सासु ससुराले चिर्पटले हानेर बुहारी मारे

सासु ससुराले चिर्पटले हानेर बुहारी मारे

आफ्नै बुहारीको हत्या गरेर फरार सासु–ससुरा समातिएका छन् । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ की २७ वर्षीया कविता बुढाको केही दिनअघि भएको शंकास्पद मृत्युको घटनामा उनका सासु र ससुराको संलग्नता ठहरिएको छ ।

सामुदायिक वनमा खाल्डो खनेर पुगेको अवस्थामा कविताको शव भेटिएको थियो । सोही घटनाको अनुसन्धानको क्रममा प्रहरीले कविताका ससुरा ५२ वर्षीय डिल्ली सिंह बुढा, उनकी श्रीमती ५० वर्षीया लहरी बुढा र नातामा ज्वाईं पर्ने भजनी नगरपालिका–४ का ४१ वर्षीय जयवीर बुढालाई नियन्त्रणमा लिएर थप जाँचबुझ गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले हिजो पक्राउ गरेको हो । 

अनुसन्धानबाट ससुरा डिल्लीसिंह र उनकी श्रीमतीले घरायसी विवादमा भान्सामा रोटी पकाउँदै गरेकी कवितालाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको तथ्य खुलेको छ । हत्यापछि उनीहरुले शव डोकोमा बोकी वनमा लगेर गाडेका थिए । त्यसपछि  ’बुहारी हराएको’ भन्दै प्रहरीमा निवेदन दिएका थिए । 

त्यसपछि फरार उनीहरुलाई ज्वाईं जयवीरले लुकाई छिपाई राख्न सहयोग गरेका हुन् । घटनामा उनकोसमेत संलग्नता आशंका गरिएको प्रहरीको भनाइ छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
 

टिप्पणीहरू