डलरमा ढुसी, हाकिम ३८ सयमा खुशी

डलरमा ढुसी, हाकिम ३८ सयमा खुशी

राष्ट्र बैंकमा थुप्रिएको डलरमा फेरि ढुसी लागेको छ । गत फागुनदेखि बजारमा पर्याप्त अमेरिकी डलरलगायत विदेशी मुद्रा जम्मा हुन थालेपछि विभिन्न बैंकले केन्द्रीय बैंकमा जम्मा गरेका छन् । तर,

सिंगापुरस्थित एजेन्सी बैंक सीएमबीमा नियमित मुद्रा पठाउन छाडिएसँगै डलरमा फेरि ढुसीको गन्ध आएको त्यहाँका कर्मचारीले बताए ।

तीन वर्षअघि पनि डलरमा ढुसी लागेपछि ५० लाखभन्दा बढी रूपैयाँ बराबरको डलर खोस्टोमा परिणत भएको थियो । गत फागुनदेखि सिंगापुर एअरलाइन्सको रातिको उडानलाई दोष देखाउँदै स्वयम् कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनी बाहिर पठाउन अग्रसर नभएको स्रोतको दाबी छ । चैत र वैशाखमा मात्रै सात करोडभन्दा बढी विदेशी मुद्रा थुप्रिएको अवस्था छ । बालुवाटारको अस्थायी कोठामा राखिएका ती डलर बेलैमा सिंगापुर नपुर्‍याउँदा साढे ५ प्रतिशतको दरले प्राप्त हुने लाखौं ब्याजसमेत राज्यलाई घाटा लागेको बताइन्छ । 

सिंगापुर एअरलाइन्सले उडान दिउँसोबाट राति सारेपछि विदेशी मुद्रा बैंककै अस्थायी सटरवाला कोठामा थन्किएको बैंकिङ कार्यालय स्रोतको भनाइ छ । पहिले पनि तत्कालीन सिल्क एअरको उडान समयलाई दोष लगाउँदै त्यसैगरी डलर रोकिँदा ढुसी लाग्ने र ब्याज गुमाउने अवस्था बनेको थियो । त्यतिबेला अहिले बैंकिङका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनी संस्थागत योजना विभागमा थिए । हालै बैंकले त्रिभुवन विमानस्थलसम्म विदेशी मुद्रा पुर्‍याउने कार्यमा संलग्नसुरक्षाकर्मी र कर्मचारीलाई एक दिनको दैनिक भ्रमण भत्ता दिने टिप्पणी पास गरेपछि जेठ लाग्नासाथ केही मुद्रा सिंगापुर पठाइएको छ ।

पंगेनीसँगै २७ वर्षअघि २०५३ सालमा एकै पटक सहायकको हैसियतसहित प्रवेश गरेका झण्डै एक दर्जन उपनिर्देशक विभागमा छन् । आफूहरूसँगै छिरेका निर्देशकले अलि बढी नै हाकिमी पारा देखाएको भन्दै उनीहरूसमेत बेलाबखत बाउँठिँदा विभागको काम प्रभावित हुने गरेको बताइन्छ ।

बैंकले केही समयदेखि विदेश यात्रा गर्ने नेपालीलाई प्रतिराहदानी १५ सय डलरको सटही सुविधा दिँदै आएको छ । बीचमा डलरलगायत अन्य विदेशी मुद्राको चर्को अभावका कारण नगद तीन सय र बाँकी कार्डबाट लैजान सकिने भयो । तर, पछिल्लो समय बजार र बैंकको ढुकुटीमा पर्याप्त विदेशी मुद्रा थुप्रिएपछि अन्य बैंक तथा वित्तीय संस्थाले मिलेसम्म विदेश जाने नेपालीलाई नियमानुसार १५ सय डलर नगदै उपलब्ध गराउँदै आएका छन् । यता केन्द्रीय बैंकले भने व्यक्तिको अनुहार हेरेर त्यस्तो सुविधा बढीमा १४ सय डलरसम्म दिने गरेको छ । जबकि विद्यमान नियममा १५ सय डलरको सुविधा कायमै छ ।

नेपाल सरकारका सचिव–सहसचिव, केन्द्रीय बैंकका पूर्वकर्मचारी तथा बहालरत कर्मचारीका नातेदारहरूसमेत पासपोर्ट सुविधाको डलर सटहीनिम्ति अन्य बैंकतिर जान थालेपछि यो विषय पेचिलो बनेको एक जना कार्यकारी निर्देशकले बताए । 

आफ्नै हात जगन्नाथ गरेपछि पंगेनी गत सातादेखि निकै आलोचित भएका छन् । उनी वैशाख २३ देखि ३० गतेसम्म अफ्रिकी मुलुक केन्या गएका थिए । एलाएन्स फर फाइनान्सियल इन्क्लुजन (आफी) को कार्यक्रममा आठ दिन बैंककै प्रायोजनमा सहभागी भए । त्यसनिम्ति बैंकले तोकेको सुविधाबमोजिम २ हजार ४०६ अमेरिकी डलर पनि लगे । बैंकले खरिद गरिदिएको विमान टिकटबाहेक होटल खर्च, मनोरञ्जन खर्च, दैनिक भ्रमण भत्तावापत उक्त रकम दिइएको जनशक्ति व्यवस्थापन विभागले जनाएको छ । जबकि केन्याको होटललगायत सबै खर्च आयोजक संस्थाले नै व्यहोरेको थियो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित आफीको केन्द्रीय कार्यालय स्रोतले बतायो, ‘हाम्रो कार्यक्रममा सहभागी हुने तोकिएका कर्मचारी र अधिकारीहरूको खर्च हामी नै व्यहोर्छौं ।’

तर, उनै कार्यकारी निर्देशकले पासपोर्टबापत थप १४ सय अमेरिकी डलर बोकेर जानुको औचित्य भने खुलेको छैन । अरुलाई १४ सय दिने पंगेनीले तीन हजार ८ सय ६ अमेरिकी डलर बोकेर विदेश जानुको औचित्य पुष्टि हुन बाँकी नै छ ।


 

टिप्पणीहरू