मान्छे शहर पस्ने, विकास गाउँमा कुरी बस्ने

मान्छे शहर पस्ने, विकास गाउँमा कुरी बस्ने

जनगणना २०७८ अनुसार काभ्रेको भुम्लु गाउँपालिकामा १५ हजार ६ सय ७८ जना रहेको तथ्यांक सार्वजनिक भए पनि गाउँपालिका स्वयंले तयार गरेको भिलेज प्रोफाइलमा भने २७ हजार ५ सय ५८ को विवरण उल्लेख छ । 

मतदाता सूचीमा पनि त्यत्तिकै संख्या भएको भुम्लुका १२ हजारभन्दा धेरै नागरिक शहर केन्द्रित छन् । केही बैदेशिक रोजगारमा छन् । गाउँमा विकासका योजना तय भए पनि नागरिक नै बस्न छाडेपछि कसका लागि विकास भन्ने प्रश्न उठ्न थालेका छन् । ‘गाउँ पातलिँदै छ, विकास थपिँदै छ’–भुम्लु गाउँपालिकामा एमाले अध्यक्ष प्रेम लामाले भन्नुभयो, ‘गाउँमा सुविधा थप्दै जाऊँ, बाहिरिएका नागरिकहरूलाई गाउँ फर्काऊँ ।’

भुम्लु गाउँपालिकामा माईनस १.८० को दरले जनसंख्या घट्दो छ । काभ्रेपलाञ्चोक जिल्लाको सबैभन्दा धेरै चौरी देउराली गाउँपालिकामा –३.७६ दरले जनसंख्या घटेको छ । बढेको भनिएको बनेपा नगरपालिकामा पनि १.८८ मात्रै छ । बनेपाबाहेक १२ वटा पालिकामा जनसंख्या माइनसमा गएको छ । जिल्लाकै तथ्याङ्क –०.४६ छ । बेथान्चोकमा –१.१०, भुम्लु –१.८०, चौरीदेउरालीमा–३.७६, धुलिखेलमा –१.५९, खानिखोलामा–१.५९, महाभारत–१.२३, मण्डनदेउपुरमा–०.६९, नमोबुद्धमा–१.१६, पनौतीमा –०.९६, पाँचखालमा –०.६५, रोशीमा –१.८२ र तेमालमा –२.८० जनसंख्या घट्दो क्रममा छ । 

बस्ती पातलिँदै जाँदा पालिकाहरूले नागरिकहरूलाई फर्काउन शिक्षा, स्वास्थ्य, रोजगार तथा अन्य अवसरको सिर्जना गर्नु आवश्यक छ । संघ र प्रदेश सरकारले स्थानीय तहमा विकास केन्द्रित गरे पनि नागरिकहरूले भने शहरी क्षेत्र र अझ धेरै विदेशिन खोजिरहेका छन् । जिल्लाबाट मात्रै रोजगारका लागि २० हजारभन्दा धेरै नागरिक विदेशिएका छन् भने अध्ययनका लागि उतैको नागरिक भएर बस्नेहरूको संख्या पनि बढिरहेको छ । राज्यले आफ्नै स्थानमा नागरिक अडिने वातावरण तयार गर्न सकेन भने उत्पादन ठप्प हुने र आयातका कारण मुलुक थप संकटमा पर्ने निश्चित छ ।

– मोतीराम तिमल्सिना
 

टिप्पणीहरू