युवा विदेशिँदा कलाहरुको काल

युवा विदेशिँदा कलाहरुको काल

– ईश्वरी राई (इशु)

काठमाडौँस्थित वसन्तपुरको गल्लीमा एउटा सानो पसल छ । जसका मालिक हुन्–५४ वर्षीय रामसुन्दर बज्राचार्य । उनले त्यो गल्ली अर्थात् ‘यट्खा’ टोलमा पसल खोलेको १३ वर्ष भयो । यहाँ उनी मेसिनको सहायताले पुराना भाँडालगायत मूर्ति मर्मत गर्छन् । त्यो काम गर्नका लागि मेसिन १०–१५ वटा र ग्यास ३–४ वटा छन् । शुरुमा ग्राहकले काम नलाग्ने, पुराना, भाँचिएका र कुच्चिएका सामान ल्याइदिन्छन् । अनि त्यही सामानलाई उनी नयाँ बनाएर पठाइदिन्छन् । 

ग्राहकहरु उनीकहाँ गएर भन्छन्– ‘साहुजी, यो मूर्तिको हात भाँचियो, जोडेर राम्रोसँग बनाइदिनु है । दाइ, यो भगवानको मूर्तिले शंख फुकेको छ, यसलाई आशीर्वाद दिइरहेको बनाइदिनु ल ।’ उनीकहाँ टुटेका भाँडा, करुवा र घण्टीलगायत सामान आउने गर्छ । भन्छन्, ‘फुटेर ल्याएको करुवालाई दाइजो दिन लायकको बनाएर पठाइदिन्छु ।’

काम गरेर धेरै पैसा कमाउने लालच त छैन तर सकुञ्जेल काम गर्न चाहन्छन् । ‘अहिलेसम्म धेरै पैसा कमाउन सकेको छैन । पैसा थुपारेर राख्ने इच्छा पनि होइन तर सकेसम्म काम गर्न चाहन्छु,’ उनले भने । 
‘अस्ति भर्खर ४ जना आएर यसलाई बनाइदिनु भन्दै २५ किलोको मूर्ति दिए । मैले त्यो मूर्तिलाई अग्लो बनाएर ४ वटा हातखुट्टा थपिदिएँ । मूर्ति तयार भइसकेपछि आएर लगे तर मलाई ज्याला दिएनन्,’ उनले हाँस्दै भने, ‘म केही बोलिनँ, झगडा पनि गरिनँ । त्यस्ता मान्छेलाई के भन्नु र !’

कसरी सिके काम ?

पिता पेशाले ‘सुनार’ थिए । सानो छँदा रामलाई पनि आफ्ना पिताले झैँ काम गर्ने रहर थियो तर उनी ठूलो भएसँगै बुबा कमजोर हुँदै गए । जसकारण पुख्र्याैली काम गर्न पाएनन् । ‘बुबा बूढो हुनुभयो । हात र जीउ काँप्न थाल्यो । काम गर्न सक्नुभएन । त्यसैले मलाई सुनचाँदीको काम सिकाउने मान्छे कोही भएनन्,’ उनी सुनाउँछन् । त्यसपछि उनी अरुले काम गरिरहेको ठाउँमा जान थाले । जहाँ देख्ने गर्थे– ‘पित्तल पगालेको र त्यसलाई भाँडाको आकृति दिएको ।’ त्यही देखेर ९ वर्षकै उमेरमा जानिसकेका थिए– पित्तल पगाल्न । यसबीच कालिमाटीस्थित एक पसलमा तालिम लिन थाले । गुरु थिए– हेराकाजी शाक्य र ज्ञानकाजी शाक्य । 

२०४० सालमा पाटनमा कारखाना खोली करुवा, कचौरा, हुक्का र पूजा गरिने सामग्री बनाउन थाले । तर उनको कारखानामा विशेषगरी ‘अन्ती’ (नेवार समुदायले रक्सी हाल्न प्रयोग गर्ने भाँडो) बन्थ्यो । आफैँले खोलेका कारखाना राम्रै चल्दै थियो । तर विस्तारै काम गर्ने युवाहरूमा विदेश जाने सोच पलाउन थाल्यो । आफूसँग काम गरिरहेका मान्छे विदेश पलायन हुन थालेपछि कामदारको खडेरी लाग्यो र कारखाना नै बन्द गनुप¥यो । ‘काम गर्ने मान्छे कोही भएन, केटाहरू कारखाना डुबाएर विदेश गए,’ उनले भने ।

 

टिप्पणीहरू