राजसंस्थाको प्रभावले पनि होला, चुनावी प्रक्रिया र परिणामप्रति कसैले पनि आपत्ति जनाउँदैनन् । गणनामा पार्टीको प्रतिनिधि राख्ने चलन पनि छैन । नेपालमा परिचयपत्र लिएर भित्र छिर्नेदेखि गणनाका दौरान स–साना विषयमा विवाद हुन्छ । मतगणना गर्ने भनेर यता तयारी हुन्छ, उता दलका प्रतिनिधि खोज्दैमा दिन बित्छ । तर, त्यहाँ चुनावमा खटिएका कर्मचारीले सूचना निकाल्छन्, गणना गर्छन् र परिणाम घोषणा हुन्छ । न मुद्दा पर्छ न कतै उजुर बाजुर । अर्कोतिर चुनावको दिन देशै बन्द गर्ने अभ्यास पनि छैन । त्यहाँ चुनावको दिनसमेत यातायात, होटल निर्वाध चल्ने गरेकै छन् । 

 

टिप्पणीहरू