जसले मार्‍यो उसैलाई फुल चढाऊँ कसरी

जसले मार्‍यो  उसैलाई फुल चढाऊँ कसरी

सशस्त्र युद्ध थालिएको तीन वर्ष पुग्दै थियो । शान्त र सुनसान गाउँमा पूर्व जनप्रतिनिधिसमेत रहेका समाजसेवी भीमप्रसाद तिमल्सिनाको हत्याको खवरले सन्नाटा छायो । माओवादीले २०५५ साल फागुन १५ गते साँझ तत्कालीन ढुंखर्क गाविस–७ मा खाना खाइरहेका बेला अपहरण गरी हत्या गरिएका पूर्वगाविस अध्यक्ष भीमप्रसाद तिमल्सिनाका छोरा विष्णु तिमल्सिना अहिले राज्यसँग न्याय माग्दैछन् । ‘शहीद फरक फरक छन् । माओवादीद्वारा मारिएका व्यक्तिलाई राज्यले किन शहीद भन्दैन ? हामी विस्थापित भयौं । दुई वर्षको नाबालकलाई पनि अपहरण गर्ने प्रयास भयो । खेतबाट भाग्यौं । खोलाबाट भाग्यौं । ९८ वर्षीया हजुरआमा बुबाको हत्यापछि मानसिक तनावले बित्नुभयो’–भीमप्रसादका छोरा विष्णुप्रसादले बताए । कसैले सम्झँदैन, कसैले वास्ता गर्दैन भन्दै थिए । यो कार्यक्रममा मेरो बुबाको फोटो खोइ ? बुबालाई जसले मार्‍यो उसैको तस्बिरमा म कसरी माल्यार्पण गरुँ ?’

माओवादीद्वारा नै ०५६ मंसिर १४ गते तत्कालीन गाविस उपाध्यक्षसमेत रहेका पाँचखालका बलराम सापकोटाको हत्या भयो । मिति र कारण आजसम्म सार्वजनिक नगरेकोमा श्रीमती सरिता आक्रोश पोख्छिन् । घरमा बसिरहेका बेला अपहरण र बेपत्ता बनाएर मारिएका जनप्रतिनिधिको मरणलाई हेर्ने दृष्टिकोण फरक फरक हुनुपर्छ’– सरिताको भनाई छ– ‘परिवारको भद्र सदस्य बितेपछि दुई वर्षकी छोरीको लालनपालन र शिक्षादीक्षाको समस्या छ । राज्य केही पैसा दिएर पन्छिरहेको छ । हत्याको कारण खोतल्दा हत्यारालाई कारवाही र परिवारको जिम्मेवारी लिनु पर्दैन राज्यले ?’ हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराधमा माफी दिने कस्तो गणतन्त्र हो ? शहीद परिवारको साझा गुनासो छ । 

चौरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलगाईले बेपत्ता श्रीमान्का हालसम्म पहिचान नहुँदा कठिन भएको बताइन् । ‘श्रीमान् छन् भनौ आउँदैनन्, छैनन् भनौं मरे–बाँचेको पत्तो छैन’–उनले भनिन्– ‘श्रीमान् बेपत्ता हुँदा छोरी एक वर्षकी थिइन् । अहिले २५ की भइन् । म १९ वर्षको थिएँ, ४४ वर्षकी भएँ । उहाँ बेपत्ता भएको २४ वर्ष भयो । मेरो परिवारका ५ जना शहीद छन् । आज मेरो जन्मदिन हो । यो दिन म बेपत्ता श्रीमान् तत्काल पत्ता लगाउन राज्यसँग जोडदार माग गर्दछु ।’ रेणुकालाई माओवादीले ०६४ सालमा समानुपातिक सांसद र २०७९ मा गाउँपालिका अध्यक्ष बनाएको छ । ‘एकल महिला भनौँ– श्रीमान् मरेको खबर छैन, एकल महिला हैन भन्दा श्रीमान् छैनन्– कसरी बुझाऊँ मन ?’ पीडा मिश्रित स्वरमा भनिन्– ‘शहीदका परिवारलाई त शहीद भयो भन्ने मात्रै होला तर हामीलाई न शहीद, न खबर !’ 

०६२/६३ को जनआन्दोलन क्रममा चैत २७ गते प्रहरीको गोली लागेर घाइते भएका बनेपाका मुकेश कायस्थ ०८० वैशाख २७ गते १७ वर्ष ओछ्यानमै जिउँदो शहीदका रूपमा रहेर बिते । मुकेशकी आमा मीराले छोरा बितेको २० दिनमै राज्यको तर्फबाट सम्मान पाउनु खुशीको कुरा भए पनि विधिको शासन हुनुपर्नेमा जोड दिइन् । गणतन्त्र दिवसको अवसर पारी काभ्रेपलाञ्चोक जिल्लामा विभिन्न कारणबाट शहीद भएका व्यक्तिका परिवारलाई सम्मान गरिएको थियो । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम संयोजक रहेको मूल समारोह समितिले सो कार्यक्रम गरेको हो ।

मानवअधिकारकर्मी एवं पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष भोजराज तिमल्सिनाले जिल्लामा लोकतान्त्रिक आन्दोलनका दौरान ५ जना, प्रजातान्त्रिक आन्दोलनमा ६ जना, सशस्त्र द्वन्द्वमा २ सय ७८ जना र निर्वाचनका क्रममा १ जना गरी ३६ महिला र २ सय ५४ सहित २ सय ९० जना शहीद भएको बताउनु भयो । माओवादीको युद्धका समयमा मात्रै २ सय ७८ जनाको निधन भएको जानकारी दिए । 
कांग्रेस उपसभापति रमेशप्रसाद हुमागाई, एमाले सचिव राजन भुर्तेल, माओवादी संयोजक भोला अर्याल, नेकपा समाजवादीका गोकुल गौतम, पत्रकार महासंघका अध्यक्ष बद्रिराज तिमल्सिनालगायतले गणतन्त्र दिवसको महत्वबारे कार्यक्रममा धारणा व्यक्त गरेका थिए ।

– मोतीराम तिमल्सिना
 

टिप्पणीहरू