विदेशीहरुसमेत हनी ट्रयापको शिकार बन्दै

विदेशीहरुसमेत हनी ट्रयापको शिकार बन्दै

शहर सुन्दर भएर वा गाउँहरु पनि उत्तिकै मनमोहक भएरमात्रै के गर्नु, पोखरालाई पीडैपीडाका पुलिन्दाले थिच्दैथिच्दै लगिरहेको छ ।

त्यहाँ जुन महिनाको २३ र २४ तारिख (असार ८ र ९) मा एसियास्तरको बोट फेस्टिभल आयोजना गरिँदैछ । त्यसमा आठ डुंगा, १२ खेलाडीका दरले विभिन्न समूह सहभागी हुन्छन् । नेपालबाट सातै प्रदेशका पाँच–पाँच जनाको दरले खेलाडीको सहभागिता हुँदैछ  । त्यसमा भाग लिन चीनले त २२ तारिखमा दुईवटा चार्टर्ड फ्लाइटबाट खेलाडी र कलाकार ल्याउने निधो नै गरिसक्यो । खेल सकेर विदेशी सहभागी फर्किन्छन्, तर डुंगा यतै छाड्ने सल्लाह छ ।

झट्ट सुन्दा खबर एकदमै सुखद् छ, तर त्यही विषयमाथि दुःखद प्रसंग पनि लुकेको छ । त्यो हो, अर्को छिमेकीको अत्यधिक चासो । दक्षिणले ‘किन ? कसरी ? कस्तो ?’ भन्दै अनेकौं प्रश्न उठाएपछि त्यसलाई सन्तुलन मिलाउन २१ तारिख, अर्थात दुई दिनअघि पोखरामै दक्षिणका योगी मोदीलाई ल्याएर ध्यान शिविर चलाइने भएको छ । 

भारतले डुंगा प्रतियोगितामा चीनको सहभागितामाथि मात्रै चिन्ता प्रकट गरेको छैन, सबभन्दा बढी चासो त त्यहाँ निर्मित क्षेत्रीय विमानस्थलप्रति छ । नागरिक उड्डयन प्राधिकरणका हाकिमहरुले गर्ने गरेको चर्चाअनुसार उसले प्रश्न उठाएको छ– ‘धावनमार्गलाई कालोपत्रे गरे हुनेमा किन सिमेण्टेड, अर्थात् बलियो रडका साथ ढलान गरियो ?’ सामान्यतया अत्यधिक गति र भारसहित उडान र अवतरण गर्ने लडाकू विमान (फाइटर) अवतरण गर्न मिल्ने उक्त धावनमार्गको महत्व र उद्देश्यमाथि भारतीय पक्षबाट गम्भीर रुपमा कुरा उठाइएको छ । उनीहरुको शंकाजन्य आशय छ– ‘कतै चीनले पोखरालाई बेस बनाएर भारततिर ताक्ने त हैन ?’ 

पोखरा एउटा त्यस्तो शहर हो, जसको चीन र जापानका विभिन्न आकर्षक, महत्वपूर्ण र सम्पन्न शहरहरुसँग भगिनी सम्बन्ध स्थापित भएको छ । तर, विडम्बना के भने, स्मार्ट सिटी भनिए पनि महानगरको विदेश मामिलामा पत्राचार गर्ने आधिकारिक इमेल आइडी नै ४ वर्षदेखि डिएक्टिभेट छ । त्यस्तै, स्थलमार्गबाट स्वदेशी तथा विदेशी पर्यटकले पोखरा यात्रा गने रुचि बढाएपछि उक्त मार्गलाई व्यवस्थित बनाउने क्रममा मुग्लिङ–पोखरा सडक खण्ड तीन वर्षमा सम्पन्न गर्ने गरी धमाधम विस्तार हुँदैछ । चार लेनको उक्त सडक निर्माणको ठेक्का पनि चिनियाँ कम्पनीले लिएको छ । त्यतैको कम्पनीले ठेक्का पाएको बुटवल–नारायणगढ खण्डभन्दा यताको काम छिटो भइरहेको देखिन्छ ।

त्यसैगरी पोखराले सामुदायिक शिक्षालाई व्यवस्थित र प्रभावकारी बनाउने सन्दर्भमा देशका अरु शहरभन्दा बढी नै प्रगति गरेको छ । सरकारी सेवामा तल्लिन शिक्षकका हकमा प्रोत्साहन भत्ता सामान्यतया २ सयदेखि पाँच सयसम्म हुने गरेको त सुनिएकै हो, तर पोखराले दुईदेखि पाँच हजारसम्म पु¥याएर उनीहरुलाई प्रोत्साहित गरेको छ । चालु आर्थिक वर्ष सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भर्नाको संख्या आठ हजार पुगेको छ । सँगसँगै विद्यालय मर्ज गर्ने क्रम पनि बढेको छ । हालसम्म १५ वटा विद्यालयलाई गाभेर संख्या कम पार्दै शिक्षालाई गुणस्तरीय बनाउने काम भइरहेको छ ।

उता, मियाँ पाटनमा २०३८ सालदेखि नै मुस्लिम समुदायको शैक्षिक केन्द्र मदर्सा हो वा अरुजस्तै सामान्य विद्यालय भन्ने अन्यौलता थियो । अहिले त्यसलाई मस्जिद र स्कूल छुटयाएर शिक्षक दरबन्दी मिलान गरिएको छ ।  अनि, हनी ट्रयापको धन्दा पोखरामा झन् फस्टाएको छ । एक युवतीले भर्खरै एक भूपू भारतीय लाहुरेलाई त्यस्तो जालमा पारिन् । ५० वर्ष कटिसकेका लाहुरेलाई ३, ५ हुँदै ३० लाखसम्मको बार्गेनिङ गरिन् । पछि अश्लिल भिडियो ल्याइदिन्छु भनेपछि अहिले यो मामिला प्रहरीकहाँ पुगेको छ । 

चिनियाँ व्यापारीसमेत नेपाली युवतीबाट सताइन थालेका छन् । एकजना चिनियाँलाई नेपाली युवतीले जबरजस्ती करणीको मुद्दा हालेर थुनाइन् । चिनियाँ थुनिएपछि आफू भारत गएर बसिन् र बयानमा आइनन् । फलस्वरुप चिनियाँको थुना अवधी लामो भयो । आठ–नौ महिनापछि केही लाख हात पारेर बल्ल बयान फेर्न राजी भइन् । त्यसो त, हनि ट्रयापको फन्दामा चिनियाँ व्यापारीले उतैका युवतीमार्फत् काठमाडौंमा पनि उत्तिकै दुःख पाइरहेका छन् । पहिला स्टाफका रुपमा आउने, शारीरिक सम्बन्ध स्थापित गर्ने । त्यसपछि यति दिन्छस् कि जकमा मुद्दा चलाइदिऊँ भनेर धम्क्याउने गरेका थुप्रै उजुरी छन् ।

 

टिप्पणीहरू