अबलाको जीवनमा अनेक अत्याचार
सम्पन्न घरकी छोरी, प्रतिष्ठित परिवारकी बुहारी । तर, हिंसा र प्रताडनाको ज्वारभाटामा यसरी पिल्सिएकी छु कि बयान गर्ने कुनै शब्द छैन । अर्थात् एक दुष्टसँग नाता–सम्बन्ध जोड्दाको परिणाम सुनमा जन्मिएर हीरामा हुर्किएकी मैले अहिले दिनरात झेल्दैछु ।
पूर्वको झापामा जन्मिएँ । अध्ययनको सिलसिलामा भित्रिएँ राजधानी । अध्ययन सँगसँगै जोडिएँ नेपाल एयरलाइन्समा । परिचारिकाको जागिर खाएँ ०५२ देखि ०६४ सालसम्म । १२ वर्ष मेरालागि उल्लास र उत्साहको समय रह्यो । जागिरकै सिलसिलामा ०५८ सालको एक दिन साथीको घरमा पार्टी थियो । त्यही भेट भयो भद्र कुँवरसँग । झट्ट हेर्दा मान्छे नामजस्तै ‘भद्र’ देखिन्थे । तिनको भद्रतामा म यसरी पग्लँदै गएँ । आज यो दिन र यो क्षण देख्न र भोग्नका लागि रहेछ ।
मान्छेलाई केही न केही लत बस्छ भनेजस्तै मलाई हर पल–हर क्षण उनी आँखैअगाडि नभई नहुने बानी पर्न थाल्यो । पहिलो भेटबाटै साथीको रूपमा शुरु भएको हाम्रो सम्बन्ध घनिष्ट मित्र, प्रेमी हुँदै जीवनसाथीको रूपमा चुनियो । अर्थात् करिब ३ वर्षसम्मको प्रेमसम्बन्ध २०६१ देखि विवाहमा परिणत भयो । पारिवारिक सहमतिमै । विवाह धुमधामसँगै सम्पन्न भयो । विवाहपछाडि शुरु भयो धोखाधडीको कहानी ।
मुद्दा दायर गर्दा नै उसले भनेको थियो हेरिराख् तँलाई १५ वर्ष त यत्तिकै झुलाउँछु ।
एयरलायन्सको जागिरे, पैसा राम्रै कमाउँथें, पैसाको दुःख कहिल्यै भएन । एक दिन उनैले सोधे, ‘तिमीसँग पैसा कति छ ? ढाँट्न÷छल्न जानिएन । कार चढ्ने इच्छा जाहेर गरे । दुःखजिलो गरेर जम्मा गरेको १४ लाख रूपैयाँ खनखनी गनेर दिएँ । यो विवाह हुनुभन्दा अगाडि ०६० सालतिरकै कुरा । मेरो पसिनाबाट आर्जित १४ लाख दिएपछि उनी टोयोटा ब्राण्डको कारमा हुइँकिन थाले, आजपर्यन्त चढिरहेछन् । विवाह भएको केही वर्षसम्म सम्बन्ध औसत रूपमा चलिरहेको थियो । सँगै रहँदा आनीबानी चाल पाउँदै गएँ । जो तीन वर्ष प्रेममा रहँदा थाहा पाइएको थिएन । प्रेमसम्बन्धमा रहँदा नदेखिएको उनको असली अनुहार कोखमा छोरी आएपछि देखियो । यस्तो स्थितिमा न उनलाई छाड्न सकिन्थ्यो न त सम्बन्ध तोड्न नै ! छोरी पेटमा हुर्कंदै थिई । आमाले मेरो नाममा दिएको जग्गा बेचेर अहिले बसिरहेको घर किनेको हो त्यतिबेला ३० लाख रूपैयाँ श्रीमान् र परिवारकै आग्रहमा दिएँ । त्यही पैसा दिएपछि त्यो घर बन्यो । उ अनेक बाहनामा मसँग पैसा मात्र माग्ने । मसँग कहाँ पैसाको बोट थियो र ? रुखबाट पातझैं टिपेर दिनका लागि । मलाई त एटिएम मेसिन सम्झिएका रहेछन् । परिवार र श्रीमान््को खुशीका खातिर पेप्सिकोलाको १० आना जग्गा बेचेर डिस्को खोल्न दिएको थिएँ । जब डिस्को खुल्यो अनि स्वभाव र व्यवहारमा अकाश–जमिनको अन्तर आयो । कोखमा नानी नआउञ्जेल प्यारमा कुनै कमी थिएन । ०६३ सालमा जेठी छोरीको जन्म भयो, त्यसपछि पराइको जस्तो व्यवहार गर्न थाले ।
अधिकांश समय घरबाहिरै बिताउने, फोन गर्दा मोबाइल अफ गर्ने, हप्तामा ३/४ दिन हराउने । बल्लतल्ल घर आए पनि रातभर फोनमा व्यस्त हुने, सुत्ने कोठा पनि अलग बनाउनेजस्ता अस्वाभाविक बानी व्यहोरा देखाउन थाले । ०६७ मा कान्छी छोरी जन्मिएपछि अलग अलग कोठामा बस्न थाल्याैँ । हामी एउटै घरको, एउटै छानोमुनि थियौं तर पराइजस्ता । एउटै घरमा बसे पनि मनको दूरी कोसौं परको हुुँदै गयो । उल्टो ममाथि सधैं शंकाको दृष्टिले हेर्ने, राति राति घर आउने, राम्रोसँग नबोल्ने, कुट्ने । कयौँ पटक अन्य केटीसँग कुरा गरेको देखेपछि म अलग भएर बस्न थालेकी हुँ । मेरै पैसामा मस्ती गरिरहे । जब मसँग पैसा सकियो छोरीको स्कूल शुल्क तिर्नसमेत समस्या पर्न थाल्यो । काखे छोरीलाई दूध किन्ने पैसा नभएर माग्दा मुड्कीले हानेर मेरो दाँतै भाँचिदिएको छ । बुझ्न कठिन छैन, मसँग बस्दा बाहिरका केटीसँग कुरा गर्न असहज भएर त होला अर्को कोठामा बस्न थालेको । आनीबानी कुनै राक्षसको भन्दा कम थिएन ।
अनाहक रडले हिर्काउने, छोरीहरूमाथि नै हातपात गर्ने स्वभाव देखाउँदै गए । हप्तौँसम्म हराएर घर आउँदा छोरीहरू काखमा गएर खेल्न खोज्थे तर मेरो कोठामा आएर डिस्टर्व गर्ने होइन भन्दै झाङ्लझुङल गर्ने, पाटपिट पार्ने । यस्तो बानीका कारण घर आएको देख्दा छोरीहरूले बुवा आउनुभयो भनेर सम्मान होइन मामु राक्षस आयो भन्दै भाग्ने स्थिति बन्यो । मेरै सम्पत्तिमा रजाइँ गरेर घर ठड्याए । मेरै सम्पत्ति लगेर अनेकन म्यानपावर कम्पनीदेखि डिस्को खोले । अहिले मलाई नै यो घरको पानी खान दिँदैनन् । मैले पानी निकाल्छु भनेर घरको इनारमा ताला ठोकेर राखेका छन् । ९ वर्ष भयो घरको पानी नखाएको, छिमेकीको धाराबाट पानी थाप्दै आएकी छु । न साथमा पैसा छ न त श्रीमान् । छोरीहरू ठूला भए । तिनलाई शिक्षादीक्षा कसरी दिलाउने यही चिन्ताले मन पोल्छ ।
ऊसँग टाढा रहेर दुई छोरीलाई उच्च शिक्षा दिने सोच त बनाएकी छु । मसँग होइन मेरो पैसासँग बिहे गरेको रहेछ । मेरो १२ वर्षसम्मको कमाइ विभिन्न बहानामा सिध्यायो । पैसा आउञ्जेल माया गरेजस्तो व्यवहार दर्शायो । जब मबाट पैसा झर्न छाड्यो अनि उल्टै म र छोरीहरूमाथि हिंसा गर्न थाल्यो । कमल थापाको पार्टीको ठूलै नेताको सालो हो ऊ । हुन त त्यही औंलामा मात्र झर्ने हो, जुन औंलामा विष लागेको छ । बिषै नखानेलाई किन दोष लगाउनु ? यद्यपि, ममाथि चरम हिंसा हुनुमा परिवार र भिनाजुको आड–भरोसा छ । त्यही आड–भरोसा पाएरै उसले ममाथि चरम प्रताडना गर्दै आएको छ । पूर्वमाननीयको सालोबाट प्रताडित म न्यायको खोजीमा भौंतारिरहेको वर्षौं भयो । मुद्दा अदालतमा पुगेको छ ।
मुद्दा फैसला भएपछि त्यसबाट आउने अंशले छोरीहरूको पढाइ खर्च जुटाउन सकिएला कि ? अरुसँग लिएको ऋण तिर्न सकिएला कि ? भन्ने थोर आशा छ । तर, मुद्दा दायर गर्दा नै उसले भनेको थियो हेरिराख् तँलाई १५ वर्ष त यत्तिकै झुलाउँछु । नभन्दै अदालतको चालामाला हेर्दा त्यस्तै देखिँदै छ । कहिले पेशी नै चढ्दैन । बल्लतल्ल पेसीमा चढ्यो भने हेर्न नभ्याइने भन्दै सारिएको सारियै छ । सम्पन्न परिवारकी छोरी-बुहारी हुँ । शहरमा छु र त मैले यतिबिघ्न पीडा सहनुपरेको छ । आँशुको आहालमा डुबुल्की मार्नुपरेको छ । एकान्तमा सोच्छु, आँशु बगाउँछु आफ्नै दुःखी कर्मलाई सराप्छु । मैले विवाह गर्ने केटा त पाएँ तर असल श्रीमान् पाएको रहेनछु । असल श्रीमान् त रहेनन्, असल पिता पनि बन्न सकेनन् । भनिन्छ, ढिलो न्याय दिनु पनि अन्याय गर्नु हो । अहिले म यस्तै अन्याय भुक्तमान गरिरहेको छु । श्रीमान्बाट अन्याय र अत्याचार भुक्तमान गरेको म अदालतका श्रीमान्हरूबाट अत्याचार खेप्दै छु । भन्छन्, सास छन्जेल आश । एक मुठी सास रहुञ्जेल अदालतले न्याय दिन्छ भन्ने आशाको न्यान्द्रोचाहिँ बाँकी नै छ ।
– रमिला कुँवर (नाम परिवर्तन)
टिप्पणीहरू