घरमा बस्ने, घरभाडा कस्ने, भोलि को फस्ने ?

घरमा बस्ने, घरभाडा कस्ने, भोलि को फस्ने ?

जसरी संघीय संसद्का २ सय ७५ मध्ये १५२ सांसदमध्ये कतिपयले ढाँटेर/छलेर मासिक घरभाडा बुझिरहेका छन्, उसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानका कतिपय प्राज्ञले समेत सांसदहरूकै सिको गरेको आरोप लाग्न थालेको छ । आमाबुवा, पति/पत्नी या परिवारका अन्य सदस्यको नाममा घर भएका सांसदले मासिक भाडा पाउने लोभमा झुटो विवरण टिपाएकै शैलीमा केही प्राज्ञले समेत ढाँटेर घर भाडा लिइरहेको केही साहित्यकारहरूको आरोप छ । सांसदभन्दा पनि प्राज्ञहरूले ७ हजार बढी घर भाडा सुविधा बुझ्ने गरेका छन् । 

संघीय संसद सचिवालयका अनुसार, काठमाडौंमा घर हुने सांसदलाई मर्मत खर्चबापत ९ हजार र घर नहुनेलाई १८ हजार भाडा उपलब्ध गराइँदै आएको छ । तर नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूले भने घरभाडा सुविधाबापत मासिक २५ हजार सुविधा लिँदै आएको भेटिएको छ । यसरी काठमाडौं उपत्यकामा घर भएर पनि प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले घर भाडा बुझिरहेको भन्दै कतिपयले आपत्ति जनाएका छन् । प्रज्ञा प्रतिष्ठानका प्रज्ञा परिषद् सदस्यहरूको आजिवन सुविधामा करौती चलाएर चर्चा कमाएका कुलपति भूपाल राई, मध्यपुर ठिमी नगरपालिका–८ राईगाउँमा बस्दै आएका छन् । सगोलकै अविवाहित बहिनी (त्रिवि शिक्षण अस्पतालकी नर्ससमेत) को घरमा बस्दै आएको भए पनि उनले घर भाडाबापतको सुविधा बुझ््दै आएकोमा कतिपय साहित्यकारहरूले असन्तुष्टि पोखेका छन् । तर, राई निकटस्थ प्राज्ञहरूलाई जनआस्थाले सम्पर्क गर्दा यसलाई ‘गलत सूचना’भन्दै खण्डन गरेका छन् । ती प्राज्ञले गोपाल छाङ्छा र भूपाल राई दाजु भाईले नै डेराको जिन्दगी बिताउँदै आएको जिकिर गरेका छन् । 

एकेडेमीमा उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा), डा. मधुसूदन गिरी र त्रैलोक्यमान बनेपाली (अगिव) बाहेक अन्य ८ प्राज्ञले घरभाडा वापतको मासिक २५ हजार रूपैंया रूपमा बुझ्दै आएका छन् । उपकुलपति विमल निभाले वृद्धभत्तासमेत नलिने घोषणा गरेका छन् । केही साहित्यकारले प्रज्ञा परिषद् सदस्य बाबा बस्नेतमाथि यस्तो आरोप लगाएका छन् तर बस्नेतले आफूले बैंकको ऋृण लिएर घर बनाएको र ०७२ सालको भूकम्पपछि उक्त घर बेचेर अहिले भाडाको घरमा बस्दै आएको प्रतिक्रिया दिएकी छन् । 

प्रलेसलाई बेग्लै पिरलो 

राम रमाइलो गरेर मान्छेहरू काठमाडौं फिर्ती भइसके तर होटलदेखि बसको भाडा तिर्न नसक्दा अध्यक्ष तनावमा छन् । यस्तो भुक्तमान व्यहोरिरहेका छन् प्रलेसका अध्यक्ष मधुसूदन गिरीले । प्रगतिशील लेखक संघको परिषद् बैठक आयोजना गरिएको थियो कर्णालीमा । सोही नाममा वैशाख दोश्रोदेखि तेश्रो सातासम्म रारा घुम्न निस्कियो प्रज्ञा प्रतिष्ठानको जम्बो टोली । प्रज्ञा प्रतिष्ठानका प्रत्येक विभागबाट तीन÷तीन लाख बजेट निकालेर कुलपति भूपाल राई, उपकुलपति विमल निभा, सदस्य सचिव धनप्रसाद सुवेदी, परिषद् सदस्य मधुसूदन गिरी, परिषद् सदस्य बाबा बस्नेत, परिषद् सदस्य कौशिला रिसाल, परिषद् सदस्य अगिम बनेपाली र परिषद् सदस्य कृष्णराज अधिकारीका अलावा कर्मचारी लक्ष्मी गौतम, योजना अधिकृत सविना ज्ञवाली, शाखा अधिकृत उत्तम उपाध्याय, नायब सुब्बा रञ्जन घिमिरे र कुलपतिको सचिवालयकी राधा दुलाल कार्कीसमेतको टोली रारा शयरमा निस्किएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको दैनिक भ्रमण भत्तासहित १३ सदस्यीय जम्बो टोलीमध्ये ८ प्राज्ञ र ५ जना कर्मचारी रारा निस्किँदा राजन मुकारुङ, अमर न्यौपाने र हंसावती कुर्मी भने काठमाडौंमा छुटे । त्यहाँ गरिएको खर्च पानीको हिसाबले अहिले प्रगतिशील लेखक संघका अध्यक्ष तथा प्रज्ञा परिषद्का सदस्यको टाउको दुखाइ शुरु भएको छ । सो कार्यक्रममा देशैभरबाट ९० जना प्रगतिशील लेखकहरू रारा पुगेका थिए । सिन्जामा गरिएको काव्यगोष्टीमा ११६ सहभागी थिए । कतिपय लेखक तथा साहित्यकारले फ्रिमा घुम्न पाइने भन्दै पत्नी र पुत्र नै बोकेर त्यता पुगेका थिए । त्यसरी नै निपेर लैजाँदा भएको खर्च तिर्न नसक्दा अहिले अध्यक्ष गिरीको टाउको खान थालेको छ । प्रलेस स्रोतका अनुसार त्यहाँका होटलमा बास बसेको झण्डै एक डेढ लाख बढी र गाडीखर्च एक लाख हाराहारी गरी साढे दुई लाख रकम जुटाउन नसक्दा अहिले गिरी तनावमा परेका छन् । 

 

टिप्पणीहरू